विर्तामोड ८ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को शनिबार सम्पन्न हुने २९ औं बार्षिक साधारणसभा अन्तरगत शुक्रबार विर्तामोड इकाई अन्तरगतको सभा तथा प्रतिनिधि छनौट कार्य सम्पन्न भएको छ ।
ईकाइ समितिका शान्ता रोक्काको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा सञ्चालक उपसमिति सदसय खेम मिश्रले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा प्रतिवेदन उपाध्यक्ष भगवती घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी चालु आर्थिक वर्षको बजेट तथा योजनाबारे प्रकाश सुवेदीले प्रस्तुत गरेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रसाईले सहकारी संस्थाको मेरुदण्डका रुपमा रहेका शेयरधनीहरुले संस्थालाई अझ उचाईमा पुर्याउन उत्कृष्ठ सुझाव दिन आवश्यकता औल्याउनु भयो ।

बिर्तामोडस्थित इन्द्रेणी ब्याङ्क्वेटमा सम्पन्न साधारणसभामा बिर्तामोड नगरपालिका– ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत कार्यालयगत उपसमिति सदस्य गोपाल काफ्लेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड शाखाका कार्यालय प्रमुख हरिमाया ओझाले गर्नुभएको थियो । गत असार मसान्तसम्ममा १ लाख ५ हजार बढी शेयर सदस्य रहेको एनएमसीले छुट्टाछुट्टै व्यवसाय सञ्चालनमा ल्याएको संस्थाले ६ वटा क्षेत्रीय उपसमिति, ६ वटा क्षेत्रीय समन्वय उपसमिति, बचता तथा ऋण (बैङ्किङ) व्यवसाय अन्तरगत ४२ वटा भूगोलकेन्द्रित कार्यालयगत उपसमिति र कार्यालय मातहत अन्तरगत २१९ वटा इकाई उपसमिति रहेको रहेको बताइएको छ । त्यसैगरी ८ वटा विषयगत उपसमितिहरु रहेको संस्थाद्वारा प्रकाशित बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

































































































