अर्जुनधारा ८ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अर्जुनधारा नगरपालिकामा नगरसभापति बाहेक अन्य पदाधिकारी सहमति भएको छ । अनुसार अर्जुनधारा नगरपालिकामा सभापतिबाहेक सबै पदाधिकारीका आकांक्षीहरुबीच सर्वसम्मत गरिएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताउनु भयो ।
नगर समितिमा प्रत्येक वडाबाट १ महिलासहित ३ गरी चयन हुने ३३ जना सदस्य र समावेशी कोटा अन्तर्गत चयन हुने २२ जना सदस्यका विषयमा ९० प्रतिशत कोटामा सहमति भइसकेको नेपाली कांग्रेस झापा प्रचार–प्रसाद विभागका संयोजक कृष्ण हुमागाईले जानकारी दिनुभयो । आकांक्षीहरुका बीचमा भएको छलफलपछि उपसभापतिमा प्रशान्त भण्डारी र चतुर्भुज काफ्ले, सचिवमा इन्दिबर खड्का र मेदनी गुरागाई, सहसचिवमा इशान पौडेल र निरज दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
उम्मेद्वारी घोषणा गरेर पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग पु¥याउने गंगा मैनाली, जीवन भण्डारी, भाष्कर भटराई, खेम अधिकारी र इन्द्र पौडेललाई पनि पार्टीका विभिन्न तहमा जिम्मेवारी दिन पहल गरिने हुमागाईले बताउनुभयो । यसैबीच अर्जुनधारा नगर समिति सभापतिका लागि उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचार–प्रसार गरिरहेका हेमराज खरेल र भिष्म मिश्रबीच पनि सहमति गराउने पहल भइरहेको बताईएको छ ।
सर्वसम्मत पदाधिकारी चयनपछि आयोजित भेलामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेतृत्वको विवेकले भ्याएसम्म सबैलाई न्याय दिएको बताउनुभयो । कांग्रेसलाई कमजोर बनाउन विपक्षीले अनेक झमेला र घुसपैठ गराउनसक्नेतर्फ सचेत रहन समेत नेता बुढाथोकीले सम्पूर्ण कार्यकर्तामा आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कार्यकर्ता एवं चुनावी प्रतिष्पर्धामा उत्रिएका नेतृत्वबीचको सहमति, सहकार्य एकता र मेलमिलापले नजिकिएको स्थानीय, प्रदेश र संघीय तीनै तहका उम्मेद्वारले विजय प्राप्त गर्ने धारणा राख्नुभयो । झापाको अर्जुनधारामा सहमतिमै नेतृत्व चयन हुने र विभिन्न पालिकाहरुमा सहमतिमै नेतृत्व चयनको पहल जारी रहेको बताउँदै उहाँले लोकतान्त्रिक पद्धति अनुरुप प्रतिष्पर्धामा उत्रिएका नेतृत्वले प्रतिष्पर्धी भावना नराखी पार्टीलाई एकढिक्का बनाउन आह्वान समेत गर्नुभयो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य दीपक तामाङ, महाधिवेशन प्रतिनिधि पुष्प ओझा, राजकुमार बराइली लगायतको उपस्थिति रहेको थियो ।
अर्जुनधारा नगरपालिकामा पदाधिकारी सहमति, सभापतिमा पनि सर्वसम्मतको पहल जारी

































































































