विर्तामोड ८ असोज । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत झापाका पालिकातहको निर्वाचनका लागि १५ वटै पालिकाहरुमा मतदान केन्द्र तय गरिएको छ । निर्वाचनको पूर्वतयारीका क्रममा सबै पालिकामा पुगेका मतदान अधिकृत र स्थानीय पार्टी कार्यसमितिबीचको समन्वयमा मतदान स्थल तय गरिएको हो भने सहमतिको सम्भावना भएका पालिकाहरुमा सहमतिको प्रयास पनि जारी राखिएको छ ।
आकांक्षीहरुबीचमा सहमति गराएर सर्वसम्मत नेतृत्व चयनका लागि विभिन्न पालिकाहरुमा पहल जारी राखिएको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले जानकारी दिनुभयो ।
यसैबीच असोज ९ बाट शुरु हुने निर्वाचनमा लागि मेचीनगरको धुलाबारी मा.वि.मा निर्वाचन केन्द्र तय गरिएको छ । यसैगरी बुद्धशान्तिमा नेपाली कांग्रेस गाउँ समितिको कार्यालय बुधबारे, अर्जुनधाराको ने.कां. नेपाली कांग्रेस नगर समितिको कार्यालय अर्जुनधारा–७, विर्तामोडको महेन्द्र रत्न मा.वि., भद्रपुरमा एन.सि.डि.सी भवन भद्रपुर, कचनकबलमा सुकुनाढिकी सामुदायिक भवन पथरिया, हल्दिबारीमा जयदुर्गा मन्दिर हल्दिबारी–४, बाह्रदशीमा जेष्ठ नागरिक भवन, कनकाईमा उद्योग बाणिज्य संघको सभाहल, शिवसतासीमा राष्ट्रिय रमणीय मा।वि। शिवसतासी, कमल गाउँपालिकामा नेपाली कांग्रेस गाउँ समितिको कार्यालय, दमकमा दिपिनी मा.वि. दमक–५, गौरादहमा गौरादह बहुमुखी क्याम्पस र गौरीगञ्जमा गौरीगञ्ज क्याम्पसलाई मतदान स्थल तय गरिएको मतदान अधिकृतहरुले जनाएका छन् ।
क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्ने यसपटकको निर्वाचनमा झापाबाट तीनहजार तीनसय ६८ जनाले मतदान गर्नेछन् । गाउँ एवं नगरपालिकाको निर्वाचनका लागि सभापतिको उम्मेद्वार हुन क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनुपर्नेछ भने पदाधिकारी तथा सदस्यमा क्रियाशील सदस्यले पनि उम्मेद्वारी दिन पाउनेछन् । तर क्रियाशील सदस्यहरुले पदाधिकारी र सदस्यमा उम्मेद्वारी दिएपनि मतदान गर्ने अधिकार भने प्राप्त छैन ।
यसपटकको निर्वाचनमा सबैभन्दा बढी मेचीनगरमा–४९६ क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् भने हल्दिबारीमा सबैभन्दा कम ११० जनाले मतदान गर्नेछन् । यसैगरी बुद्धशान्तिमा १३७, अर्जुनधारामा २४४, विर्तामोडमा २८०, भद्रपुरमा २३९, कचनकबलमा १६५, बाह्रदशीमा १६०, कनकाई १८६, शिवसतासीमा ३६८, कमलमा १३७, दमकमा ३२६, गौरादहमा २४६, गौरीगञ्ज १२६ जनाले मतदाता रहेका छन् । कार्यसमितिमा सबैभन्दा बढी मेचीनगरमा– सातजना पदाधिकारीसहित ८२ जना र सबैभन्दा कम हल्दिबारीमा ३२ जना निर्वाचित हुनेछन् । यसपटकको निर्वाचनमा सभापति–१, उपसभापति–२, सचिव–२, सहसचिव–२ र क्रियाशिल सदस्य र वार्ड संख्याको आधारमा सदस्य निर्वाचित हुनेछन् भने कोषाध्यक्ष निर्वाचित सदस्यमध्येबाट मनोनयन गरिने कांग्रेसको विधान छ ।
कांग्रेस १४ औं महाधिवेशन: झापाका सबै पालिकामा मतदान केन्द्र तय

































































































