भद्रपुर ६ असोज । जुवा खेलिरहेको अवस्थामा झापाको दमकबाट १७ जना मानिससहित ४ लाख २७ हजार ६ सय रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको दमकस्थित एक घरमा जुवा अर्थात कौडा खेलिरहेको बिशेष सूचनाका आधारमा प्रहरीले दमक नगरपालिका वडा नं.–१ स्थित हिमाल देवानको घरको कम्पाउण्डबाट झापा र मोरङका १७ जना मानिस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा ११ जना झापा जिल्लाका रहेका छन् भने ६ जना मोरङका रहेका छन् ।
प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका ७ बस्ने ५१ वर्षीय युवराज न्यौपाने, वडा नं.–९ का ४९ वर्षीय दिलबहादुर राई, वडा नं.–१० का ५० वर्षीया ठाकुरप्रसाद निरौला, बिर्तामोड नगरपालिका–१ का ४२ वर्षीय तिर्थ अधिकारी, गौरादह नगरपालिका–५ का ४५ वर्षीय हरि कोइराला, कमल गाउँपालिका–४ का ४७ वर्षीय सुबिन्द्र सुब्बा, कनकाई नगरपालिका वडा नं.–३ का ३२ वर्षीय मोहन बराल, र सोही ठाउँका ३२ वर्षीय सुनिल साह, दमक नगरपालिका वडा नं.–७ बस्ने ४९ वर्षीय कर्ण राई, राजन दाहाल र वडा नं.–३ बस्ने बिनोद थेबे रहेका छन् ।
त्यसैगरी मोरङको ग्रामथान गाउँपालिका–४ बस्ने ५७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, सोही गाउँपालिका वडा नं.–५ का ४२ वर्षीय नैनकुमार चौधरी, वडा नं.–६ का ४४ वर्षीय रुपेश तामाङ, पथरी शनिश्चरे नगरपालिका वडा नंं–४ का ४० बर्षिय बलराम बस्नेत, वडा नं.–१ का ४३ वर्षीय गंगाराम मगर, बेलबारी नगरपालिका वडा नं.–११ का २१ वर्षीय निशान पोखरेल रहेका छन् ।
खालमा पैसाको वाजी थापी हारजित हुने गरी जुवाजन्य खेल (कौडा) खेलि रहेको अवस्थामा फेला परेका उनीहरुबाट प्रहरीले १६ थान कौडा र ४ लाख २७ हजार ६०० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।
जुवाको खालबाट १७ जनासहित ४ लाख २७ हजारबढी बरामद

































































































