विर्तामोड ३१ भदौ । सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीहरुले आफ्ना सदस्य लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
सहकारीले आ–आफ्नो संस्थाका नियमानुसार मानिस जन्मेदेखि मृत्युसम्म लक्षित गरी सदस्यलाई प्रत्यक्ष सहयोग पुग्ने वा संस्था सदस्यको समस्यामा सहयोगी छ भन्ने आभास दिलाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।
स्वास्थ्य, शिक्षा, मृत्यु, परिवार मृत्यु, प्रसूतीको हकमा पोषणयुक्त आहार तथा नवजात शिशुको निःशुल्क खाता खोल्ने लगायत विभिन्न कार्यक्रमहरु राखेका छन् ।
सोही अनुसार विर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई उपचार सहयोग, प्रसुती राहत, तथा शेयर सदस्यका परिवार (आफन्त) को निधनमा अवसान राहत प्रदान गरेको छ ।
संस्थाले पथरियाको शल्यक्रिया गरेका सेवा केन्द्र बनियानीका शेयर सदस्य गोविन्द न्यौपानेलाई रु. पाँचहजार प्रदान गरेको संस्थाका सचिव मनोज भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै सोही सेवा केन्द्रका शेयर सदस्य प्रनिशा अधिकारीलाई महिला प्रसूती राहतबापत नगद सहयोग गर्नुका साथै सेवा केन्द्रका कर्मचारीका तर्फबाट बच्चाका लागि कोक्रो प्रदान गरेको बताइएको छ ।
त्यसैगरी चारआली सेवा केन्द्रका सदस्य मनोज अग्रवाल र बन्टीकुमार अग्रवालको आमाको निधनमा अवसान राहत अन्तरगत २० हजार रुपैयाँ प्रदान गरेको बताइएको छ ।
सहकारीको बनियानी सेवा केन्द्र अन्तरगत नै सदस्य दुर्गा भट्टराई (घिमिरे) का ससुरा बुबाको निधनमा अवसान राहत अन्तरगत १० हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको सचिव भट्टराईले जानकारी दिनुभयो ।
सो अवसरमा संस्थाका अध्यक्ष केशव बस्नेत, सचिव भट्टराई, सञ्चालक समिति सदस्य सुरेन्द्र बुडाथोकी, तिलबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।
स्वरोजगार भवानीद्वारा राहत वितरण

































































































