बिर्तामोड १० भदौ । वीरता जेसीज सन् २०२१ का महासचिव एलसी श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसर पारी नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन् ।
बिहीवार बिर्तामोडस्थित वीरता जेसीज सचिवालयमा आयोजित कार्यक्रमकाबीच जेसीजका अध्यक्ष राजीव धिमाल र महासचिव श्रेष्ठले पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् ।
अध्यक्ष धिमालको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य राख्दै जेसीजका निवर्तमान अध्यक्ष मिजास पोखरेल, कार्यक्रम संयोजक जीवन खड्का, कार्यकारिणी उपाध्यक्ष विकास बस्नेत लगायतले पत्रकारको दिगो हितका लागि जन्मोत्सवको अवसरमा उपचार कोषमा सहयोग गरेर श्रेष्ठले परोपकारी काम गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुशीला संग्रौला, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु होमप्रकाश अधिकारी र रञ्जित परियारको उपस्थिति थियो । कार्यक्रममा टीकाराम खतिवडाले जेसीज आस्था वाचन गरेका थिए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एककरोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
महासंघका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एककरोड रुपैयाँ बनाउन सहयोग पुग्ने तथा यस्तो परोपकारी कार्यमा योगदान गर्न पाउँदा सन्तुष्टि प्राप्त हुने श्रेष्ठले बताए ।
महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा एकपटक सहयोग गर्न आव्हान गरेको छ । उपचार कोषको सदस्यता नलिएका सबै पत्रकारलाई तत्काल कोषको सदस्यता लिन पनि महासंघले आह्वान गरेकोे छ ।
जेसीजका महासचिवको जन्मोत्सवमा पत्रकार उपचार कोषमा सहयोग

































































































