भद्रपुर ८ भदौ । जिल्लास्थित कोभिड व्यवस्थापन समिति (डिसीएमसी ) झापाले विर्तामोड खोप काण्डमा भएको लापरवाही र त्रुटी गर्ने व्यक्तिलाई कारवाहीका लागि सामाजिक विकास मन्त्रालय प्रदेश–१ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंमा पठाउने निर्णय गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले होटल जस्तो संवेदनशील ठाउँमा कोरोना विरुद्धको १०३ भायल भेरोसील खोप शंकास्पद अवस्थामा भेटिनु गम्भीर लापरवाही र त्रुटीपूर्ण भएको ठहर गर्दै छानवीन समितिको प्रतिवेदनसहित कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
गत साउन १५ गते १०३ भायल खोप विर्तामोडस्थित टायमलेस मुभमेन्ट होटलमा शंकास्पद अवस्थामा फेला परेको थियो । सो खोप काण्डमा विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन ओमबहादुर खड्काको संलग्नतासहित खोप व्यवस्थापनमा गम्भिर लापरवाही र त्रुटी देखिएको प्रतिवेदन सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल नेतृत्वको छानविन समितिले सोमबार सार्वजनिक गरेको थियो ।
एकसातामा प्रतिवेदन सार्वजनिक गर्ने भनिएपनि रिमाल नेतृत्वको छानविन समितिले तीनसातापछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
समितिले आगामी दिनमा यस प्रकारका कमी कमजोरी र त्रुटीहरु नदोहोरिने सुनिश्चितता गरी खोप व्यवस्थापन गर्न र खोपको विवरण दैनिक सार्वजनिक गर्न स्वास्थ्य कार्यालय झापालाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
आगामी भदौ ११ देखि १३ र १७ देखि १९ गतेसम्म गरी दुई चरणमा भेरोसीलको दोस्रो मात्रा खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । खोप अभियानलाई कुपन पद्धतिबाट भिडभाड हुन नदिई खोप अभियान सञ्चालन गर्न र उद्योग बाणिज्य संघबाट माग भएबमोजिम दसहजार कोभिड विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ ।
खड्कालाई कारबाही गर्न प्रदेश र केन्द्रमा सिफारिस, उद्योगी–ब्यवसायीलाई दसहजार डोज खोप

































































































