झापा । पशुपालन तथा कृषिमा किसानले पाउने बीमा रकममा सरकारले कटौती गरेको भन्दै किसान आवद्ध संघ–संगठनहरुले विरोध जनाएका छन् ।
किसानले गरेको खेतीपाती र पशुपालनमा बिभिन्न रोग तथा प्राकृतिक प्रकोपबाट हुने क्षतिमा बित्तीय सुरक्षा प्रदान गर्न र कृषिमा आकर्षण बढाउनुका साथै लगानी गर्न पनि प्रोत्साहनका लागि दिइदै आएको ७५ प्रतिशत बीमामा २५ प्रतिशत कटौती गरेको भन्दै किसान संगठनहरुले विरोध गरेका हुन् ।
अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसानमहासंघ(क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण रानाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बिमा रकम कटौतीको विरोध गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ –‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनेक कारणले कृषि क्षेत्र अनाकर्षक र उपक्षित भइरहेको र किसानको लागत पनि उठ्न नसक्ने स्थितिबाट गुज्रिरहेको बेला किसान बर्गलाई खेतीपाती र पशुपंक्षी पालनमा थप प्रोत्साहन र राहत दिने कदम चाल्नु पर्ने र चालिएका कदमलाई अझ उन्नत बनाउनु पर्ने बेलामा बीमा जस्ता कार्यक्रमले अलिकति भए पनि किसानलाई राहन हुने देखिएकोमा सरकारले यसरी हचुवा तरीकाले बीमाको रकम कटौति गरेको चार किसान संगठनको तर्फबाट हामी घोर बिरोध जनाउँदछौ ।
किसानले पाएको न्यूनतम ७५ प्रतिशतको बीमा सुबिधा कायम राख्न र यसलाई अझ बढाउदै लैजान जोडदार माग गर्दछौं ।किसान दिदी बहिनी तथा दाजु भाइहरुमा यो बीमा सुबिधा कटौतिको बिरुद्ध आवाज उठाउन र संघर्षशील हुन पनि हामी आह्वान गर्दछौं ।’
सरकारले गरेको बिमा रकम कटौतीको निर्णयप्रति कृषक संगठनको विरोध

































































































