भद्रपुर । कोरोना संक्रमणको तेस्रो लहर छिट्टै आउने भन्दै विज्ञहरुले तेस्रो लहरको तयारीमा जुट्न सरकारलाई आह््वान गरिरहेका छन् । विज्ञले यस्तो आह््वन गरिरहेका बेला पछिल्लो समय कोरोनाको हट स्पर्ट झैं बनेको झापाका कोभिड अस्पतालहरु भने संक्रमित विरामीले भरिएका छन् ।
हाल मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शैय्या कोभिड उपचार वेड रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टङ्क बाह्रकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालका ६० वटा शैैय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । अक्सिजन दिनुपर्ने नयाँ विरामी थपिएमा विरामीलाई अन्यत्रै पठाउन शुरु गरिएको छ । अस्पतालमा रहेका पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकोमा सबै शैय्या भरिएको डा. बाह्रकोटीले जानकारी दिनुभयो ।
यस्तै झापामा सबैभन्दा बढी १०० शैय्या कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याएको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ। अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि ३२ शैय्याको आइसीयु व्यवस्था गरेकोमा हाल सबै शैय्या बिरामीले भरिएका छन् । अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत गर्ने विएण्डसीमा दैनिक ५० सिलिन्डर अक्सिजन अस्पताल आफैंले उत्पादन गर्दै आएको गिरीले जानकारी दिनुभयो ।
पछिल्लो समय बालबालिकामा कोभिडको सङ्क्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शय्याको एनआइसीयु र १५ शय्याको पीआइसीयु बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिनुभयो । विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कोभिडका लागि छुट्याइएको सबै आइसोलेशन वार्ड, आइसीयु र भेन्टिलेटर भरिएको छ । यस्तै दमकको बेलडाँगी कोभिड अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ । दमक नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा ३० शय्या छन् सबै शय्या भरिभराउ रहेको छ ।
झापामा बढ्दै कोभिड संक्रमित, कोभिड अस्पतालका शैया भरिभराउ

































































































