विर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलमा विर्तामोड नगरका कर्मचारीले लुकाएको कोरोना बिरुद्धको सय भायल भेरोसिल खोप सहित नगरका स्वस्थ्य प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित फेला परेका नगरका जनस्वास्थ्य प्रमुख ओम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र दिने गरेको गुनासो भइरहेका बेला लुकाएर राखिएको खोप र बिर्तामोड नगरका जनस्वास्थ्य प्रमुखलाई स्थानीय युवाले फेला पारेका हुन् ।
होटेलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यन्त्रै लुकाएका थिए । सरकारी गाडीमा गएका व्यक्तिले कार्टुन निकालेर होटलको काउण्टरमा राख्न दिएपछि सोही होटलमा कफी पिउँदै गरेका स्थानीय केही युवालाई शंका लागि खोजी गर्दा होटलको सोकेसमा उक्त खोपको कार्टुन फेला परेको हो ।
स्वास्थ्य प्रमुख खड्काले भने आफू होटेलमा नै क्वारेन्टाईनमा रहेकाले खोप ल्याइएको दावी गर्दै आफ्नो बचाउ गरेका छन् तर होटलको अभिलेखमा भने खड्का शुक्रबार मात्रै इन्ट्री भएको पाइएको छ । खड्कामाथि यस अघि पनि खोप लुकाएर प्रतिब्यक्ति १० हजार रुपैयाँ लिएर बिक्री गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले प्रहरीले खोप बरामद गरिसकेको र सो विषयमा छानविन थालिएको बताएका छन् । लक्षित वर्गले कोरोना खोप नपाएको गुनासो आइरहेका बेला उक्त खोप फेला परेको हो ।
स्थानीय युवाहरुले खोपको दुरुपयोग भएको भन्दै खड्कालाई पक्राउ गर्न माग गरेका थिए । स्थानीय युवाहरुले प्रमुख जिल्ला अधिकारी आएपछि मात्रै खोप र खड्कालाई लानदिने भन्दै नाराबाजी समेत गरेका थिए ।
बिर्तामोडमा खोपको दुरुपयोग भएको गुनासो आइरहेका बेला शंकास्पद् रुपमा खोप भेटिनुले खड्ककाको कार्यशैली प्रति शंका उत्पन्न भएको प्रत्यक्षदर्शीले बताए । खोप फेला परेको दुई घण्टासम्म पनि प्रमुख जिल्ला अधिकारी नआएपछि प्रहरीले मुचुल्का तयार पारेर प्रक्रिया पुरा गरेपनि मुचुल्कामा के लेखिएको थियो भनेर सञ्चारकर्मी, उपस्थित सर्वसाधारणलाई जानकारी दिइएन् ।
यसअघि विर्तामोड नगरपालिकाबाट खोप लगाउन खटिएका एक महिला कर्मचारीले आफ्नै घरमा लगेर खोप लगाइदिएको खुलासा भएको छ । ती कर्मचारीले बिहीबार बेलुका आफ्नो घरमा केही आफन्तलाई बोलाएर खोप लगाइदिएपछि स्थानीयलाई सुईँको समेत नदिएको गुनासो गरेका छन् । स्थानीयले ती कर्मचारीका घरमा बेलुका साँझ परेपछि गाडी र मोटरसाइकलमा आएर केही मान्छेले खोप लगाएर गएको प्रत्यक्षदर्शीको भनाई छ ।
लुकाएको खोपसहित स्वास्थ्य शाखा प्रमुख फेला, कर्मचारीले बेलुका घर खोप लगाइदिए -‘स्थानीय’

































































































