विर्तामोड । विर्तामोड–५ मा अर्धनग्न अवस्थामा मृत भेटिएकी सिर्जना बस्नेतका हत्यारा पत्ता लगाई कडा कानुनी कारबाही गर्न मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रहरी प्रशासनसँग माग गरेको छ । आवाजका झापा संयोजक शिखा खड्का गणेश र उपाध्यक्ष गंगा भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल दोषी पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई बुझाइएको ज्ञापनपत्रमा सिर्जना बस्नेतको हत्या घटनाले स्तब्ध बनाएको उल्लेख गरिएको छ । उक्त ज्ञापन पत्रको बोधार्थ इलाका प्रहरी कार्यालय विर्तामोडमा पनि बुझाइएको छ ।
घटनाको अनुसन्धानमा हुने कुनै पनि प्रकारको ढिलासुस्ती सहन नसकिने उल्लेख गरिएको विज्ञप्तिमा तत्काल अपराधी सार्वजनिक नगरे सडक संघर्षमा उत्रने चेतावनी समेत दिइएको छ । झापा जिल्लामा महिला तथा बालबालिकाको सुरक्षाका लागि विशेष सुरक्षा ब्यवस्था गर्न माग गरिएको विज्ञप्तिमा छोरीबुहारीलाई सुरक्षित राख्न कानून संसोधन गरेरै भएपनि मृत्युदण्डको ब्यवस्था गर्न माग गरिएको छ ।
घरेलु तथा महिला हिंसा अन्त्यका लागि विज्ञप्तिमा कानून संसोधन गरेर मृत्युदण्ड वा सर्वस्वहरणसहित जन्मकैदको ब्यवस्था गर्न माग गरिएको छ ।
मेची महाकाली संयुक्त बुहारी आवाजका संयोजक गणेश र उपाध्यक्ष भट्टराइको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको टोलीमा सचिव कविता थापा, सहसचिव अम्बिका दाहाल, कोषाध्यक्ष परु सुवेदी, दमक उपशाखा संयोजक जमुना निरौला, भद्रपुर उपशाखा संयोजक दीक्षा काफ्ले लगायत जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।
२५ बर्षीया बस्नेत सोमबार विहान आफू डेरा बसेको घरनजिकै अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धानका लागि प्रहरीले धरानबाट तालिमप्राप्त कुकुर मगाएको थियो । उक्त कुकुर सोही घरको तेस्रो तल्लासम्म पुगेर फर्किएपनि यसबारे प्रहरीले केही सार्वजनिक गरेको छैन ।
छोरी मार्न पाइदैन, उठ नारी अति भो, सही बस्दा क्षति भो, महिला हिंसा अन्त्य गरौं लगायतका प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालयमा पुगेको बुहारीको टोलीले सुस्मिता, सुजिता, सम्झना, सज्जा, करुणा, भागिरथी, गुलाव, विष्णु, सिर्जनाजस्ता सबै छोरीबुहारीका हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याएर कानून संसोधन गरी मृत्युदण्डकै सजायको ब्यवस्था गर्न माग गरेको हो ।
बुहारीको माग–‘हत्यामा संलग्नलाई मृत्युदण्डको कानुनी ब्यवस्था गर’

































































































