झापा । सोमबार विहान आफू बसेकै घरको आँगनमा मृत भेटिएकी सिर्जना बस्नेतको शब पोष्ट मार्टमका लागि धरानस्थित घोपा अस्पताल लगिएको छ ।
बस्नेतको डेथबडी शंकास्पद देखिएपछि घोपा अस्पतालबाट अनुसन्धानका लागि फरेन्सिक टिम र संघीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा आइ डेथबडीको अवस्था र अनुसन्धानपछि पोष्टमार्टमका लागि शबलाई धरान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक तथा प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । घटना संवेदनशील देखिएकाले डेथबडी अध्ययनका लागि फरेन्सिक टिम घटना स्थलमै ल्याइएको थापाले बताउनु भयो । उहाँले भन्नुभयो–‘यस्तो अभ्यास त्यति प्रचलनमा छैन, घटना संवेदनशील लागेर हामीले घोपा क्याम्पको ३ जनको फरेन्सिक टिम नै झिकाएर घटनास्थलमै शबको अध्ययन गराएका हौं ।’
घटना संवेदनशील र रहस्यमय भएको बताउँदै प्रवक्ता थापाले पोष्टमार्टमको रिपोर्ट आएपछिमात्र केही भन्न सकिने बताउनु भयो ।
अनुसन्धानका लागि ल्याइएका तालिम प्राप्त कुकुर भने सिर्जनाको शब भएको घरभन्दा अन्यत्र नगएको स्रोतले जनाएको छ ।
प्रवक्ता थापाका अनुसार मृतक २५ वर्षीय सिर्जनाको शरीरका विभिन्न भागमा चोट देखिएको छ । घटनास्थलमा अहिले पनि प्रहरी अनुसन्धानको क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
बेलुका घरभित्रै रहेकी सिर्जना विहान मृत फेला पर्नु र घरका सबै ढोका बन्द हुनुले पनि घटना रहस्यमय बनेको प्रहरी स्रोतको भनाई छ ।
संवेदनशील विषयमा अनुसन्धान जारी रहेकाले केही शंका भएपनि अनुसन्धानमा देखिएका प्रमाणका आधारमा मात्र भन्न सकिने इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब निरीक्षक सन्तोष आचार्यले बताउनु भयो ।
यसैबीच सिर्जनाको हत्या भएको भन्दै केही समय स्थानीयले हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन समेत गरेका थिए ।
सिर्जनाको शब आज विहान बिर्तामोड नगरपालिका–५ सुगम पेट्रोल पम्प उत्तरमा अर्धनग्न अवस्थामा फेला परेको थियो ।
सिर्जना विर्तामोडस्थित सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी समेत रहेको बुझिएको छ । पारिवारिक स्रोतका अनुसार सिर्जना आइतबार राति ११ बजेसम्म कोठामै भएको बुझिएको छ ।
सिर्जनाको शब पोष्टमार्टमका लागि धरान लगियो , तालिम प्राप्त कुकुर अन्यत्र गएन

































































































