बिर्तामोड । प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता एवं विश्लेषक सि.के. प्रसाईको २७ औं स्मृति दिवस आज विर्तामोडमा सम्पन्न भएको छ । स्मृति दिवसको अवसरमा सि.के. स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सि.के लाई ‘राजनीतिको विश्वकोष’को संज्ञा दिनुभयो ।राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिका बारेमा पूर्ण ज्ञान राख्ने सि.के.ले अंग्रेजी, नेपाली बंगला भाषामा अत्यन्तै समयसान्दर्भिक लेखहरु लेख्ने गरेको स्मरण पनि गर्नुभयो ।
‘सि.के. सिद्धान्तनिष्ठ नेता हुनुहुन्थ्यो, वी.पी. र सि.के. ले आफ्नो निष्ठा र सिद्धान्त कहिल्यै छाड्नु भएन, उहाँहरुले देश र जनताको हितका लागि राजनीति गर्नुभयो’–पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले भन्नुभयो–‘पार्टीमा लागेका नेताहरुले अहिलेको विलासी जीवनप्रति आत्मचिन्तन गर्नुपर्छ र आफूलाई समाजवादी बाटोमा हिडाउँनुपर्छ, समाजवादी संस्कार अवलम्बन गर्नुपर्छ ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका बारे आद्योपान्त जानकारी राख्ने अद्भुुत क्षमता जो कोहीमा नहुने भन्दै सिटौलाले सि.के. प्रसाईमा त्यो अद्भूत क्षमता रहेको समेत स्मरण गर्दै उहाँ अत्यन्तै मितब्ययी, सरल र समाजवादलाई ब्यवहारमा उतार्ने नेता भएको टिप्पणी समेत गर्नुभयो ।
बर्तमान समयमा निष्ठाको राजनीति च्यूत हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै नेता सिटौलाले सत्ताको नेतृत्व गर्नेहरुमा निष्ठा, त्याग र जनताको सर्वोच्चताभन्दा ब्यक्तिगत र गुटगत स्वार्थ हावी हुँदा राजनीतिक अस्थिरता निम्तिने खतरा औंल्याउनुभयो ।
के.पी. ओली नेतृत्वको सरकारले गरेको संसद विघटन संविधानमाथिको अतिक्रमण भएको चर्चा गर्दै नेता सिटौलाले सर्वोच्च अदालतले विघटनलाई मान्यता दिए जनप्रतिनिधिले बनाएको संविधानको महत्व समाप्त हुने दावी समेत गर्नुभयो ।
सर्वोच्च अदालतले संविधानको संरक्षण गर्नेमा आफ्नो दृढ विश्वास रहेको बताउँदै नेता सिटौलाले भन्नुभयो–‘विभिन्न मत मतान्तरबीच सवैको सहमतिमा संविधान बनेको हो । संविधानमै सर्वोच्च अदालतले संरक्षण गर्ने प्रावधान छ । सर्वोच्चले संविधानको संरक्षण नगरे कसले गर्छ ? प्रधानन्यायधीसले प्रधानमन्त्रीसामु घुँडा नटेक्नेमा म विश्वस्त छु । न्यायधीसले नै घुँडा टेके अरु संवैधानिक निकायले के गर्छन् ?’
संसद विघटनको निर्णय राजनीतिक अस्थिरता, अराजकता र द्वन्द्वउन्मुख रहेको टिप्पणी गर्दै नेता सिटौलाले प्रधानमन्त्री के.पी. शर्मा ओलीको निर्णय लोकतन्त्रविरोधी र असंवैधानिक भएको धारणा राख्नुभयो ।
कार्यक्रममा अर्का बक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले नेपाली कांग्रेसका नेताहरु वी.पी. र सि.के.को निष्ठाकै कारण धेरै जनता कांग्रेस भएको चर्चा गर्दै उहाँहरुको विराशत कायम राख्न अहिलेका नेताहरुले समाजवादी आचरण दैनिक जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सि.के. का विचारहरु तथा नेपाली कांग्रेसका गतिविधिलाई प्रतिवन्धित समयमा समेत जनतासमक्ष लैजान महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा सि.के.का समकालीन ब्यक्तित्व पत्रकार होमनाथ दाहाल र समकालीन नेता भैरवप्रसाद थपलियालाई सम्मान गरिएको थियो । सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथि सिटौलाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाईले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सम्मानित ब्यक्तित्व दाहालले सि.केसँगको सामिप्यता र उहाँको लेखनक्षमताबारे चर्चा गर्दै वी.पी.को निधनपछि सि.के.लाई वी.पी.कै उत्तराधिकारीका रुपमा चर्चा गरिएको स्मरण गर्नुभयो ।
प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण तत्कालीन सरकारले पक्राऊ गरी लामो समय नख्खु जेलमा राखेको, नख्खु जेलबाट छोड्दा ६ महिनासम्म काठमाडौंबाहिर जान नपाउने प्रतिबन्ध सि.केलाई लगाएको स्मरण गर्दै दाहालले सि.के.का विचारहरु पढ्नकै लागि त्यससमय थुप्रै पाठक तथा नेतृत्ववर्गले राष्ट्रपुकार पत्रिका खोज्ने गरेको बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सभापति पूर्णानन्द शर्मा, प्रतिष्ठानका सल्लाहकार खगेन्द्र प्रसाई लगायतले आ–आफ्नो धारणा राख्दै सि.के.को सादगी जीवन, समाजवादी दर्शन अनुरुपको संस्कार, विश्व राजनीतिबारे जानकारी राख्ने अद्भूत क्षमताको चर्चा गर्दै प्रत्येक नेताले समाजवादी संस्कार अवलम्बन गर्नसकेमात्रै उहाँप्र्रति सच्चा सम्मान हुने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानले जिल्लाका सामुदायिक विद्यालयहरुका लागि बार्षिक रुपमा प्रदान गर्ने शैक्षिक सहयोग स्वरुप रु ५० हजार रुपैया यसबर्ष देवी मा.वि. विर्तामोडलाई प्रदान गरिएको थियो । सो क्रममा नेपाली कांग्रेसमा प्रवेश गरेका दयासागर आचार्यलाई नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले सदस्यता प्रदान गर्नुभयो ।
सि.के चिन्तन प्रतिष्ठानका अध्यक्ष टीका प्रसाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार भटराई र सञ्चालन महासचिव लक्ष्मी आचार्यले गर्नुभएको थियो ।



















