झापा ६ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजता कोइरालाले संविधानमै टेकेर निर्वाचनमा जानुपर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन झापा शाखाको आयोजनामा विर्तामोडमा भएको पत्रकार भेटघाटमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनु भएकी नेतृ कोइरालाले संविधान मिचेर निर्वाचनमा जानै नसकिने बताउँदै कोइरालाले भन्नुभयो–‘संविधानसभाबाट जनताको परामर्शमा बनेको संविधानलाई टेकेर चुनावमा जानुपर्छ, संविधानलाई च्यातेर होइन ।’ नेतृ कोइरालाले अगाडि भन्नुभयो–‘त्यसका लागि संसद पुर्नस्थापना गरेर सर्वदलीय सरकार गठनपछि मात्र निर्वाचनमा जान सकिन्छ ।’
पत्रकारहरुसंग कुराकानी गर्दै नेतृ कोइरालाले संसदमा प्रतिपक्षले कुनै अवरोध नगर्दा पनि दुईतिहाई नजिकको कम्युनिष्ट सरकारले जनताको मतलाई अवमूल्यन गर्नु दुखद भएको बताउदै आन्तरिक कलहमा संसद विघटन गर्नु गलत भएका टिप्पणी गर्नुभयो । संसद विघटन असंवैधानिक भएको बताउँदै कोइरालाले जनचाहनालाई बुझेर सर्वोच्चले संसद पुर्नस्थापनाको पक्षमा निर्णय दिनुपर्ने धारणा राख्नुभयो । संसद विघटनले राजनीतिक अस्थिरता निम्तिने उहाँको भनाई थियो । आफूले कांग्रेस पार्टीको मात्रै भन्दा जनताको धारणा र चाहना बोल्ने दावी गर्दै नेतृ कोइरालाले आम जनताको चाहना पनि संसद पुनस्थापना नै भएको बताउनु भयो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा स्वागत सल्लाहकार राजेन्द्र गौतम र सञ्चालन सहसचिव स्वस्तिका आचार्यले गर्नुभएको थियो ।
संविधानमा टेकेर निर्वाचन–कोइराला



















