विर्तामोड १६ माघ । के.पी. शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले असंवैधानिक रुपमा गरेको संसद विगठन विरुद्ध नेपाली कांग्रेसका भातृ संघसंस्थाहरुले आगामी माघ १९ गते विर्तामोडमा जिल्लाब्यापी विरोध प्रदर्शन गर्ने भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन तथा नेपाली कांग्रेस झापाको आज सम्पन्न संयुक्त बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न केन्द्रीय सदस्यहरु सुधिरकुमार शिवाकोटी, दिलिप राई, पूर्व सांसद डिल्ली सिटौला, पार्टीका पदाधिकारी÷सदस्य, भातृ तथा शुभेच्छुक संघसंस्थाका सभापतिहरुको संयुक्त बैठकले माघ १९, माघ २४ र फागुन ३ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
जसअन्तरर्गत माघ १९ गतेको विरोध प्रदर्शनमा कांग्रेसका भातृ संघसंस्थाहरुको नेतृत्व रहनेछ भने २४ गते शुभेच्छुक संघसंस्थाको नेतृत्वमा विर्तामोडमा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न हुने नेपाली कांग्रेस झापाका सचिव ताराविर कटुवालले जानकारी दिनुभयो । नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेका अनुसार फागुन ३ गते पार्टीकै नेतृत्वमा सदरमुकाम केन्द्रीत विरोध प्रदर्शन हुनेछ ।
बैठकमा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले ओलीको कदमले लोकतान्त्रिक संविधान नै संकटमा परेको बताउँदै लोकतान्त्रिक संविधानको रक्षाका कांग्रेस सडकमा उत्रिएको बताउनुभयो । अर्का केन्द्रीय सदस्य दिलिप राईले कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र संविधान विरोधी कामले मुलुकलाई अन्धकारतर्फ धकेलेको धारणा राख्नुभयो ।
पूर्व सांसद डिल्ली सिटौलाले सातदशक अघिदेखि लोकतान्त्रिक विधि र पद्धतिका लागि संघर्ष गर्दै आएको स्मरण गर्दै लोकतान्त्रिक विधि र पद्धतिबाटै सत्तामा पुगेका कम्युनिष्ट नेताहरुले विधिको पालना नगर्दा संवैधानिक संकट निम्तिएको बताउनुभयो ।
के.पी ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विगठन गरेको थियो । ओलीको उक्त कदम विरुद्ध नेपाली कांग्रेसले यसअघि जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ/नगर र वार्डस्तरसम्म विरोधका कार्यक्रम सम्पन्न गरिसकेको छ ।
संसद विगठन विरुद्ध कांग्रेसका भातृ संगठनले १९ प्रदर्शन गर्ने

































































































