विर्तामोड १४ माघ । कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको पहिलो दिन आज झापाका तीनवटा खोप केन्द्र मार्फत पाँचसय ३५ जनाले ‘कोभिसिल्ड’ खोप लगाएका छन् ।
झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७६, अनारमनी नगर अस्पतालमा तीनसय १४ र दमक केन्द्रमा एकसय ४५ जनाले कोभिसिल्ड खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो ।
उहाँ अनुसार कोभिसिल्ड खोप लगाउनेमा पुरुषको भन्दा महिलाको संख्या बढिरहेको छ । तीनवटै खोप केन्द्रमार्फत खोप लगाउनेमा दुईसय १८ जना पुरुष रहेका छन् भने महिलाको संख्या तीनसय १७ रहेको छ ।
झापामा पहिलो पटक आज विहान भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कन्सल्टेन डा. मनिस सुवेदी र जिल्ला स्वास्थ्य कार्यालयका जीवन चौंलागाँईले खोप लगाएर कोरोना विरुद्धको खोप कोभिसिल्ड खोप अभियानको प्रारम्भ गरिएको थियो ।
पहिलो चरणमा अग्रभाग (फ्रन्टलाईन) मा काम गर्नेलाई फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयमसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयमसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।
खोप लगाउने सरकारी निर्णय अनुसार झापामा कोभिसिल्ड लगाउनका लागि ३ वटा खोप केन्द्र तय गरिएको चौंलागाँईले जानकारी दिनुभयो ।
झापामा पहिलो चरणमा खोपको प्राथमिकता अनुसार नौहजार जनामा खोप लगाउनुपर्ने सूचीमा रहेको बताइएको छ ।
पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाइनेछ ।
प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविका गरी ३४ हजार आठसय ५१ र सातसय २५ सरसफाई कर्मचारी गरी ३५ हजार पाँचसय ७६ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइने बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार छसय भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले जानकारी दिए ।
प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका आठसय ३१, उदयपुरका एक हजार दुईसय ३७, भोजपुरका एक हजार एकसय ७६, मोरङका १२ हजार ५६, इलामका एक हजार छसय ९०, ओखलढुङ्गाका एक हजार तीनसय ६६, खोटाङका एक हजार छसय, झापाका चारहजार नौसय ७७, तेह्रथुमका सातसय २३, संखुवासभाका नौसय ४९, सोलुका छसय ८६, सुनसरीका पाँच हजार दुईसय ३३ र पाँचथरमा नौसय २४ लाई खोप लगाइने भएको छ ।
कोरोना विरुद्धको खोप शुरु भएको दिन झापामा पाँचसय ३५ ले लगाए

































































































