Homeसाहित्यचौतारीका यात्री र मातृका संग्रौला

चौतारीका यात्री र मातृका संग्रौला

उद्धव विष्ट (चुम्लुङे)

भूमिकामा साहित्यकार तेराखले सरकारी फायल भित्र चम्किरहेका राष्ट्रिय प्रतिभा भनेर झापाका विभिन्न क्षेत्रबाट विभिन्न विधामा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउने साहित्यकारहरु जन्मिरहनु भएको र बाह्र वर्ष अगाडि नै मातृकाप्रसाद संग्रौलालाई उच्च प्रतिभाका लेखक भनेर छापिएको लेख यस कृतिसम्म आइपुग्दा पुष्टि भएको भन्दै खुसी व्यक्त गरिएको पाइन्छ । शुभकामनाका दुई शब्द राख्दै श्री सुभाङ सामुदायिक अध्ययन केन्द्र हिलिहाङ ५, सुभाङ, पाँचथरका अध्यक्ष हरिप्रसाद ओझाबाट पनि लेखकलाई बहुप्रतिभाका धनी उल्लेख गरिएको छ ।
चौतारीका यात्रीको कथावस्तु म पात्रबाट किस्ता, किस्ता गरेर कुरा कोट्याइन्छ भने यात्रीद्वारा म पात्रको जिज्ञासालाई उत्साहपूर्वक जवाफ दिइएको शैलीमा तिथि, मिति, ठाउँ, गाउँ, परिवेश रिठ्ठो नबिराइ जीवन भोगाइमा पाएका, हण्डर र ठक्कर उल्लेख छन् । सानै उमेरमा मोरङको लेटाङमा जागिर थाल्दाका साथीलाई गरेको विश्वास र पाएको धोकाले मात्र होइन प्रत्येक घटनाले सिरिङ, सिरिङ पार्दै आँखा रसाउँछन्, कहिले मन खुसी बनाएर भित्रैबाट हँसाउछन् । पाँचथरको गाउँमा जन्मिएर सानै उमेरमा बसाईं सरेर झापाको झोडामा आएका यात्री चिना नहेराइ र जन्ती नडुलाई बाँधेको जोडी साँच्चै दुःख, सुखको जोडी बन्न सकेको भन्दै साहित्यमा पनि जोडी नै बाँधेर पुस्तक र एल्बम प्रकाशन गर्दछन् । अस्थायी र करार जागीर खाँदा र जागीर जाँदा धेरै, धेरै सिक्ने अवसर पाएको ठान्दै दुःखलाई अवसरमा लिने गर्दछन् । दमकमा बसेर पसल गर्दै काठमिस्त्री हुँदा होस् वा काठमाडौंमा बसेर रातभरि ईंटा र बालुवा तीन–चार तलामाथि परिवारै मिलेर खेप लगाउँदा होस् अवसर ठान्दछन् । उनले काम गर्दाको धुलोमैलो शरीर देखेर बसले चढाउन नमान्नु र घरवालाले डेरा छोडाउलान् की भनेर लुक्दै कोठामा पस्नुको यथार्थ पढ्नेलाई त सिरिङ्ग हुन्छ भने स्वयम् भोग्नेलाई कस्तो भएको थियो अनुमान लगाउन सकिन्छ । आत्मा हुनेले नै अनुमान लगाउन सकिने घटना उल्लेख छन् । यति दुःख र कष्ट भोगेर पनि मानव चोला प्राप्त भएकोमा यात्री गर्व गर्छन् । उनको भावनामा पूर्व जन्मको कमाइ अहिले भोग्दैछौं, भविष्यका लागि राम्रो गर्ने अवसर पाएका छौं ।

अब भक्तिभाव बढाएर आमा–बाबाको सेवा गर्नु पर्छ, समाजलाई सहयोग पुर्याउनुपर्छ भन्ने धारणा व्यक्त गर्दछन् । अरुलाई केही दिनु पर्छ, ‘अतिथि देवो भवः’, पाहुना आएकालाई सत्कार त गर्नु पर्छ नै बोलाएर पनि सत्कार गर्नु पर्छ भन्ने भावना व्यक्त गरेको पाइन्छ । आफ्नो घरलाई हावाले उडाउँछ भनेर विजुलीको फ्याकेको तारले जमीनमा बाँधेको कसैले यो के होला भनेर सोधे अर्थिङ गरेको भन्छन् । त्यहीं दुःखको समयमा पनि सहरेडाँगीमा विद्यालय स्थापना गर्न सहयोग माग्न आएका मामालाई घर बनाउन योग्य सखुवाका तीन वटा खाँवा भाइको सहयोगमा बोकेरै विद्यालय निर्माण स्थलमा पुर्याईदिन्छन् ।
घरका आमाबाबालाई नै ठूला देवता र तीर्थ ठान्ने यात्री कहींबाट आउँदा उहाँहरुलाई आवश्यक सामग्री ल्याइदिन्छन् । लामो समयसम्म कहिले अस्थायी, कहिले हाकिमका मानिसलाई सामग्री जुटाउन सहयोग गर्ने, कहिले करार, कहिले सानोतिनो ब्यपार कहिले सानोतिनो कामको ठेक्का गरिरहेका यात्री विद्युत प्राधिकरणको स्थायी जागिरे भएर दमौली पोस्टिङ हुँदै दुहबी अनि अनारमनी आएपछि भने जीवनमा सुधार आएको देखिन्छ । खन्ने, जोत्ने, वायरिङ, पम्बलिङ, ड्राइभिङ, लगायतको सीप भएका लेखक पटक–पटक ठूला दुर्घटनामा परेका कारण जीउ दुब्लो पातलो भएपनि उनीसँग भएको संगीत र वाद्य–वादनको ज्ञान सीप एकादुई विरलै मानिसमा मात्र होला भन्ने लाग्दछ ,। मादल, सारङ्गी, विनायो, मुरली, बाँसुरी, बच्चेबाजा, हार्मोनियम, तबला, ढ्याङ्ग्रो लगायत दर्जनौ बाद्यवादन बजाउन सफल उनकी जीवन संगीनी सीता संग्रौलालाई पनि धेरै बाजा बजाउन, सँगै गाउन र नाच्न आउँछ ।
यात्रीमा भएको विशेष प्रतिभा नाकले बाँसुरी बजाउने हो भने थप विशेषता नाकका दुबै प्वालबाट दुइटा बाँसुरीको कर्ण प्रिय सुरिलो ध्वनी गुन्जाएर सबै श्रोतालाई मन्त्रमुग्ध बनाउनु यात्रीको राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय प्रतिभा हुनुपर्छ भन्ने लाग्दछ । यसलाई सम्बद्ध निकायले जगेर्ना गर्दै गिनिज बुक अफ द रेकर्डसम्म लैजाने प्रयास गरिनुपर्दछ भन्ने लाग्दछ ।
नेपाली पुराना लोक सांस्कृतिक वाद्य वादनको संकलन, लोकगीत, नृत्य, वालन, संगीनी, भजन लेखन, गायन, रेकर्डिङ गर्दै भावी पुस्तालाई सिकाउँदै आउनु उनको फुर्सदको दिनचर्या रहेको देखिन्छ ।
विभिन्न कार्यक्रमहरुको निमन्त्रणा स्वीकार्दै समयमा पुग्नुपर्ने र अरुलाई बाधा नपुर्याइ पुरै समय बस्नुपर्ने सुझाव राखेको पाइन्छ । सभा समारोहमा आफू ठूलो देखिन नभएर केही दिन वा देखाउन सक्नुपर्ने मनसाय राख्ने यात्री जहाँ जतिसुकै समय सदुपयोग गर्नु पर्छ भन्ने भावनामा रहेका देखिन्छन् । घरमा बसेका समयमा भएको फूलबारी र करेसा बारीलाई स्याहार गर्ने, चराचुरुङ्गीहरुलाई समेत बासस्थान होस् र तिनीहरुको चिरीबिरी गुन्जीरहोस् भनेर तिनीहरुको अनुकुल हुने सुविधाको विकास गर्न लागिपरेका हुन्छन् । चराचुरुङ्गी र बाँदरबाट आमाको माया बुझेको भन्दै आमा बाबाभन्दा संसारमा अरु ठूलो देवता र तीर्थ नभएको ठान्दछन् ।
साहित्यमा घोचपेचभन्दा मानव जीवनलाई सार्थक बनाउने सन्तुलन चाहने यात्री ठूलो कार्य भनेको सत्कर्म, संगीत, नाचगान र भक्तिभाव ठान्दछन् । यो चोला अस्थायी छ । हामी जो सुकै यहाँ केही समयका यात्री मात्र हौं, यस यात्रामा सकारात्मक सोच र सत्कर्म मात्र गरौं । सक्छौं भने स्मरणीय केही छाप छोडौं । हाम्रा राम्रा संस्कार, संस्कृति, लोकलय र वाद्यवादन पुस्तौं पुस्तासम्म जीवन्त बन्दैरहून् भन्ने सदिच्छा यस उपन्यासका यात्रीमा रहेको पाइन्छ ।
म पात्र यात्रीका हरेक कामका मूल्याङ्कन कर्ताका रुपमा उपस्थित छन् । हरेक कामको चियो र चासो गर्दछन् । यात्रीका प्रत्येक काममा प्रवाहित हुन्छन् र आत्माबाटै मुक्त कण्ठले प्रशंसा गर्दछन् । लाग्छ म पात्र लेखकको आत्मा हो । आफूले गरेको काम आत्माले ठीक हो भन्ने स्वीकारेको छ । यसै कारण उनी चिताएको काममा लागिपरेको ब्यबहारिक अवस्था समेतले पुष्ट्याइ गर्दछ । आत्माले सोध्ने र मष्तिष्कले बताउने नवीन शैलीमा आत्म वृतान्तलाई औपन्यासिक आवरणमा प्रस्तुत गरिएको छ ।
सरल भाषा शैली र रोचक प्रस्तुति मातृका संग्रौलाका विशेषता हुन् । उपन्यास पढ्दै जाँदा कौतुहलता बढ्दै जान्छ । अब के होला ? अब के होला ? भन्ने जिज्ञाशालाई अगाडि बढाउँदै जाँदा प्रसङ्ग अनुसारका कार्यक्रम, गीत, भजन विभिन्न कार्यक्रमहरुको नवीन स्वादमा उपन्यास सिद्धिएको थाहै पाइन्न । लाग्छ पढ्न थाले पछि एकै बसाइमा वा एकै दिनमा अवस्यै सकिन्छ । सामाजिक गतिविधि र व्यवहारिक यथार्थतामा आधारित घटना र कथावस्तु रहेकाले अहिलेका सबै बालबालिकाहरुलाई जीवनबाट हरेस नखाइ संघर्ष सहित अगाडि बढ्न प्रेरणा प्रदान गरेको छ । पठनीय लाग्दछ । पाएको समयलाई पोखिन, बग्न र चुहिन नदिइ पलपल साँचेर लेखिएको प्रसंङ्ग पाइन्छ । उपन्यासकारलाई साधुवाद । यात्रिको यात्रा जारी नै छ । आगामी दिन अन्य अंक प्रकाशनको अपेक्षा सहित धन्यवाद, नमन भन्न चाहन्छु ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
साहित्यचौतारीका यात्री र मातृका संग्रौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img