झापा । संघीय सांसद धर्मशिला चापागाँईले झापाली महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृह झापाद्वारा स्थापित नारी संचार प्रोत्साहन अक्षयकोषमा ३२ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
सरकारले सांसदलाई उपलब्ध गराएको मासिक एकमहिनाको तलब बराबरको दशैं भत्तावापतको रकमबाट नारी संचार गृहको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा नगद ३२ हजार रुपैयाँ बुधबार जम्मा गर्नुभएको हो ।
सांसदका खातामा सरकारका तर्फबाट जम्मा गरिसकेको रकम नेकपा र नेपाली कांग्रेसले कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेपनि पार्टीले निर्णय गर्नु अगावै सांसद चापागाँईले भत्ता आफूले उपयोग नगर्ने तर सामाजिक संस्थालाई सहयोग गर्ने भन्दै नारी संचार गृह र शहिद प्रतिष्ठान नेपाल शाखा कार्यालय विर्तामोडलाई दिने विज्ञप्तिमार्फत सार्वजनिक गरिसक्नु भएको थियो ।
नारी सञ्चार गृहले पत्रकारिता साथै अन्य क्षेत्रका महिलाहरुलाई लक्षित गर्दै बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन कोषमा १२ लाख बढी रकम संकलन भइसकेको संस्थाका अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिनुभयो ।
महिलाको क्षमता अभिबृद्धि गर्ने, उनीहरुले गरेका सकारात्मक कामको उजागर गर्नुका साथै सम्मान गर्ने ध्येयले संचार गृहले २०७५ साल भदौमा २५ लाखको अक्षयकोषको लक्ष्य राखेर सहयोग संकलन गर्दै आएको छ ।
सांसद चापागाँईद्वारा नारी संचारलाई ३२ हजार प्रदान

































































































