झापा । भारत सरकारले ‘बेम्बो वाटर बोटल’लाई प्लास्टिकको विकल्पका रुपमा प्रयोग गर्न सकिने गरेको घोषणाले झापाका तीन युवाको मन छोयो ।
खेतबारीमा बार वार्ने, घर बनाउनेहरुले लैजाने, बाख्रा बस्तुलाई घाँस, यदाकदा भाटाको प्रयोग गरेर घर, चित्रा, भकारी, नाङ्लो, डोको, डालो, ढुङ्ग्रो जस्ता सामग्री नेपाली समाजका परम्परागत बाँसका सामग्री हुन् । बाँसलाई अधिकतम यस्तैमा प्रयोग गरिंदै आएको अनुभव प्रायःमा छ । परम्परागत ढंङ्गबाट त्यस्ता सामग्री प्रयोग गर्ने हाम्रो समाजमा कमैले मात्र सोचेको हुनुपर्छ बाँसलाई कला दिन जान्यो भने दैनिक प्रयोजन र ठू–ठूला तारे होटलमा प्रयोगमा ल्याउन सकिने कलात्मक सामग्री पनि बन्छ भनेर ।
झापा बुद्धशान्तिका तीन युवाले त्यही काम गर्दैछन् । केही समय अघि आसाममा रहेका आफन्तका छिमेकीले बाँसबाट बनाएको पानी खाने बोटललाई भारत सरकारले प्लास्टिकको विकल्पका रुपमा घोषणा गरेपछि आफूहरुको मन छोएको बुद्धशान्ति–१ का गोकूल पौडेल, मनोज प्रसाईं र रोसन भट्टराईले बताए ।
त्यसपछि उनीहरु बाँसबाट बनाउन सकिने सामग्री र त्यसको उपयोगिताबारे खोजी गर्न लागे । खोजीमा ५ महिना भन्दा बढी समय विताएका बताउँदै गोकुलले भने–‘आसाममा जाँदा आफन्तका छिमेकी दाईले बनाएको बाँसको पानी खाने ‘बेम्बो वाटर बोटल’लाई भारत सरकारले प्लास्टिकको विकल्पका रुपमा घोषणा गरेपछि हामी उत्साहित भयौं’ उनले थपे–‘त्यसपछि भारतसहित अन्य देशमा पनि बाँसको प्रयोगबारे खोज्न र बुझ्न थाल्यौं ।’
बेम्बो वाटर बोटलको घोषणा पछि भारतमा अग्र्यानिक राज्यको पहिचान सिक्किमसहित अन्य विभिन्न ठाउँ र देशमा भइरहेका बाँसको उपयोगबारे अध्ययन अवलोकन गरेको उनीहरुले बताए ।
विश्वमा कोरोना संक्रमण जोखिम बढेर श्रमशक्ति श्रमबाट विस्थापित हुँदै गएको अवस्थामा यी युवाहरुले भने कोरोना कहरले आफूहरुलाई ठूलो अवसर दिएको बताए । पढेर मात्र पनि हुँदैन, ज्ञान सीप लिएर अघि बढौं भनेर हामी नयाँ व्यवसायका साथ अघि बढ्न चाहेका हौं–यो कोरोनाले दिएको एउटा राम्रो अवसर पनि हो ।
त्यसो त बाँसका सामग्रीहरु बढी उत्पादन र प्रयोग गरिरहेका देशहरु थाइल्याण्ड, भियतनामको पनि अध्ययन गरेको उनीहरुले बताए । व्यवसायिक उत्पादन गर्नुअघि उपयोगिताबारे आफूले प्रशस्त अध्ययन गरेको बताउँदै पौडेलले भने–‘हामी अध्ययनमै झण्डै ५/६ महिना अल्झियौं, अध्ययनका लागि युट्युव र अन्य सामाजिक सञ्जाल समेत सहयोगि बने ।’

प्लास्टिकको विकल्पमा बाँसको बोटलले छोएको मनलाई अध्ययन गर्न जति सहज भयो, व्यवहारिक प्रयोगका लागि बाँसमा कला भरेर आकार दिने कलाकार अर्थात विज्ञको खोजीमै त्यत्तिकै समय खर्चनु परेको अर्का युवा तथा पत्रकार रोसन भट्टराईले बताए । उनले भने–‘अध्ययन त गरियो, काम कसले गर्ने ? भन्नेमै ४/५ महिना अल्झियौं ।’
खोज्दै जाँदा मोरङको पथरीमा एकजना कालिगढ (कलाकार) भेटिएपछि लगभग २ महिना अघिबाट उनीहरुले बुद्धशान्तिमा उद्योगकै रुपमा स्थापना गर्ने उद्देश्यले ६ जनालाई प्रशिक्षण नै सञ्चालन गरे ।
बाँसको व्यवसायिक प्रयोजनका लागि आफैंले तालिम दिएर दक्ष जनशक्तिको समेत उत्पादन गरिसकेका छन् । कलात्मक हुने बाँसबाट बनेका सामग्री पुनः प्रयोगमा समेत ल्याउन सकिने भएपछि बजारका लागि समस्या नहुने बताउँदै भट्टराईले भने–‘रियुज हुन्छ, कलात्मक हुन्छ, दैनिक हाम्रै किचनमा प्रयोग गर्न सकिने हुँदा बजारमा समस्या देखिंदैन । उनले थपे–‘सजावटकै लागि पनि लान्छन् ।’
अबको २ महिना पछि १५ देखि २० जनाको रोजगारी सिर्जनामा जुटेका उनीहरुले शुरु गरेको व्यवसायको शुरुवाती चरणमा सानो हाते मेसिनको प्रयोग गरेर प्रशिक्षण दिइरहेको छन् भने दशैंपछि भने मेसिनको सहायतामा काम अघि बढाउने तयारीमा रहेको पौडेलले बताए । दशैं अघि नै आफ्ना उत्पादनलाई बजारमा ल्याउने तयारीमा रहेको उनीहरुको भनाई छ ।
नयाँ सोच र चाहना भए आफ्नै ठाउँमा पनि केही गर्न सकिने रहेछ भन्ने सन्देश दिनु पनि आफूहरुको ध्येय रहेको बताउँदै भट्टराईले थपे–‘यसको व्यवसायिकताका लागि सामाजिक सञ्जाललाई पनि बजारीकरणको माध्यमको रुपमा लिएर अघि बढाउन खोजेका छौं ।’
आफ्नै ठाउँमा अवसर खोजेर गाउँमै आफू पनि रोजगार हुने र स्थानीयलाई पनि रोजगारी दिन सकिने उनीहरुले बताए ।

प्रशिक्षणकै क्रममा सामाजिक सञ्जालमा पोष्ट गरेका उत्पादनहरुको माग सोचेभन्दा बढी आइरहेको बताएका उनीहरुले दशैंपछिदेखि भने सबै उत्पादनलाई व्यवसायिक ढंगबाट लैजाने जनाएका छन् ।
बुद्धशान्ति–१ कमल भट्टराईको घरमा प्रशिक्षण चरण विताएका उनीहरुले अब भने एक कठ्ठा जमिनमा आफ्नै व्यवसायिक भवन निर्माण गर्न लागेको जानकारी दिए ।
तत्कालका लागि लगभग २५ देखि ३० लाखको हाराहारीमा लगानी अनुमान गरिएको अर्का सहकर्मी मनोज प्रसाईले बताए ।
बाँसबाट उत्पादित सामग्रीको बजार अन्य मुलुकमा पनि खोजिने सञ्चालक मध्येका प्रसाईले बताए । शुरुवाती चरणमा आएको मागलाई हेर्दा माग धान्न कठिन होला कि भन्ने लागेको बताए । गुणस्तरिय सामग्री उत्पादनका लागि छिप्पिएको फोर बाँस, भालुबाँस चाहिने बताउँदै उनले भने–‘कच्चा पदार्थ जुटाउन निकै खट्नु पर्छ ।’ त्यसो त सीप सिक्नकै लागि पनि जागरुकता देखिएको छैन, बसेर गर्ने काम गर्न अल्छी लागेर हो वा हामीले बुझाउन नसकेर हो, त्यो छुट्याउन सकिरहेका छैनौ ।’ प्रसाईका अनुसार सीप सिक्ने हो भने बाँसमा कला भरेर मासिक २० हजार भन्दा माथि आम्दानी गर्न सकिन्छ ।
मोरङको पथरीबाट ल्याइएका प्रशिक्षकले यसअघि झापाको काँकरभिट्टामा बाँसका विभिन्न सामान निर्माण गर्ने गरेका थिए । भूटानी शरणार्थी रहेका उनको उत्पादनले बजार पाउँदै गएपछि स्थानीय केही नेताहरुले आधिकारिकता खोजेर व्यवसायबाट नै विस्थापित गरेको स्रोतले बताएको छ ।
झापा र मोरङमा बसोबास गरेका हजारौं भूटानी शरणार्थीहरु सुविधा सम्पन्न मुलुकहरुमा गएपनि बाँसमा कला भर्दै बसेका कर्णलाई त्यो मोहले छुन नसकेको बताए । उनी काँकरभिट्टाबाट पथरीमा पुगेका हुन् ।
भूटानी शरणार्थीलाई क्यानडा, अमेरिका लगायतका विकसित मुलुकमा पुनस्थापन गरिएपनि त्यहाँ जाँदा आफ्नो कला मर्ने डरले आफू कतै पनि नगएको उनी बताउँछन् ।
कोरोना संक्रमणले पीडा मात्र होइन, आफ्नै ठाउँमा आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने अवसर पनि दिएको छ । जसलाई हामीले पहिचान गर्न सक्नुपर्छ ।

































































































