कोटीहोम । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको बुधबार उद्घाटन भएको छ ।
प्रयोगशाला स्थापनास्थल कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण भवनमा आयोजित एक कार्यक्रमका बीच प्रदेश–१ का प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरेका हुन् ।
एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट स्थापित प्रयोगशाला प्रदेश सरकार अन्तर्गत मेची अस्पताल मातहतमा रहनेछ । अभियानले केही दिनअघि अस्पताललाई प्रयोगशाला हस्तान्तरणबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।
पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक सम्पूर्ण उपकरणका खरिद गरेर सञ्चालनको अवस्थामा पुर्याएर सरकारलाई जिम्मा लगाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । लगभग एककरोड रुपैयाँको लागतमा अभियानले प्रयोगशाला निर्माण गरेको हो ।
अमेरिकामा बनेको सो मेसिन अत्याधुनिक रहेको छ । कार्यक्रममा संयोजक गिरीले सरकारलाई सहयोग पुग्ने हिसाबले रेडक्रससँगको सहकार्यमा प्लाज्मा संकलनका लागि पनि अभियानले सहयोग पुर्याउने जानकारी दिए ।
प्रयोगशाला उद्घाटनपछि प्रमुख अतिथि प्यासीले अभियानको प्रशंसा गरेका थिए । सरकारले गर्नुपर्ने काम नागरिकले गरेर देखाउनु अनुकरणीय रहेको उनले बताए । कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जनस्तरबाट सुरु गरिएका कोरोनाविरुद्धको अभियानमा सबै राजनीतिक दल, संघसंस्था र सरकारले साथ दिनुपर्नेमा जोड दिए ।
मन्त्री कार्कीले ल्याबलाई अन्य बेला पनि प्रयोग गर्न मिल्ने बहुउपयोगी बनाउन सकिने खालको प्रस्ताव ल्याउन आग्रह गरे । प्रदेश सरकारले सोका लागि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा अभियानका सहसंयोजक विनाद बस्नेतले सरकारल आह्वान गरे योभन्दा पनि ठुलो काम गर्न अभियान तयार रहेको बताए । प्रयोगशाला स्थापना र सञ्चालन रोक्न केही व्यक्तिहरु लागिपरेकोप्रति इंगित गर्दै बस्नेतले असल भावले गरेको काममा कसैको अवरोध नटिक्ने बताए ।
पत्रकार एकराज गिरीले सहजीकरण गरेको कार्यक्रममा नेकपा प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेशसभा सदस्य हिरा थापा, कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेस झापा सभापति उद्धव थापा, जसपा झापा अध्यक्ष अनुतलाल राजवंशीले प्रयोगशाला स्थापनाका लागि अभियानलाई धन्यवाद दिएका थिए ।
सो प्रयोगशालामा एक हजारभन्दा बढी कोरोना भाइरसको नमुना परीक्षण भइसकेको छ । मेची अस्पतालको प्रयोगशाला भने किट अभावमा केही दिन चलेर बन्द भएको छ । कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले गरेका थिए ।
जनस्तरबाट स्थापित पिसिआर ल्याब उद्घाटन

































































































