विर्तामोड । लायन्ससंग संवद्ध विभिन्न ४ वटा संस्थाको संयुक्त आयोजनामा विर्तामोडमा ४२ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ४२ जनाले रक्तदान गरेको लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष मोहनकुमार मित्तलले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) जोखिमका कारण अघिल्ला वर्षहरु जस्तो रक्तदान कार्यक्रम आयोजना हुन छाडेपछि नेपाल रेडक्रस सोसाइटी झापाले रगत अभाव भएको भन्दै रक्तदानका लागि आवह््वान गरेपछि दुई सातायता विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गर्न थालेका छन् ।
सोही अनुसार विर्तामोडमा लायन्स क्लब अफ विर्तामोड, लायन्स क्लब अफ विर्तामोड लेडी, लिओ क्लब विर्तामोड र सीनियर लिओ क्लब विर्तामोडको आयोजनामा रक्तदान गरिएको हो ।
लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष मोहनकुमार मित्तलको अध्यक्षता तथा लायन टिम एरिया लिडर कोमल शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान उद्घाटन कार्यक्रमको संगिता रौनियारले सञ्चालन गर्नुभएको थियो भने स्वागत लायन्स क्लब अफ विर्तामोड लेडीका अध्यक्ष उर्मिला खरेल र औचित्यमाथि कार्यक्रम संयोजक प्रदिप खरेलले प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा लायनका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजाल, ओमकृष्ण विमली, सुदन बुढाथोकी, मनिषा विमली लगायतको आतिथ्यता रहेको थियो ।

































































































