झापा ९ भदौ । झापाको विर्तामोडको निश्चित क्षेत्र सहित शिवसताक्षी नगरपालिकाका सबै वडाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले आज (मंगलबार) एक सूचना जारी गर्दै विर्तामोड नगरपालिका वडा नं.–५स्थित मुक्तिचोक, शनिश्चरे रोड पूर्व, ट्राफिक कार्यालयदेखि उत्तर कृषि विकास बैंक, दक्षिण हिकोला रोड पश्चिम रत्न सुपर मार्केट र आसपासमा जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण विराट एफएमको छेउसम्मको क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा गरिएको झापाका प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
त्यसैगरी शिवसताक्षी नगरपालिकाका सबै वडाहरुमा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा निषेधाज्ञा अवधीभर राजमार्ग र अत्यावश्यक सेवाका सवारी साधन, सरकारी नम्बर प्लेटका सवारी साधन, कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारी, ढुवानी तथा निर्माण सामग्री बोकेका र इजाजत प्राप्त सवारी साधन बाहेक बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो बस आवागमन बन्द हुने जनाइएको छ । जारी सूचनामा निषेधाज्ञा कहिलेदेखि लागू हुने भन्ने नखुले पनि सूचना जारी भएकै दिनदेखि लागूहुने झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भयो ।
संक्रामक रोग ऐन २०२० को दफा २ ले प्रदान गरेको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम प्रमुख जिल्ला अधिकारीलाई प्राप्त अधिकारको प्रयोग गरी कोभिड–१९को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ती क्षेत्रमा निशेधाज्ञा जारी सूचनाको अवज्ञा गर्नेमाथि संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा सूचनामा उल्लेख छ ।
नेपाल सरकार मन्त्रीपरिषदको यही भदौ १ गतेको निर्णयबाट संक्रमक रोग ऐन अन्तरगत रहेर रोग नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको थियो ।
यस्तो छ ऐनमा कारवाहीको व्यवस्था
(१) यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु. १००।– सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६महिनासम्म कैद वा रु. ६००।– सम्म जरिवाना वा दुवै सजाँय हुनेछ
विर्तामोड र शिवसताक्षी नगरपालिकामा निषेधाज्ञा

































































































