सीमाक्षेत्रबाट ब्ल्याकमा भित्रिंदै
रेजिना गौतम
झापा । ‘धानबालीले युरिया मल खोज्न थाल्यो तर, अहिले १ केजी पनि मल पाइने अवस्था छैन’– झापा गाउँपालिका वडा नंं–७ का किसान देव बस्नेतले धानमा हाल्ने मल अभावबारेको भनाई हो यो ।
‘समय वितेपछि हालेको मलको कुनै काम छैन, समयमा हालौं न त भनेको पाइदैन । धानको बिउ राखेपछि बिउमा हाल्ने मल नपाएर ब्ल्याकमा किन्नुपर्यो, अहिले पनि ब्ल्याक मै परिएला जस्तो छ ।’ बस्नेतले थपे–‘बोर्डरतिर जाँदा लुकिछिपी ल्याउनुपर्ने हुन्छ, त्यसमा पनि ब्ल्याकमा, बोराको १५/१६ सय पर्छ रे, अनि सुरक्षाकर्मीले दुःख त्यत्तिकै दुःख दिन्छन् ।’
मलको मूल्य थाहा भएपनि सहजरुपमा नपाएपछि धानको बिउमा हाल्ने बेलामा प्रतिकिलो ६५ रुपैयाँमा किन्नुपरेको उनले सुनाए । ‘ब्ल्याकमा किन्नुपर्दा प्रतिकिलो ६५ रुपैयाँ खर्चिनुपर्यो’– उनले भने–‘२२ दिनदेखि २८ दिनसम्मको विऊ रोप्यो भने धान फल्छ, तर मल हालेन भने त्यो अवधीमा बिऊ छोटो हुन्छ, रोप्न असहज हुन्छ भने डुब्ने डर पनि त्यत्तिकै हुन्छ । धान रोपेपछि पनि त्यही हो, धान रोपेको २२ दिनदेखि एकमहिनासम्ममा मल हाल्नुपर्ने हुन्छ ।’
आधिकारिक रुपमा नेपालमै मल किन्न नपाएपछि सिमावर्ती क्षेत्रका कृषकहरु जोखिम मोलेरै भएपनि भारतीय सीमानाबाट मल ल्याउन बाध्य छन् । अझै पनि नेपालमै मल किन्न पाइन्छ कि भन्ने आशमा बसेको बस्नेतले बताए । उनले भने–बोर्डरबाट ल्याउन सजिलो छैन, झण्डै १० किलोमिटर जति दुरी छ, साइकल लिएर जानुपर्छ । सुरक्षाले उस्तै दुःख दिन्छ, लुकिछिपी ल्याउनुपर्छ । तर पाइदै पाइएन भने त के गर्नु उपाय खोज्नै पर्ने हुन्छ ।’ यो वर्ष सात विगाह जमिनमा धान खेति गरेको बस्नेतले बताए ।
रासायनिक मल हाल्नु राम्रो होइन भन्ने जान्दा जान्दै पनि हाल्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘माटोलाई बानी परिसक्यो, एकैपटक हाल्न छोड्यो भने उत्पादन नै हुँदैन क्रमश घटाउँदै लैजान सकिन्छ, तर च्वाट्टै छोड्न सकिंदैन’–उनले भने ।
कृषि सामग्री संस्थानबाट रासायनिक मल बेच्ने अनुमति पाएको स्थानीय सहकारीले साउन १८ गते मल आउने भन्दै कृषकलाई त्यतिञ्जेल पर्खन आह््वान गर्यो, १८ गते मल नगएपछि सहकारीले पुनः साउन २५ गतेसम्म पर्खन भन्यो, सहकारीको विश्वास गरेर २५ गतेसम्म पनि पर्खिए । तर, साउन २५ गते पनि मल नपाएको उनी बताउँछन् ।
धान रोपेको २२ दिनदेखि १ महिनाभित्रमा मल हाल्दा त्सयले राम्रो उत्पादन दिने किसान बताउँछन् । तर समयमा नपाएर चिन्तित झापा–७ का कृषकहरु चारदिन अघि एकै ठाउँमा भेला भएर मलको समस्याबारे छलफल समेत गरेको बस्नेतले बताए । कोरोना संक्रमण जोखिमका कारण यातायात नचल्दा अन्यत्र कतै जाने अवस्था नभएको भन्दै किसानले समस्या समाधानमा सहजीकरण गरिदिन स्थानीय जनप्रतिनिधिलाई नै झक्झक्याउने निष्कर्षमा पुगे र वडाध्यक्ष ध्रुव उप्रेतीको ध्यानाकर्षण समेत गराइसकेका छन् । किसानको समस्याबारे स्थानीय तहले के गर्दैछ यस विषयमा वडाध्यक्ष ध्रुव उप्रेतीसंग भने सम्पर्क हुन सकेन ।
हल्दिबारी–४ का कृषक मोहन ढकालले लगाएको ३ विगाहा धान खेतिमध्ये अलिकतिमा सेते लाग्ने लक्षण देखिएपछि उनी अहिले रासायनिक मल (युरिया)को खोजीमा छन् । भारतको भन्दा नेपालको मलमा गुणस्तर हुने तथा तौलपनि पूरा हुने भएका कारण नेपालकै मलको पर्खाइमा बसेको उनले बताए । अब पार लाग्दैन कि भन्ने उनको चिन्ता छ । उनले भने–‘इण्डियाको मल ल्याएका ल्याएकै छन्, मंहगो पर्छ १८०० देखि २००० सम्म पर्छ रे, तर आइरहेको छ’ नेपालकै मल हालौं भनेको तर, पाइदैन, पारिको गुणस्तर पनि हुँदैन, ५० केजीको बोरामा ४५ केजीमात्र हुन्छ ।’
झापाको पूर्वी दक्षिणी सीमावर्ती क्षेत्रबाट सेटिङमा मल आउने गरेको नाम नखोल्ने शर्तमा पाठामारीका एक स्थानीयले बताए । उनका अनुसार पारिकाले सशस्त्र प्रहरीको कार्यालय नजिकै ल्याएर मल राखिदिन्छन् र जान्छन्, त्यसपछि वारीकाले मल सप्लाई गर्छन् ।
५ विगाहा खेति गरेका झापा गाउँपालिकाका कृषकलाई मल उपलब्ध गराउँदै आएको एक सहकारीका अध्यक्ष बालकृष्ण सिटौला आफैं पनि धानमा मल कहाँबाट ल्याएर हाल्ने भन्ने चिन्तामा छन् । मल दिने माथिल्लो निकायले भाका सार्दासार्दै आफैलाई ढाँट बनाएको उनको भनाई छ । किसानको सहुलियतका लागि काम गर्दै आएको सहकारीलाई पनि बद्नाम बनाएको हाम्रो जनहित कृषि सहकारीका अध्यक्ष बालकृष्ण सिटौलाले बताए ।
कृषि सामग्री संस्थानले भाका सारेको सारेकै गर्दा आफू पनि ढाँट जस्तो भएको बताउँदै सिटौलाले भने–‘आश्वासन मात्रै छ, मल आउँदैन किसानले हैरान बनाए भन्दा पनि ठूलो चिन्ता बाली विग्रियो, सरकारको काम हेर्दा दुःख लागेर आउँछ ।’ साउनको शुरुदेखि नै माथिल्लो निकायमा सम्पर्कमा रहेको भएपनि पटक पटक भाका सार्दैै अब भदौको पहिलो हप्ता आउने आश्वासन दिएको बताउँदै सिटौलाले भने–‘अब विश्वास गर्ने आधार नै सकियो, कृषि मन्त्रालय, कृषि विभाग के हेरेर बसेका छन्, यसको जवाफ कसले दिने हो ?’
हाम्रो जनहित कृषि सहकारीबाट लगभग दुईहजार विगाहभन्दा बढी जमिनका लागि ४/५ सय जनाले मल लाने गरेका छन् । ‘भदौको पहिलो हप्तासम्म पर्खन्छु, त्यो पछि त विकल्प खोज्नै पर्ने हुन्छ, बोर्डरबाट ल्याउन पनि कठिन छ’– उनले भने–‘पुलिसले दुःख दिएका छन्, रातभर बाटो खुल्ला हुन्छ, तस्करहरु कुदिरहेका हुन्छन्, सर्वसाधारणले तस्करीबारे गोप्य सूचना दियो भने सुरक्षा निकायबाट तस्कर कहाँ सूचना दिनेको नम्बरसम्म पुग्छ, तर किसानले मल ल्याउन पाउँदैनन्, न त किन्न पाउँछन् विडम्बना छ ।’ साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थान विर्तामोडले भने साउनको पहिलो हप्ता नै रासायनिक मल आउने जानकारी आएको भएपनि अझैसम्म नआएको जनाएका छन् । यही महामारी र लकडाउनका कारणले होला अब भदौको पहिलो हप्ता आउँछ भन्ने जानकारी आएको उल्लेख गरेका छन् ।



















