HomeFeatured 2कोरोना रेडजोनमा सूचीकृत भद्रपुरमा विद्यालय सञ्चालन

कोरोना रेडजोनमा सूचीकृत भद्रपुरमा विद्यालय सञ्चालन

सरकारको निर्णय अटेर गर्दै अघोषित अनुमति

झापा । विहीबार दिउँसो २ बजे विभूति विद्या मन्दिर भद्रपुरमा पुग्दा शिक्षक ग्लास लगाएर कक्षामा पढाइरहेका भेटिए । विद्यार्थीहरु लगभग १ मिटरको दुरी कायम गरेर मास्क र ग्लास लगाएरै कक्षामा बसेका थिए । देशभरका विद्यालयहरु बन्द रहेपनि भद्रपुरका निजी तथा सामुदायिक विद्यालयले कक्षा ९ र १० को सबै विषयको पढाइ जारी राखेका छन् ।
प्रज्ञा एकाडेमीले कोरोना सुरक्षाका लागि टनेल राखेरै कक्षाभित्र प्रवेशको ब्यवस्था मिलाएको थियो । त्यहाँ पनि विद्यार्थीहरु माक्स लगाएर बसेका थिए भने थर्मल गनमार्फत तापक्रम मापन गरेर कक्षा प्रवेशको वातावरण मिलाइएको थियो । शिक्षक विद्यार्थी सबै विद्यालय पोशाकमै थिए । कक्षाभित्रै तातोपानी र चिसो पानीको ब्यवस्था गरिएको थियो ।
एमरल्ड एकाडेमीले भने थर्मल गन र सेनिटाइजरको ब्यवस्था गरेको थिएन । कक्षाभित्र सामाजिक दुरी कायम राखेरै विद्यार्थीहरु बसेका थिए । अधिकांशका अनुहारमा माक्स थियो । कक्षाभित्र पस्नुअघि सेनिटाइजरको ब्यवस्था पनि गरिएकै थियो । प्रा.वि तहदेखि कक्षा १२ सम्म सञ्चालित यी तीन विद्यालयले कक्षा ९ र १० को पढाइलाई भने निरन्तरता दिएका छन् ।


सरकारले भद्रपुर नगरपालिकासहित भारतसंग सीमाना जोडिएका झापाका ६ स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिम (रेडजोन) मा राखेको छ । उच्च जोखिमको सूचीमा रहेको भद्रपुर नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरु सञ्चालन भएको पाइएको छ। नगरपालिकाका अधिकांस विद्यालय सञ्चालनमा आएको भएपनि नगरपालिकाले भने ३/४ वटा सामुदायिक र ६/७ वटा निजी विद्यालय सञ्चालन भएको दावी गरेको छ।
सरकारले विद्यालय खोल्ने निर्णय गरेको छैन । सबै क्षेत्रको लकडाउन हटेपछि मात्रै विद्यालय खोल्ने या नखोल्ने निर्णय गरिने सरकारले बताइरहँदा संघीय सरकारका नीति नियमको पालना गर्ने भद्रपुर नगरपालिकाले भने आचारसंहिता बनाएरै कक्षा सञ्चालनका लागि अनौपचारिक अनुमति दिएको छ ।
यसअघि असार २३ गते विद्यालय सञ्चालनका बारे भएको सर्वपक्षीय छलफलमा भद्रपुरका नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयले मिश्रित धारणा राखेका थिए । केही सामुदायिक विद्यालयका प्र.अले विद्यालय सञ्चालन गर्ने वातावरण नै नभएको जनाएका थिए भने केहीले ठूलो कक्षाका विद्यार्थीलाई पढाउन सकिने बताएका थिए ।
प्याब्सन र एन प्याब्सनका प्रतिनिधि तथा निजी विद्यालय सञ्चालकले पनि मिश्रित धारणा राखेपछि भद्रपुर नगरपालिकाले एकसाताभित्रमा अभिभावकसँग छलफल गरेर रायसहित आउन भन्दै विदा दिएको थियो ।
‘अभिभावकले विद्यार्थी दिए मात्रै विद्यालय सञ्चालन गर्न सकिन्छ । हामीले अभिभावकको राय लिएर आउन भनेका थियौं’–भद्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख प्रेम भुजेलले भन्नुभयो–‘उहाँहरु अभिभावकको रायसहित असार ३० गते आउनुभयो, ठूला कक्षा लगाउन सकिन्छ भन्नुभयो । हामीले विद्यालय, विद्यार्थी, शिक्षा शाखा सबैले पालना गर्नुपर्ने आचारसंहिता बनायौं र सोही आधारमा चलाउन सकिन्छ भने चलाउनुस् भन्यौं ।’ तर नगरपालिकाले औपचारिक निर्णय भने नगरेको उहाँले बताउनुभयो । सो बैठकमा प्याब्सन, एनप्याब्सन, सामुदायिक विद्यालय र निजी विद्यालयका सञ्चालक/प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नगरप्रमुख तथा शिक्षा शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको बताइन्छ ।
उहाँका अनुसार भद्रपुर नगरपालिका शिक्षा शाखाले शिक्षा मन्त्रालयले जारी गरेको वैकल्पिक सिकाई सहजीकरण निर्देशिकाकै आधारमा रहेर आचारसंहिताको मापदण्ड तयार गरेको र सोही मापदण्डका आधारमा कक्षा सञ्चालन गर्न भनेको हो । वैकल्पिक सिकाई सहजीकरण निर्देशिकामा विद्यार्थीहरुको शिक्षण सिकाइका लागि अनलाइन कक्षा, रेडियोमार्फत शिक्षा, ८/१० जनाको समूहमा पढाउने, ४/५ क्लष्टर बनाएर वैकल्पिक शिक्षा दिने ब्यवस्था छ । यता नगरपालिकाले भने विद्यार्थी, शिक्षक, विद्यालय, शिक्षा शाखाले पालना गर्नुपर्ने प्रावधानसहितको मापदण्ड तय गरेको छ । सो मापदण्डमा सामाजिक दुरी कायम राख्ने, माक्स र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, खाजा घरबाट ल्याउने लगायतका साझा एजेण्डा अर्थात कोरोनाबाट बच्न सकिने उपाय अपनाउन मापदण्ड तय गरिएको भुजेलले जानकारी दिनुभयो ।
‘स्थानीय सरकारसँग समन्वय गरेर कोरोना जोखिम कम भएका क्षेत्रमा कक्षा सञ्चालन गर्न सकिने भन्ने सरकारको भनाई विभिन्न समाचारहरुमा आयो’–भुजेलले भन्नुभयो–‘सोही कुरालाई आधार मान्दै वैकल्पिक सिकाई सहजीकरण निर्देशिकामा आधारित रहेर मापदण्ड तय गरिएको हो । तर नगरपालिकाले औपचारिक निर्णय गरेको छैन। हामीले निर्देशन, अनुमति केही पनि दिएका छैनौ ।’
शिक्षा शाखा संयोजक समेत रहनुभएका भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठलाई यस विषयमा जानकारी लिन फोन गर्दा उहाँको मोवाइल स्वीच अफ थियो । यता विद्यालय सञ्चालनका विषयमा भद्रपुर नगरपालिकाका उपमेयर चन्द्रा श्रेष्ठले आचार संहिता लागु गरेर केही विद्यालयहरुले कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
‘हामीले माथि पनि सम्पर्क गरेका हौं’ श्रेष्ठले भन्नुभयो–‘कोरोना संक्रमणको जोखिम कम रहेका क्षेत्रमा आचारसंहिता पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने भन्ने कुरा आएपछि हामीले सञ्चालन गर्न भनेका हौं।’ उहाँका अनुसार विद्यालय सञ्चालनका लागि नगरपालिकाले पनि आचारसंहिता लागु गरेको छ ।
खुल्ला रहेका विद्यालयले मापदण्ड पूरा गरे/नगरेकोबारे अनुगमन गर्ने भुजेलले जानकारी दिनुभयो । यद्यपि खुल्ला विद्यालय बन्द गराउने विषयमा भने नगरपालिका मौन छ ।
यता विद्यालय खुल्ला रहेका विषयमा नेविसंघ झापाले विहीबार अवलोकन गरेको थियो । अवलोकनका क्रममा अधिकांश विद्यालय खुल्ला रहेको पाइएपछि मानव स्वास्थ्यप्रति संवेदनशिल हुन भन्दै प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानामगर, प्रहरी प्रमुख कृष्ण कोइराला र शिक्षा तथा समन्वय इकाईका प्रमुख जयप्रसाद महतको ध्यानाकर्षण समेत गराएको नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोरोना रेडजोनमा सूचीकृत भद्रपुरमा विद्यालय सञ्चालन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img