
सुगम मानिएको झापाको झापा गाउँपालिका जिल्लामा सबै भन्दा पीछडिएको गाउँपालिका हो । भारतको विहारसंग सिमाना जोडिएको झापा गाउँपालिकाले सिमाना जोडिएकै कारण सीमा क्षेत्रबाट हुने विविध समस्याहरुको सामना गर्दै आएको छ । त्यसमा पनि यो वर्ष विश्वमा फैलिएको कोरोना महामारीमा त सिमाना सुरक्षाको विषय अझ चुनौति बन्यो । कोरोना संक्रमण जोखिमलाई दृष्टिगत गरी नेपाल र भारतका दुवै देशले लकडाउनको घोषणा गरे । सिमानामा आवत जावत बन्द गरे । तर, खुल्ला सिमाना भएको झापा गाउँपालिकाको सिमावर्ती क्षेत्र हुँदै नेपालबाट कामका लागि भारत गएकाहरुको घर फर्किनेको लर्को नै लाग्यो । त्यतिमात्र होइन तस्करले पनि सो क्षेत्रमा निकै दुःख दिए । सुरक्षाकर्मी माथि नै हात समेत भयो । त्यसो त भारतीयहरुले पनि नेपालीका जमिनमा लगाएको बाली थन्क्याउन आउनेलाई पनि सहज भएन । यसैलाई मध्यनजर गर्दै गाउँपालिकाले आगामी दिनमा भारतीयलाई जग्गा जोत्न नदिनका लागि गाउँपालिका क्षेत्रभित्रका जग्गाधनीहरुलाई सूचित समेत गरेको छ । यहीबीचमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति, कार्यक्रम तथा बजेट समेत पारित गरिसकेको छ । अधिकांस ग्रामीण भाग अनि विपन्न तथा पिछडिएका (आदिवासी/जनजाति, मधेशी, मुस्लिम) समुदायको बसोबास रहेको झापाको आन्तरिक आय (राजस्व) संकलनको दायरा पनि अन्यको तुलनामा खासै ठूलो छैन । यस्तो जोखिम र चुनौतिका बीच गाउँपालिकाको संरक्षण, संवद्र्धन, विकास र प्रगतिको लय सबल नेतृत्वकै कारण पछ्याइरहेकै छ। यस चुनौतिपूर्ण घडीमा गाउँपालिकाले स्रोतको खोजी, परिचालनलाई हरसम्भव जनअपेक्षा अनुरुप नीति तथा कार्यक्रम तय गर्दै सोही अनुरुप बजेट विनियोजन र कार्यान्वयनमा लगाउने प्रयास जारी राखेको छ । बार्षिक नीति तथा कार्यक्रम, बजेट लगायतका विषयसँग सम्बन्धित रहेर गाउँपालिकाका अध्यक्ष जयनारायण शाहसँग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :–सं ।
– कस्ता कार्यक्रमहरु समेट्नु भएको छ नीति तथा कार्यक्रममा ?
–हाम्रो गाउँपालिका भारतसंग सीमा जोडिएको छ । अहिलेको अवस्थामा सुरक्षाका दृष्टिले पनि केही चुनौति छन् । त्यसमा पनि खोला–नाला बढी भएकोले गर्दा बाढी प्रभावित गाउँपालिका पनि हो । गाउँपालिकाका धेरै वडा बाढी प्रभावित छन् । २०६४ सालको बाढीमा यो गाउँपालिकाका १० जनाले ज्यान गुमाएका थिए । विकासका कामहरु क्रमिक रुपमा शुरु गरेका छौं, बाटाघाटाहरु बन्ने क्रममा छन् । त्यसमा विपन्न समुदायको बसोबास भएको गाउँपालिका पनि हो ।

पुराना कामहरुलाई निरन्तरता दिंदै केही नयाँ काम गर्ने योजना पनि ल्याएका छौं । यहाँ सर्पदंशको प्रकोप पनि त्यत्तिकै छ । आर्थिक अभावकै कारण समयमा उपचार नपाउँदा ज्यान गुमाउने गरेका छन् त्यसैले सर्पदंशबाट बचाउनका लागि समयमै अस्पताल पु¥याउने तथा झापा गाउँपालिकाबासीलाई निःशुल्क सर्पदंशको उपचार उपलब्ध गराउने तयारी गरेको छ । रेडक्रस र सर्पदंश उपचार केन्द्र चारआलीसंग कुरा भइरहेको छ । यो सालदेखि सर्पदंशको निःशुल्क उपचार उपलब्ध गराउँछौं ।
– कोरोनाले के सिकायो ?
–बोर्डरसंग जोडिएको झापामा कोरोनाका कारण ठूलो चुनौति छ । । सुरक्षाकर्मीले सुरक्षा गरिदिएका छन् र हामी जोगिएका छौं । कोरोनाबाट बच्नु र बचाउनु हाम्रो प्राथमिकता हो । यसका लागि यसैवर्ष गाउँपालिकामा सुविधासम्पन्न अस्पताल बनाउने तयारीमा छौं । १५ शैयाको अस्पताल बनाउनका लागि प्रदेश सरकारबाट स्वीकृति प्राप्त भएको छ भने जग्गा पनि प्राप्त गरिसकेका छौं । यो वर्षबाटै सेवा सुचारु गर्ने गरी अस्पताल बनाउँने तयारीमा छौं ।
– सबै वडालाई कालोपत्रेसंग जोड्ने योजना कहा“ पुग्यो ?
पीचरोडबाटै प्रत्येक वडाका नागरिक गाउँपालिका पुगुन भन्ने ध्येयले प्रत्येक वडालाई पीचबाटोले गाउँपालिकासंग जोड्ने योजनालाई हामीले गौरवको योजनामा लिएका छौं । केही वडामा बाटो निर्माण कार्य शुरु भइसकेको छ भने केहीमा शुरु हुने प्रक्रियामा छ । सबै वडालाई कालोपत्रे बाटोले गाउँपालिकासंग जोड्ने कार्य हाम्रै पालामा हुन्छ ।
–अमरपथ मार्ग र लक्ष्मी मार्ग निर्माण कार्य कहा“ पुग्यो ?
– यी दुईवटा बाटो गाउँपालिकाकै गौरवका योजना हुन् । अमर पथ मार्गको कनकाई र झापा गाउँपालिकामा दुईवटा ठेक्का लागिसकेको छ । अमर पथमा कालोपत्रेका लागि ठेक्का लागिसकेको छ । झण्डै २५/२६ किलोमिटर दुरीको बाटोमा झापा गाउँपालिका र कनकाई नगरपालिका दुई ठाउँमा गरेर ठेक्का लागेर काम हुँदैछ । लकडाउनले केही दिन काम रोकिन पुग्यो । झापा गाउँपालिकालाई पूर्व–पश्चिम राजमार्गसंग जोड्ने अर्को महत्वपूर्ण बाटोका रुपमा रहेको लक्ष्मीमार्गको पनि निर्माण कार्य भइरहेको छ । यो मार्ग मुख्यमन्त्री ग्रामिण सडकभित्र परेकोले उक्त मार्गको मुख्यमन्त्री आफैंले शिलान्यास गर्नुभएको छ ।
–कोरोनाका कारण विद्यालय बन्द रह“दा बालबालिकाहरु विचलित अवस्थामा छन् । शिक्षाको दायित्व पनि स्थानीय तहकै जिम्मेवारीमा छ, विद्यालय सञ्चालन सम्बन्धमा केन्द्र र प्रदेशकै निर्देशन कुर्ने कि नया“ केही सोच बनाउनु भएको छ ?
–संघीय र प्रदेश सरकारको निर्देशन त फलो गर्ने नै हो । संगसंगै हाम्रो पनि दायित्व छ । सोही अनुसार अहिले विद्यार्थी भर्ना गर्ने र उनीहरुलाई घर–घरमै किताव पुर्याइदिने काम भइरहको छ । किताव पाएपछि नानीहरुमा किताव हेर्ने, घरमा आफूभन्दा ठूलाबाट सिक्दै गर्छन् भनेर पनि हामीले त्यो गरेका हौं । अझै पनि झापा गाउँपालिकाका ६ प्रतिशत नानीहरु विद्यालयको पहुँच बाहिर छन् । ती सबै बालबालिकालाई पनि विद्यालयको पहुँचमा ल्याउछौं ।
यसैवर्ष गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रविधिको पहुँच पु¥याउनका लागि १०० वटा कम्प्युटर जडान गर्ने तयारी छ । गतवर्ष कक्षा–९ मा अध्ययनरत बालबालिकालाई साइकल र कक्षा ११मा निःशुल्क शिक्षा, मास्टर्स गर्नेलाई १ लाख र प्राविधिक शिक्षा अध्यययन गर्नेलाई आर्थिक सहयोग गरेका थियौं । यसको सकारात्मक प्रभाव परेको छ । गाउँपालिकाले यो वर्ष पनि कक्षा १२ लाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।
–विजुली वत्तीको पहु“च कति जनतामा छ ?
हामी निर्वाचित भएर आउँदा ५० प्रतिशत जनता पनि विजुलीको पहुँचमा थिएनन् । अहिले ९९ प्रतिशत जनतामा विजुलीको पहुँच पुगेको छ यो हाम्रो महत्वपूर्ण उपलब्धी हो । साउनको दोस्रो हप्तासम्ममा झापालाई पहिलो उज्यालो गाउँपालिकाका रुपमा घोषणा गर्ने तयारी छ । यो घोषणा अस्ति नै भइसक्थ्यो । लकडाउनका कारण चैतदेखि केही समय काम गर्न नपाउँदा अलि ढिला भयो ।
– झापा गाउ“पालिकाका बासिन्दाको खेत भारतीयले जोतभोग गर्नुका साथै स्वामित्व पनि हडपेको सुनिन्छ ? यसको नियन्त्रणका लागि के गर्दै हुनुहुन्छ ?
–बोर्डरसंग जोडिएको गाउँपालिका, खुल्ला सिमाना भएका कारण भारतीयसंग कतिपय नागरिकको सांस्कृतिक सम्बन्ध पनि छ । सहज परिवेशमा आउजाऊ पनि हुन्छ । जग्गा जोत्न, धानमकै रोप्न पनि दिएका छन् । तर यो वर्ष कोरोनाका कारण लगाएको बाली उठाउन पाएनन् । यतै हुने उनीहरुका आफन्तले उठाए भने कतिले हिसाबमा उठाइदिए । त्यही कारण विवाद पनि बढ्यो । तर अब यो वर्षदेखि भारतीयहरुलाई जग्गा जोत्न नदिने सूचना हामीले गरिसकेका छौं । यो वर्षदेखि अब जसको खेति हो उनीहरुले नै जोत्छन् । विवाद भयो अब बाली लगाउन दिन हुँदैन भन्ने हाम्रो दृढ निश्चय छ । यसको कार्यान्वयन पनि गर्छौ ।
अन्त्यमा ?
– झापा गाउँपालिकाले सबै जातका विपन्नलाई समान रुपले हेर्ने नीति लिएको छ । सुत्केरी भत्ता, रगतको अभावमा गाउँपालिकाका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि ब्लडको व्यवस्था गर्ने, जनताको तटबन्धलाई प्रभावकारी रुपमा अघि बढाउने छौं भने कृषि उत्पादनलाई ध्यानमा राखेर सिंचाईको व्यवस्थाका लागि ‘जहाँ खेति त्यहाँ पोल’ भन्ने नारालाई अघि सारेका छौं । यसैवर्षदेखि गाउँपालिकाको एउटा वडामा ‘धान जोन’ कार्यक्रम पनि सञ्चालन गर्दैछौं ।

































































































