
हल्दिवारी ११ असार । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले आफूलाई आक्रमण गरी सभास्थलबाट भाग्न बाध्य बनाएर उपाध्यक्षले सञ्चालन गरेको गाउँसभाको वैधानिकता नहुने बताउनु भएको छ ।
बिहीवार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङदेनले उपाध्यक्ष डम्बर गिरीले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्न पाउनु पर्ने माग राखेपछि स्थानीय तहको गाउँसभा सञ्चालन सम्बन्धी कार्यविधी २०७५ बमोजिम सभासदस्यहरुसंग छलफल गरी २०७७ असार २९ गते सभा सम्पन्न गर्ने भन्दै गर्दा उपाध्यक्षसहितको टोलीले आफूमाथि आक्रमण गरी गाउँसभाबाट बाहिर निस्कन बाध्य बनाएर गरिएको गाउँसभाको निर्णय प्रमाणीकरणको बैधानिकता नहुने बताउनु भएको हो ।
गाउँसभाका अध्यक्ष समेत रहेका अध्यक्ष लिङदेनले असार २९ गते सभा सम्पन्न गर्ने भन्दै गर्दा उपाध्यक्ष गिरी, वडाध्यक्ष त्रिलोचन सापकोटा, कार्यपालिका सदस्य सागर पोर्तेल महेश मेचे, लगायतले बुधवार गाउँसभास्थलमा लछार–पछार र सांघातिक आक्रमण गरेको अध्यक्ष लिङदेनले बताउनु भयो । उपाध्यक्षसहित सभाहलमा भएका नेकपाका परिषद सदस्यले आफूलाई आक्रमण गर्न थालेपछि बचाउन गएका वडा नं.–४ का वडाध्यक्ष होम चुडाल, ५ का शेरबहादुर नेम्वाङ, वडासदस्य मदन तामाङमाथि पनि आक्रमण भएको उहाँले जानकारी दिनुभयो ।
अल्पमतमा रहेका सभासदस्यहरुले नीति, कार्यक्रम तथा बजेट बाँडफाँडबारे अध्ययन गर्न पाउनुपर्ने भनिरहँदा नेकपाका प्रतिनिधिले भने बहुमतका आधारमा बलमिच्याई गर्न खोजिएको भन्दै कानुनको बर्खिलाप हुने गरी गरिएको उक्त निर्णय मान्य नहुने लिङदेनको भनाई छ ।
‘ मिलेरै अघि बढौं भनेर अहिलेसम्म अल्पमतमा रहेका जनप्रतिनिधिको सराह्रनाबाट बहुमतले कहिले पनि सिक्न नचाहेको बताउँदै लिङ्देनले भन्नुभयो–‘बहुमत छ भनेर सधैं दम्भ राखे समस्या अझ बढेर जान्छ, अझै पनि मिलेर अघि बढ्नुपर्छ, त्यसका लागि बहुमत हुनेहरु तयार भएर आउनु पर्छ ।’
गाउँसभामा चारकोशे झाडीको उत्तर(जलथल) तर्फको आवादीबाट देउनिया खोलादेखि भूतेनी खोलासम्मको बाटोलाई द्रोणाचार्य मार्ग नामाकरण गराउने नेकपाको जबरजस्ती र उपाध्यक्षद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट अध्ययन नै नगरी पारित गर्नुपर्ने नेकपाका प्रतिनिधिको जबरजस्तीका कारण समस्या उत्पन्न भएको बताइएको छ ।

































































































