
दमक ११ असार । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दलित समुदायप्रति बिबादास्पद अभिब्यक्ति दिनु भएको छ । नगरपालिकाको हिजो असार १० गतेको नगरसभामा नगरप्रमुख ओलीले ‘दलित’ शब्द लेखिएकै कारण दलित समुदायका प्रतिष्ठान तथा भवनहरुमा अन्य जातिहरु नजाने गरेको भन्दै बिबादास्पद अभिव्यक्ति दिनु भएको हो ।
नगरसभामा नगरसभा सदस्य तथा वडा नं. ९ की दलित महिला सदस्य मीना विश्वकर्माले दलितवर्गको क्षमता अभिबृद्धिका लागि नगरपालिकाले कार्यक्रम ल्याउनु पर्ने र त्यसमा बजेट बिनियोजन गर्नुपर्ने माग गरेपछि त्यसको जवाफ दिँदै नगर प्रमुख ओलीले दलित शब्दलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नु भएको हो । दलित भवन भनेर सार्वजनिक भवन बनाईंदा त्यस्ता ठाउँमा अन्य जातिका मानिसहरु नजाने भएकोले दलित शब्दलाई हटाउनु पर्ने नगर प्रमुख ओलीले बताउनु भयो । दलित शब्द हटाएर सामुदायिक भवनहरु बनाएमा सबै समुदाय अट्न सक्ने भन्दै नगर प्रमुख ओलीले अन्य शिर्षककै बजेटबाट त्यस्ता कार्यक्रमहरु समेटिएको धारणा राख्नुभयो ।
दलित शब्द आफुहरुको पहिचान भएकोले यसलाई कसैले हटाउन नसक्ने नेपाल दलित संघ दमक नगर सभापति रणबहादुर बराईलीले बताउनु भयो । नगर प्रमुख ओलीको भनाईमा आफुहरुको आपत्ति रहेको भन्दै उहाँले शब्दले बिभेद नहुने भएकाले दलित शब्द हटाउनु भन्दा आफुमा रहेको बिभेदकारी सोच हटाउन नगर प्रमुख ओलीलाई सुझाव दिनुभयो । त्यस्तै दलित गैह्रसरकारी संस्था महासंघ प्रदेश १ नं. सचिव अमर बराईलीले पनि नगर प्रमुखको भनाई एकदमै अपमान जनक भएको बताउनु भयो । शब्द हटाउँदैमा समाजमा भैरहेको बिभेद अन्त्य नहुने भन्दै उहाँले शब्दको पछि लागेको आफुहरुको अपमान नगर्न नगर प्रमुखलाई चुनौती दिनुभयो ।

































































































