
झापा ६ असार । भारतमा चिनिया वस्तुहरु बहिष्कार गर्ने अभियान नै चलाइएको छ भने सरकारले पनि चिनियाँ उत्पादनमा कर बढाउने तयारी गरेको भारतीय सञ्चारध्यमले जनाएका छन् ।
गत सोमबार लद्दाखको पूर्वी गलवानमा चिनियाँ र भारतीय सैनिक आम्ने साम्ने हुँदा २० जना भारतीय सैनिकको ज्यान गएको सार्वजनिक भएपछि भारतभित्र चीनप्रति आक्रोश बढेको छ । उक्त आक्रोश कम गर्न कुनै न कुनै चीन विरोधी कदम चाल्नैपर्ने दबावमा भारतीय सरकार रहेको जानकारहरुको दावी छ ।
भारतले ३ सयवटा चिनियाँ वस्तुमाथि कर बढाउन लागेको भारतीय अधिकारीहरुलाई उद्वृत गर्दै बेलायतबाट प्रकाशित हुने ‘द गार्जियन’ले जनाएको छ । यद्यपी भारतीय मिडियाहरुले भने यो विषयमा कुनै सूचना प्रवाह गरेको छैन ।
चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीन र भारतबीच वर्षमा ८० अर्ब डलरको हाराहारीमा वैदेशिक व्यापार हुन्छ । अघिल्लो आर्थिक वर्ष भारतले चीनमा लगभग १६ अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको थियो भने ६४ अर्ब डलर बराबरको आयात गरेको थियो ।

































































































