
भद्रपुर ६ असार । कम्युनिस्ट राजनीतिमा नीति र सिद्धान्त बिर्सदै जाँदा पूँजीवादी प्रबृत्ति हावी हुँदै गएको भन्दै झापाली कम्युनिष्ट अनुयायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
झापाली वामपन्थी आन्दोलनका शिखर पुरूष द्रोणप्रसाद आचार्यको २७ औं स्मृति दिवसको अवसरमा चन्द्रगढीमा सम्पन्न कार्यक्रमका सहभागी बक्ताहरूले जनपक्षीय कार्य बिर्सेर बिलासी जीवनमा कम्युनिस्ट नेतृत्व अल्मलिँदा समाज पूँजीवादको भूमरीमा हराउँदै गएको बताउँदै चिन्ता व्यक्त गर्दै दुःखेसो पोखेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पूर्व सांसद पुष्पराज पोखरेलले ‘द्रोणाचार्यले बाँचुञ्जेल आफ्नो व्यक्तिगत घर नबनाइ जनताको घरवारका लागि राजनीतिक त्याग दिए तर उनका अनुयायी महलको ऐस आराममा अल्मलिएर कम्युनिस्टभित्र पूँजीवाद बढाइरहेका छन्’ भन्दै आक्रोस पोखे । पोखरेलले द्रोणाचार्य क्षेत्रीले निरंकुश पञ्चायतका बिरूद्ध लड्न काँग्रेस र कम्युनिस्ट मिलेर अगाडि बढ्ने नीति लिएको स्मरण गर्दै देश र जनताको भलाइका लागि सदनदेखि सडकसम्म गरेको संघर्षले जनपक्षीय नेता बनाएको सुनाए ।
द्रोणाचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षता तथा पूर्व सांसद पुष्पराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख टिका प्याकुरेल, नेकपा भद्रपुर नगर सहइञ्चार्ज नरेश सञ्जेल, नेपाली काँग्रेसका जिल्ला सदस्य तोया गड्तौला लगायतले मन्तव्य राख्दै आचार्य जनताका असल सेवक भएको स्मरण गरेका थिए । राजनीतिमा निष्ठा र इमान हराउँदै गएकोमा चिन्ता समेत व्यक्त गर्दै उनीहरूले जनताका पक्षमा उभिन नसक्ने जनप्रतिनिधि जनपक्षीय हुन नसक्ने औल्याएका थिए ।

































































































