
झापा ३२ जेठ । एकका लागि एक अभियानले नेतृत्व गरेको झापामा जनस्तरबाटै पिसिआर ल्याव स्थापनाका लागि साझेदार संस्था झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख सहयोगको प्रतिवद्धता आएको छ ।
संघको समन्वय र पहलमा विभिन्न सहकारी तथा सहकारी बैंक मार्फत अभियानलाई उक्त रकम प्रदान गरिने जिल्ला सहकारी संघका झापा अध्यक्ष गणेश ढकालले प्रतिवद्धता जनाउनु भयो । उहाँका अनुसार प्रतिवद्धता घोषणा गरेको दिन आइतबार जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रत्येक संस्थाले १÷१ लाख १÷१ हजार सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले १ लाख ५ हजार, पूर्व नेपाल बचत तथा ऋण सहकारी संस्थाले १ लाख १ हजार, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १ लाख १ हजार र पब्लिक बचत तथा ऋण सहकारीले १ लाख १ हजार रुपैयाँ पिसिआर ल्याव स्थापनार्थ अभियानलाई सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । जिल्ला सहकारी संघद्वारा आयोजित पिसिआर मेसिन खरिद र ल्याब स्थापनाका लागि सहयोगबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा उपस्थित उक्त सहकारीका प्रतिनिधिहरुले संस्थागत सहयोगको स्वघोषणा गरेका हुन् ।
सो अवसरमा एकका लागि एक अभियानले जनस्तरबाट स्थापना गर्न लागेको पिसिआर मेसिन खरिद र ल्याब परीक्षणका लागि ७० लाखको हाराहारीमा सहयोग जुटेको जानकारी दिनुभयो । कोरोना संक्रमण जोखिम न्युनिकरणका लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक हातमुख जोर्न गारो परेकालाई सहयोग गर्ने उद्देश्यले शुरु गरिएको एकका लागि एक अभियानमा सबैलाई हातेमालो गर्न आह््वान पनि गर्नुभयो । अभियान अन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको जानकारी दिंदै बस्नेतले
संसारभर रहेका झापाली र संघसंस्था तथा अन्य क्षेत्रका दाताहरुसँग सहयोगको अपिल समेत गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका रमेश पोखरेल, कृषि केन्द्रीय संघका उपाध्यक्ष मिनाकुमारी ढकाल, नेफस्कूनका केन्द्रीय सदस्य घनश्याम अधिकारी, अभियानका सल्लाहकार तथा नेपाल रेडक्रस झापाका सभापति लोकराज ढकाल लगायतले मन्तव्य राख्दै कोरोना परीक्षण बाहेकका अन्य विभिन्न खालका रोगहरुको समेत परीक्षण गर्न सकिने बहुपयोगी पिसिआर मेसिन स्थापना गर्नु झापाका लागि ठूलो उपलब्धि भएको बताउँदै त्यसका लागि सबैले आ आफ्नो ठाउँबाट सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सहसचिव भानु दंगालले स्वागत तथा सचिव युवराज ढकालले सञ्चालन गर्नुभएको थियो ।
ल्याब सञ्चालनका लागि यसअघि अन्तराष्र्टिय झापाली समाजले पनि ३० लाख रुपैयाँको हाराहारीमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
पिसिआर ल्याब स्थापना गर्न झन्डै एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ल्याब सञ्चालनको जिम्मेवारी लिन झापाका कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई अभियानले अनुरोध गरेको छ ।

































































































