झापा ३१ जेठ । १५ वटा स्थानीय तह रहेको झापाका १४ वटामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखा परेको छ । शनिवार (आज) शिवसतासी नगरपालिकाको जनता प्रावि क्वारेन्टिनमा बसेका एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै संक्रमण देखिएका स्थानीय तहको संख्या १४ पुगेको हो ।
शनिबार कोरोना संक्रमण देखिएका झापाका ५ जना मध्ये तीनजना गौरीगञ्ज तथा शिवसतासी र बाह्रदशीका १/१ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाँईले जानकारी दिनुभयो । यो संगै झापामा कोरोना संक्रमित हुनेको संख्या १७४ पुगेको छ ।
विर्तामोड नगरपालिका बाहेक सबै स्थानीय तहमा कोरोनाको संक्रमण देखिइसकेको छ । सबै भन्दा पहिले झापाको दमक नगरपालिकाको वडा नं–३ का एक पुरुषमा देखिएको कोरोनाबाट झापामा सबैभन्दा बढी संक्रमित कचनकवलमा देखिएका छन् । परीक्षणका लागि पठाएका नमूनाको रिपोर्ट अझै आउन बाँकी नै रहेकाले कचनकवलसहित अन्य ठाउँको पनि रिपोर्ट बढ्न सक्ने संभावना पनि यथावत नै रहेको देखिन्छ ।
१७४ संक्रमित मध्ये झापामा महिला संक्रमितको संख्या एकमात्र रहेको छ । गौरादह नगरपालिकाको एक क्वारेन्टिनमा रहेकी एक २२ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि हाल उनी उपचाररत छिन् । देशभर शनिबार २५३ जनामा संक्रमण पुष्टि भएसंगै देशभर कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
झापाका १४ स्थानीय तहमा कोरोना संक्रमण, देशभर ५३३५, मृतकको संख्या १८

































































































