
काठमाडौं ३१ जेठ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।
बैठकमा उपस्थित २५८ सबै सांसदले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयोे ।
सरकारले गत जेठ ५ गते पास गरेको नयाँ नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो भने नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न जेठ ९ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।
यसअघि संसदमा बोल्दै सांसदहरुले नक्सालाई व्यवहारिक उपयोगमा ल्याउने वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिए । सिमाका विषयमा सबै दलहरु एकै ठाउँमा उभिनुले नेपालको राजनीतिक सद्भाव र राजनीतिक संस्कृतिले उदाहरण प्रस्तुत गरेको बताउँदै वक्ताहरुले सकेसम्म वार्ता र संवादकै माध्यमबाट मिचिएको जमिन उपयोगको वातावरण बनाउनु पर्नेमा जोड दिंदै त्यसबाट संभव नभए अन्य विकल्प समेत अपनाउनु पर्ने उनीहरुको भनाई थियो ।
२०७६ कार्तिक १६ गते जारी नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेकसहित पश्चिम नेपालका केही भूभाग नक्सामा समेटेर जारी गरेपछि त्यसविरुद्ध नेपालमा प्रदर्शन चर्किन थालेको थियो भने कार्तिक २० गते परराष्ट्र मन्त्रालयले भारतले एकपक्षीय रुपमा निकालेको उक्त नक्सा अस्वीकार गरेको थियो । कार्तिक २१ गते प्रतिपक्षी कांग्रेका सभापति शेरबहादुर देउवाले भारतीय राजदूतको ध्यानाकर्षण गराउनु भएको थियो ।
२३ कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले लिम्पियाधुरा मुहान भएको काली नदी पूर्वको भू–भाग नेपालको भएको निष्कर्ष निकालेको थियो ।
कार्तिक २५ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्न निर्देशन दिएको थियो । त्यसयता नेपालमा कुनै न कुनै रुपमा सीमासम्बन्धी अभियान्ताहरू सरकारलाई खबरदारी गरिरहेका थिए ।
त्यसपछि सरकारले खासै महत्वका साथ अघि बढाउन नसकेको मुद्दा बनिरहेको सिमाका बारेमा भारतले लिपुलेखमा नेपाली भूमि अतिक्रमण गरेर मानसरोबर जाने सडक निर्माण गरी उद्घाटन नै गरेपछि सिमाको विषयमा सडक निरन्तर प्रदर्शन हुँदै आएको छ ।

































































































