
झापा २१ जेठ । आज छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको दिन । पश्चिम नेपालको रुकुममा घटेको एउटा घटनालाई लिएर देशभर दलित समुदाय आन्दोलनमा छन् । संविधानले जातिय विभेद गर्न कानूनतः बर्जित गरेको भएपनि रुकुमको चौरजहारीमा दलित समुदायका केटा र उपल्लो जातकी केटीको विषय लिएर ५ जनाको हत्या र एकलाई वेपत्ता पारिएको घटनालाई लिएरे देशभरका दलित समुदाय आन्दोलनमा उत्रिएका हुन् ।
छुवाछुत दिवसकै दिन पारेर बुधबार झापामा पनि दलित समुदायले बृहत प्रदर्शन गरेका छन् । श्रद्धाञ्जली तथा खबरदारी सभाको नाम दिएको प्रदर्शनमा बोल्ने अधिकांस वक्ताले रुकुम घटनाले नेपालमा छुवाछुतको अवस्था कस्तो छ भन्ने कुरा विश्वसामु उदाङ्गो पारेको धारणा राखेका थिए ।
विर्तामोडको दुर्गामन्दिरबाट जातिय विभेद र छुवाछुत विरुद्धका नारा लिएर निस्किएको र्यालीले नगर परिक्रममा गरी इलाम ट्याक्सी स्टेनको दक्षिणतर्फ पुगेर सभामा परिणत भएको थियो ।
सभालाई प्रदेश सांसद झलकसिंह दर्लामी, जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल, नेकपाका जिल्ला सचिव मणिकुमार साङपाङ (विजय), नेपाली कांग्रेसका जिल्ला सदस्य जलकुमार गुरुङ, राप्रपाका केशव ओझा, मानवअधिकारकर्मी डा. रुपक खनाल, हस्त परियार, श्याम ल्यागुन, काँशी खाती, सुरेस बराइली, टिकाराम मंग्राती, राजकुमार बराइली लगायतले मन्तव्य राख्दै रुकुम घटनाले विभेद विरुद्धको आन्दोलन अब दलितको मात्र नरहेको बताएका थिए ।

केही दिन अघि जाजरकोटबाट रुकुममा केटी लिन गएका नवराज विकसंगै गएका उनका दलित तथा गैह्रदलित समेतको नरसंहार भएसंगै विभेद विरुद्धको आन्दोलनमा अन्य समुदायले पनि ज्यान गुमाएको उल्लेख गर्दै वक्ताहरुले ६ जनालाई नै सांस्कृतिक शहिद घोषणाको माग गरेका छन् । मल्ल थरकी छोरी भगाउन गएका नवराज विकको परिवारले न्याय पाउनु पर्नेमा उनीहरुको जोड थियो ।
दलित भएकै कारण केटी लिन गएकाहरुको सामुहिक हत्या नरसंहारकारी हुनुका साथै दलित सम्बन्धी बनेका कानून तथा अन्तराष्ट्रिय रुपमा बनेको जातिय विभेद विरुद्धको कानून र नेपालको संविधान विपरित भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।मुलुकमा परिवर्तनका लागि भएका आन्दोलनमा दलित समुदायको पनि उत्तिकै शसक्त भूमिका रहेको उल्लेख गर्दै वक्ताहरुले घटनालाई राजनीतिक रंग दिएर अन्यत्र मोडिए त्यो सैह्रय नहुने धारणा राखेका थिए ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिका अध्यक्ष हुकुमसिंह नेपालीको अध्यक्ष, सचिव छविलाल विश्वकर्माले सञ्चालन गरेको सभामा स्वागत गोपाल गजमेरले गर्नुभएको थियो ।

































































































