
झापा २८ बैशाख । नेपाल–भारत सीमाको ११२ नम्बर पिल्लर मेची नदीले सिमाना छुट्याएको झापा जिल्ला अन्तरगतको अन्तिम पिल्लर हो । त्यस उता सिमानाको प्रकृति फरक छ । जहाँ सामान्य बाटो र स–साना पिल्लरहरुले सिमानाको निर्धारण गर्छन् । अर्थात दुईदेशबीच सिमाना खुल्ला छ । त्यही खुल्ला सिमानाका कारण कहिले काँही चोरी–तस्करी, अपराध, लुटपाट जस्ता समस्या पनि आउने गरेका छन् ।
दक्षिणी सीमा क्षेत्रमा नेपाली र भारतीय नागरिकबीच खेतिपातीको अलग्गै सम्बन्ध पनि छ । नेपाली नागरिकको नाममा रहेको नेपाली जमिनमा भारतीय नागरिकले लिज, ठेक्का वा अधियाँ बन्दोबस्तीमा झण्डै एकहजार विगाहा बढि जमिनमा अहिले पनि भारतीय नागरिकले बाली लगाएका छन् ।
कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि नेपाल र भारत दुवैतर्फका नाका लकडाउनकै अवस्थामा रहेपनि सामान आयात निर्यातका लागि आइतबारदेखि मुख्य सीमानाका केही खुकुलो पारिएको छ भने अन्य क्षेत्रबाट आवागनमा रोक लगाइएकै अवस्था छ । यस्तो अवस्थामा आवागन नियन्त्रणका लागि बाक्लै सुरक्षाकर्मी खटाइएको छ ।
तर पनि भारतीय नागरिकले नेपाली भूमिमा लगाएको बाली रेखदेख र पाकेको बाली भित्र्याउने बेलामा आवत जावत नियन्त्रण कठिनाई देखिएको छ ।
कोरोना संक्रमण जोखिम न्यूनिकरण नियन्त्रण प्रयोजनका लागि सरकारले बाक्लै रुपमा अस्थायी पोष्ट स्थापना गरी सुरक्षाकर्मी परिचालन गरेसंगै सिमानामा हुने अनुचित आवागमन नियन्त्रण भएपनि खुल्ला सिमाना नियन्त्रण नै चुनौति रहेको संघीय सांसद राजेन्द्र लिङदेनले बताउनु भयो ।
दशगजा वारीपारीका सयांै विगाहा जमिन लिजमा लिएर भारतीयले खेति लगाएका कारण भारतीयहरु जबरजस्ती आउन खोज्ने कुराको समाधान खोज्नुपर्ने बताउँदै सांसद लिङ्देनले भन्नुभयो–‘बालीको बालीको रेखदेख गर्न र थन्क्याउने लोभमा भारतीयहरु जबरजस्ती आउन खोज्छन्, त्यसलाई समन्वय गरेर समाधान गर्नुपर्छ ।’
महामारीका बेला आवागमनका हिसाबले दुईदेशको सिमाना संवेदनशील क्षेत्रका रुपमा रहेको प्रदेश सांसद बसन्त बानियाँले बताउनु भयो । तर सीमावर्ती वारीको जमिनमा पारीका मानिसले गरेको खेति पाक्ने समय भएकाले त्यसको समाधान खोज्न जरुरी रहेको बताउँदै सांसद बानियाँले भन्नुभयो –‘अहिलेको परिवेशमा यो समस्या छ, पाकेको बाली उठाउन नपाए, फेरि अर्को बाली लगाउ मान्दैनन्, त्यस्तो भए उत्पादनशील जमिनको ठूलो हिस्सा बाँझैं रहन्छ, त्यसले धेरै नेपाली असर पुर्याउँछ ।’
सांसद बानियाका अनुसार झापा क्षेत्र नं.–३ मा लगभग एकहजार विगाहा नेपालीको स्वामित्वमा रहेको जमिन, अधियाँ, ठेक्क वा लिजमा लिएर सिजनल खेति गर्दै आएका छन् । दशगजा आसपास र त्यसभन्दा अलि भित्र बस्तीमा पनि भारतीय नागरिकले खेति गरेको सांसद बानियाँले बताउनु भयो । उहाँका अनुसार सीमावर्ती क्षेत्रमा भारतीयले अधियाँ, ठेक्का र लिजमा लिएर आफैं खेति लगाउने गरेका छन् भने अर्को पाटो नेपालीहरुले गरेका खेतिमा पनि मजदुरका रुपमा भारतीय नागरिकलाई नै खेताला लगाउने गरिएको छ । त्यसो त बाली हेर्न थन्क्याउन आवागमन सहज नभएसंगै कचनकवलको सीमावर्ती क्षेत्रका नेपालीका घरमा चोरी हुन थालेको स्थानीयले बताएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सीमामा सुरक्षाकर्मी परिचालन गरिरहेकै अवस्थामा एकहप्ता यता स्थानीय दुई घरमा चोरी भएको र चोरीमा भारतीय नागरिककै संलग्नता रहेको उनीहरुले बताएका छन् ।
बाली काट्न वा निकाल्न आउन पर्यो भन्ने कुराले समस्या ल्याइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनु भयो । उहाँले भन्नुभयो–‘इन्डियन मानिसहरुले नेपाली जमिनमा लगाएका मान्छेहरुले बाली पाक्ने सिजन हुँदै गर्दा बाली लान पाउनु पर्यो, बाली निकाल्न पाउनु पर्यो भन्ने कुराले दिनै पिच्छे समस्या ल्याउँदै गरेको छ ।
केही दिन अघि १२० नम्बर पिल्लरको एरियामा विवाद आएको जानकारी दिंदै प्रहरी प्रमुख कोइरालाले उक्त विवाद दुवैतर्फका सुरक्षाकर्मीले छलफल गरेर समाधान गरेको सुनाउनु भयो ।
आफ्नो काम मान्छे छिर्न नदिने भएको बताउँदै प्रहरी प्रमुख कोइरालाले भन्नुभयो–‘बालीका सम्बन्धमा समन्वय गर्ने काम स्थानीय तहको हो, उहाँहरुले कसरी गर्नुहुन्छ त्यो उहाँहरुको कुरा हो, हाम्रो काम भनेको आउन नदिने हो, रोक्ने हो ।’

































































































