लामो समय स्कूल छुट्टी भएसंगै अभिभावकलाई आफ्ना बालबच्चा विग्रिने हुन कि भन्ने त्रास हुन्छ । स्कूलमा पढ्ने, लेख्ने, खेल्ने, चित्र बनाउने जस्ता कार्यमा व्यस्त हुने बालबच्चाहरु स्कूल बिदा हुने वित्तिकै अभिभावकसंग रमाइला ठाउँहरु घुम्ने, आफन्तकोमा जाने, साथी साथी भेटघाट गर्ने, साथीको घर जाने गर्थे । तर, यो पटकको स्कूल छुट्टीको कहर बेग्लै छ ।
न त बालबालिकाले बाहिर निस्केर कुद्न पाउँछन् । न त अभिभावकले नै । यस्तो बेला के गर्ने भन्ने चिन्ता कतिपय अभिभावकमा थपेको छ । कति बालबालिकाले मोवायल टेलिभिजनमा दिन विताउने गरेका छन् । धेरै समय मोवायलमा खेल्नु हानिकारक मानिन्छ ।
यस्तो बेला के गर्ने त ?

विर्तामोड–२ की उर्मिला ढकाल पोखरेल आफ्नी छोरीलाई भान्साको काम सिकाउन थालेको बताउँछिन् । दुई छोरी र एकछोराकी आमा उर्मिलाकी ठूली छोरीलाई समयमै नसिकाएका कारण अहिले पनि भान्साको काम गर्न गारो हुने देखेपछि कान्छि छोरीलाई अहिलेदेखि नै सिकाउन थालेको बताउँदै भन्छिन्–‘छुट्टी लामो छ, काम गर गर भन्दा अलि गारो जस्तो मान्छिन् तर, बानी लगाउँदैछु ।’ उनकी कान्छि छोरी विर्तामोडस्थित बाल्मीकि स्कूलमा कक्षा–७ मा पढ्दै छिन ।
कोरोना भाइरसका कारण विद्यालय १ महिनाका लागि छुट्टि भएपछि उनी आमासंग भान्साको काम सिक्दैछिन् ।
विर्तामोड–५ का श्रेयस थापा र निर्भिक बरालको दिन केही गर्दा जाँदैन रे, विहानको दैनिकीपछि टेलिभिजन हेर्ने, मोवायलमा गेम खेल्ने, घरको छत मै फुटबल खेल्ने, ड्रोइङमा कलर गर्ने जस्ता कार्य गर्ने गरेको उनीहरु बताउँछन् । अर्जुनधारा–८ स्थित प्रगति बोडिङमा अध्ययन गर्ने उनीहरुको पनि स्कूल छुट्टी छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा पनि संक्रमण देखिएको छ । उक्त संक्रमणलाई फैलन नदिन देश लकडाउनको अवस्थामा छ । त्यसैले बालबालिकालाई कसरी दिन विताउने भन्ने चिन्ता छ । तर यो बेला बालबालिकालाई नेपाली संस्कार, संस्कृति, भेषभूषा लगायत रचनात्मक काममा लगाउन सकिन्छ ।
जातीय परम्परा मौलिक संस्कृति, संस्कार र भेषभूषाको महत्वबारे सिकाउने ।
आफ्ना पिता–पूर्खाहरुको नाम सिकाउने ।
हाम्रा परम्परागत खानाका बारेमा जानकारी दिने ।
रचनात्मक काम ः नक्सा बनाउन, त्यसमा रंग भर्न लगाउने
भान्साको काम सिकाउनुका साथै वेडरुममा कपडा मिलाउने, तन्ना मिलाउने, आफ्नो कपडा धुन सिकाउने, फुल रोप्न, गोड्न र पानी हाल्न सिकाउने ।
यसका अतिरिक्त बच्चाहरुको उमेर अनुसार धेरै कामहरु सिकाउन सकिन्छ ।
































































































