
काठमाडौं १ चैत । दोस्रो पटक मिर्गौला ट्रान्सप्लान्टका लागि त्रिवि शिक्षण अस्पतालबाट बालुवाटार फर्कनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल नियमित भेटघाट र बाहिर हिँडडुल गर्न नमिल्ने चिकित्सकले बताएका छन् ।
धेरैसंग भेटघाट गर्दा संक्रमण हुन सक्ने जोखिमका कारण तत्काल प्रधानमन्त्री ले नियमित भेटघाट र बाहिर हिड्डुल गर्न नमिल्ने ओलीको उपचारमा संलग्न चिकित्सक प्रा.डा. उत्तम शर्माले बताउनु भयो । उहाँका अनुसार चिकित्सकको प्रत्यक्ष निगरानीमा रहँदा प्रधानमन्त्रीले आवश्यक सतर्कताका साथ नियमित काम गर्न सक्ने छन् ।
अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले आकस्मिक समस्या नदेखिए सामान्य त एक सातामा नै फलोअपका लागि अस्पताल जानुपर्ने भएपनि अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख डा. दिव्या सिंह शाह साथै प्रधानमन्त्रीको निजी चिकित्सक रहनु र ओली बालुवाटारमा नै चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रहने बताइएको छ ।
विषेश इन्भेस्टिगेसन गर्नुपर्ने भए मात्र प्रधानमन्त्री अस्पताल आउनसक्ने अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले बताउनु भयो । फागुन २१ गते दोस्रो पटक मिर्गाैला ट्रान्सप्लाण्ट गरिएका प्रम ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् ।

































































































