झापा २१ फागुन । भ्रष्टाचार, बेतिथी, लुटतन्त्र र राज्य आतंकका विरुद्ध संयुक्त राष्ट्रिय नागरिक आन्दोलनको घोषणा गर्दै सचेतना मुलक अभियान सञ्चालन गरिरहेको नेपालका लागि नेपाली अभियानले व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि कडा भएर उभिने प्रतिवद्धता जनाएका छन् ।
अभियान्ताहरुले विर्तामोडस्थित रिपोटर्स क्लबको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।
पत्रकार भेटघाटमा अभियानका झापा संयोजक महेन्द्रप्रसाद प्रसाईले राम्रो ठाउँमा बसेर ठूला कुरा गर्दैमा भ्रष्टाचारको अन्त्य नहुने बताउँदै आफूलाई भ्रष्टाचार विरोधी बताउने नागरिकलाई एक हुन आग्रह गर्नुभयो ।
संचारकर्मी रवि लामिछानेको नाम लिंदै लिएर उहाँले सडकमा आएर भ्रष्टाचार र वेथिती विरुद्ध संघर्ष गर्न चुनौति दिनुभयो । चितवन प्रहरीले नियन्त्रणमा लिएका रविको समर्थनमा चितवनमा आफूहरुसहित आम जनता सडकमा नउत्रेको भए छुट्न कठिन रहेको प्रसङ्ग उल्लेख गर्दै प्रसाईले भन्नुभयो–‘भ्रष्टाचार विरुद्ध लड्न टाइसुट लगाएर मात्र संभव छैन, युट्युव र मिडियामा कराएरमात्र भ्रष्टाचार विरुद्धको अभियान सफल हुँदैन त्यसका लागि सडकमै आउनुहोस् ।’ वर्तमान सरकार काण्डै काण्डले जेलिएको बताउँदै भ्रष्टाचार विरुद्ध एकजुट भएर सडक संघर्ष थाल्नुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।
अभियानका झापा सहसंयोजक योगेन्द्र खनालले हिजो जनताका अधिकारका मुद्दा उठाएर सत्तामा पुगेकाहरुले आज करको दर बढाएर जनता लुटिरहेको दावी गर्नुभयो । ‘हिजो सडकमा चप्पल पड्काउनेहरु आज ५० औं लाखको गाडी चढ्ने अवस्थामा कसरी पुगे ?’ उहाँले भन्नुभयो–‘हामी राजनीतिक दलका विरुद्ध होइन राजनीतिक दलालका विरुद्ध संघर्षमा छौं ।’ राष्ट्र राष्ट्रियता र सामाजिक एकताका लागि संघर्षमा जुट्ने बेला आएको उहाँको भनाई थियो ।
अर्का अभियान्ता लक्ष्मीप्रसाद अधिकारीले व्यक्तिगत स्वार्थ राखेर अभियानमा लागेकाहरुलाई कारवाही गरिसकिएको जानकारी दिंदै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको पक्ष र कालोबजारी, घुसखोरी, कमिसनतन्त्र र वेथितीका विरुद्ध आफूहरुको अभियान केन्द्रीत रहेको जानकारी दिनुभयो ।
अभियानलाई प्रभावकारी बनाउन झापा, दाङ, सुर्खेत, चितवन, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा सदस्यता वितरण कार्य अघि बढाइएको बताउनु भयो । स्वदेशी अस्पताललाई विश्वास गरेर स्वदेशमै उपचार गराउने प्रधानमन्त्रीको सोच सकारात्मक रहेको टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीको जन्मोत्सवमा काटिएको केक विषयमा प्रधानमन्त्री ओलीलाई विपक्षी बनाइ अभियानले टेकु प्रहरीमा उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको उहाँको भनाई थियो ।
रविलाई भ्रष्टाचार विरुद्ध सडकमा आउन चुनौति

































































































