झापा २८ पुस । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पानीजहाज र रेल कुदाउने झुटो आश्वासन बाँडेर समृद्धिको सपना नदेख्न सरकारलाई सुझाव दिनु भएको छ ।
नेपाल प्रेस युनियन झापाद्वारा विर्तामोडस्थित होटल हेवन ग्रान्डमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महामन्त्री कोइरालाले युवालाई आकर्षित गर्ने र कृषि केन्द्रीत ठोस योजना ल्याएर उत्पादन बढाउन सुझाव दिनुभएको हो । पानी जहाज र रेलबाट निर्यात गर्ने उत्पादन नै नभएको बताउँदै उहाँले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भन्नुभयो–‘नारायणीमा ढुङ्गा चलाएर पानी जहाजको सपना नदेख्नुहोस्, पानीजहाजबाट निर्यात गर्ने उत्पादन खै ?’
बहुमत प्राप्त कम्युनिष्ट नेतृत्वको सरकारले दुई वर्षमा कुनै उदाहरणीय काम गर्न नसकेको आरोप लगाउँदै उहाँले वर्तमान सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको टिप्पणी गर्नुभयो । सरकार मिडिया काउन्सिल, सूचना प्रविधि लगायतका विभिन्न विधेयकमार्फत नागरिकका अधिकार खोसेर निरंकुशतातर्फ उन्मुख भएको उहाँको भनाई थियो । ‘लोकतान्त्रिक संविधानको संरक्षण गरेर अघि बढ्नुपर्नेमा कम्युनिष्ट सरकार संविधान भन्दा माथि गएर अघि बढ्न खोजेको आरोप लगाउँदै कोइरालाले भन्नुभयो–लोकतन्त्रमा प्रेसलाई स्वतन्त्र छोडिनुपर्ने हो यो लोकतान्त्रको नम्स पनि हो, तर सरकार संविधानका प्रावधान विपरित प्रेसलाई कुण्ठित गर्ने कानून ल्याउने प्रयत्नमा छ ।’
कांग्रेस नेतृत्वकै सरकारले ल्याएको लोकतान्त्रिक संविधानको रक्षा गर्नु नेपाली कांग्रेसको मुख्य दायित्व रहेको बताउँदै कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद र कांग्रेस सत्तामा नहुँदा लोकतान्त्रिक पद्धतिमाथि नै आक्रमण भइरहेको धारणा राख्नु भयो ।
कांग्रेसभित्र नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दावी समेत गर्नुभयो ।
देश र पार्टी सञ्चालनका लागि पार्टी सभापति शेरबहादुर देउवासंग कुनै सपना नभएको बताउँदै कोइरालाले भन्नुभयो–‘शेरबहादुरजीले पार्टी सभापतिको भूमिका निर्वाह गर्नु भएन, बरु सभापति भएर पनि गुटलाई मात्र लिएर हिड्नु भयो ।’
रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच भएको छलफलपछि पार्टीका विवाद समाधान हुनेमा विश्वस्त रहेका कोइरालाले महाधिवेशनको मितिप्रति भने कुनै टिप्पणी गर्नुभएन ।
पत्रकार भेटघाटमा कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रियसभा कांग्रेस संसदीय दलका सचेतक सरिता प्रसाईले बहुमतिय कम्युनिष्ट सरकारले प्रतिनिधिसभालाई बन्धक बनाएको प्रति आपत्ति जनाउँदै सूचना प्रविधि विधेयकमार्फत नागरिक सर्वोच्चता माथि प्रहार गर्न सरकार उद्यत रहेको बताउनु भयो ।
अर्का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीले बलियो सरकार भएर पनि देशलाई समृद्धितर्फ डोर्याउन नसकेको आरोप लगाउँदै सरकार कम्युनिजमतर्फ अघि बढेको टिप्पणी गर्नुभयो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा स्वागत कृष्ण हुमागाँई र सञ्चालन राजेन्द्र गौतमले गर्नुभएको थियो ।
सो अवसरमा कांग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेल, सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे, जिल्ला पार्टी प्रवक्ता लोकराज ढकाल लगायतको उपस्थिति रहेको थियो । कांग्रेस नेता हर्कलाल गिरीकी श्रीमति विनु गिरीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न नेताहरु झापा आइपुगेका हुन्
झुटो आश्वासन दिएर सपना नबाँड्न सुझाव

































































































