झापा २० पुस । विर्तामोडका डि.एस.पी. मोहनकुमार थापाले प्रहरीले पेशाप्रति कर्तव्य निष्ठ र इमान्दारिताका साथ कसैको प्रलोभन र दवावमा नपरी काम गरे ९० प्रतिशत अपराध नियन्त्रणमा आउने बताउनु भयो ।
ए.वी.सी. नेपाल झापा शाखा, लायन्स क्लव अफ विर्तामोड लेडी र लियो क्लवद्वारा जयेन्द्र प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित सम्मान तथा विदाई कार्यक्रममा बोल्दै डि.एस.पी. थापाले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै थापाले बेश्याबृत्ति हुने नेपालका मुख्य ठाउँमध्ये विर्तामोड पनि एक रहेको अनुसन्धानका क्रममा आफूले पाएको जानकारी दिंदै त्यस्ता गलत कार्य रोक्ने कुरामा प्रहरीलाई सहयोग गर्न महिलाहरुलाई आग्रह पनि गर्नुभयो । थापाले भन्नुभयो–‘वेश्याबृत्ति हुने मुख्य पाँच ठाउँमध्ये विर्तामोड पनि पर्नसक्छ, यसले राम्रो सन्देस जाँदैन त्यस्ता गतिविधि रोक्न जरुरी छ ।’ अझै पनि घरेलु हिंसाका घटना बढिरहेको र त्यस्ता घटनाको कारक घरेलु मदिरा र लागु औषध रहेको थापाको भनाई थियो ।
अपराध नियन्त्रणका लागि केही अनुसन्धानात्मक कार्य सुरु गरेपनि त्यसले पूर्णता नपाउँदै अन्यत्र जानु परेको बताउँदै थापाले अपराध नियन्त्रण गर्न सहज होस भन्ने उद्देश्यले घर भाडामा बस्नेको लगत संकलन कार्यको थालनी गरेको जानकारी समेत दिनुभयो ।
नेपाल प्रहरी भित्र अनुसन्धानका क्षेत्रमा सफल अधिकृतका रुपमा रहेका थापाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको हो ।
कार्यक्रम संयोजक आरती श्रेष्ठको सभापतित्वमा सम्पन्न सम्मानसहित विदाई कार्यक्रममा एवीसी नेपाल र लायन्स क्लव अफ विर्तामोड लेडीले सम्मान पत्र प्रदान गरेका थिए । नम्रता ढकालले सञ्चालन गरेको कार्यक्रममा स्वागत देवीका बस्नेतले र धन्यवाद ज्ञापन कञ्चना ढकालले गर्नुभएको थियो ।
हिंसाको मुख्य कारक मदिरा र लागु औषध

































































































