दमक फागुन । सरकारी जागिर छोडेर राजनीति र समाजसेवालाई रोज्दै त्यहीभित्र आफ्नो भविष्य खोजिरहेकी छिन्–झापा दमक निवासी मन्धरा चिमरिया पौडेल । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–५ का लागि प्रत्यक्ष उम्मेद्वार बनेकी मन्धरा २०४५ सालमा नेपाली कांग्रेसको सदस्यता औपचारिक रुपमा ग्रहण गरेर पार्टी संगठनमा आबद्ध भइन् ।
ताप्लेजुङ जिल्लाको तत्कालीन सिकैजा गाविस वडा नं–४ मा बुवा लालबहादुर र आमा गोमा चिमरियाको कोखबाट २०१९ सालमा जन्मिएकी मन्धरा झापा दमक निवासी राजेन्द्रकुमार पौडेलसँग विवाह बन्धनमा बाँधिएपछि झापालाई कर्मथलो बनाउँदै आएकी छन् ।
एसएलसीसम्मको शिक्षाध्यायन गरेकी उनले १४–१५ बर्षसम्म मुखियाको जागिर खाइन् । तर जागिरभन्दा नीति निर्माण गर्ने राजनीति र समाजसेवातर्फ जब उनको मन मोडियो–२०५१ सालमा जागिर छोडेर पूर्ण रुपमा आफ्नो रोजाइको क्षेत्रतिर प्रवेश गरिन् ।
पदीय दायित्वमा रहेर वा नरहेर पनि निरन्तर पार्टीका सांगठनिक गतिविधिमा सक्रिय उनले नेपाल महिला संघ दमक नगर समितिको अध्यक्ष, ५ नम्बर क्षेत्रीय सदस्य हुँदै दुई कार्यकालसम्म जिल्ला सदस्यको जिम्मेवारी संहालिन् । पार्टीको १४ औं महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भइन् ।
विभिन्न सामाजिक संघसंस्थामार्फत राजनीति सँगसँगै समाजसेवा गर्दै समुदायसम्म जोडिएकी मन्धरा राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य, निम्स नेशनल अस्पताल दमककी उपाध्यक्ष, मेडीम्याक्स हस्पिटल गौरादहको संयोजक, प्रादेशिक सामुदायिक अस्पताल दमकको अध्यक्ष, जनचेतना महिला संघ दमकको संस्थापक अध्यक्ष, पशुपति संस्कृत मावि दमक–शिक्षक–अभिभावक संघ सदस्य लगायत दर्जनौ सामाजिक संघसंस्थामा आबद्ध छिन् ।
त्यसो त दमकमै अनाथ बाल आश्रम स्थापना गरी अनाथ बालबालिकाकी ‘आमा’ बनिरहेकी उनले दर्जनौं सामाजिक संघसंस्थाहरुमा तन, मन, बचन, धन र कर्मले सहयोग गर्दै आएकी छन् ।
गौरवान्वित इतिहास, वर्तमानमा जिम्मेवारी बोध र उज्यालो भविष्यका लागि १० भिजन सार्वजनिक गर्दै समृद्ध नेपालको परिकल्पना गरेको कांग्रेसले समावेशी सहभागितालाई उत्तिकै प्राथमिकतामा राखेको छ । समानुुपातिक कोटामार्फत मात्रै महिला कोटा पूरा गर्ने अन्य दललाई चुनौति दिदै कांग्रेसले ११ जना महिला उम्मेद्वार प्रत्यक्ष प्रतिष्पर्धामा उतारेको छ । तीमध्ये एक हुन् मन्धरा, जो हेविवेट एवं प्रस्तावित प्रधानमन्त्रीको रुपमा प्रतिष्पर्धामा रहेका नेकपा एमाले अध्यक्ष के.पी. शर्मा ओली र रास्वपाका बालेन्द्र शाहसँग प्रतिष्पर्धामा छन् । उनीसँगै झापा–५ मा २४ जना उम्मेद्वार प्रतिष्पर्धामा छन् । जेन–जी विद्रोहताका २०८२ भदौ–२३ र भदौ–२४ को दुवै घटनासँग जोडेर आरोप–प्रत्यारोप गरिरहेका प्रतिष्पर्धीका विचबाट मन्धरालाई चयन गरे यहाँका जनताको भविष्य उज्यालो हुने दमकका मतदाता बताउँछन् । राजनीति सँगसँगै समाजसेवीको छवीसहित चुनावी प्रतिष्पर्धामा छन्–मन्धरा ।
सांगठनिक एवं सामाजिक सेवामार्फत समाजमा राम्रो घुलमेल रहेकी मन्धराले शैक्षिक क्षेत्र सुधार, भौतिक पूर्वाधार र सहरी विकास, कृषि तथा आर्थिक विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, विकास निर्माण, युवालाई रोजगारी, महिलाको सशक्तीकरण, विभिन्न जातजाति, भाषाभाषीहरुको धर्म, संस्कृति, संस्कार, भेषभूषाको संरक्षणका लागि संग्रहालय निर्माण, आदिबासी÷जनजाति रंगशालाको पूर्णता, सुकुम्बासी एवं अब्यवस्थित बसोबासीको ब्यवस्थापनमा पहल गर्ने मन्धराका प्रमुख प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।
पार्टीभित्रको नीति र नेतृत्व बदलेर देश बदल्ने अठोटसहित चुनावी प्रतिष्पर्धामा होमिएको नेपाली कांग्रेसले देश निर्माणका १० भिजन सार्वजनिक गरिसकेको छ । सम्मानित नेपाली भएर बाँच्न पाउने, सपना देख्न सक्ने, सम्पत्ति र रोजगारी सृजना, समृद्ध नेपाल र देशलाई चिनाउने किसानको देश, ओखती र ओत दिने, छोराछोरी पढाउन आर्थिक भार नपर्ने, वेथिति र हैरानीमुक्त, मौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्न सक्ने स्वाभिमानी नेपाल, समुन्नतिमा लम्कने नेपाल लगायतका १० भिजन कार्यान्वयनसँगै स्थानीयस्तरका आवश्यकतालाई समेटेर मन्धराले प्रतिबद्धतापत्र सार्वजनिक गरेकी हुन् ।
जसमा विद्यालयहरुको भौतिक संरचना सुधार गरी एक वडा एक नमूना विद्यालय, प्रविधिमैत्री प्राविधिक शिक्षा र रोजगारी, विपन्न परिवारका विद्यार्थीका लागि निर्वाचन क्षेत्र विशेष छात्रबृत्ति कोष, संविधानप्रदत्त निःशुल्क शिक्षा लागु गर्न पहल गर्दै दमक बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने उनका शैक्षिक योजना छन् ।
यसैगरी दमकको बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न चक्रपथ निर्माणलाई पूर्णता दिन , दमक, कमल, गौरादहको प्रस्तावित औद्योगिक पार्क निर्माण कार्यलाई स्थानीय अनुकुल बनाएर रोजगारी सिर्जना गर्दै मुआब्जाका लागि पहल गर्ने, दमक क्षेत्रमा आधुनिक ढल निकास र ब्यवस्थित फुटपाथसहितको सडक निर्माण, रतुवा, मावा र कमल खोलामा तटवन्धनसहित स्थानीयको आवश्यकता अनुसार विभिन्न स्थानमा पूल निर्माणका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।
दमकस्थित कृृषि बजारलाई ब्यवस्थित गर्दै ‘फार्म टु मार्केट’ अवधारणा, शीत भण्डार निर्माण, अन्य स्थानीय बजारहरुको स्तरउन्नति र विकास, चक्लावन्दी खेतीमा प्रेरित गर्दै सहुलियत दरमा विद्युत उपलब्ध, कृषिजन्य उद्योग स्थापना लगायतका कार्यमा पहल गर्ने मन्धराले बताइन् ।
सुकुम्बासी तथा भूमिहिनहरुको ब्यवस्थापनका लागि प्रभावकारी भूमिका खेल्ने, दमक सरकारी अस्पताललाई विशिष्टीकृत अस्पतालमा स्तरउन्नति गर्ने, धिमाल जातिलाई ‘प्रथम जाति’को रुपमा अधिकार दिलाउन, धिमाल जातिको आस्थाको केन्द्र महाराज थान, र ग्रामथानको सौन्दर्यीकरण र संरक्षण, आदिवासी, जनजाति लोपोन्मुख समुदायको भेष–भूषा, गर–गहना र इतिहास झल्किने संग्रहालय निर्माण, यही समुदायका युवा एवं विपन्न नागरिकको लागि स्वरोजगार कार्यक्रम, लोकसेवा तयारी कक्षा, प्राविधिक शिक्षामा विशेष छात्रबृत्ति ब्यवस्था गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।
‘दमक–रवि–फाल्गुनन्द मार्ग, आदिबासी रंगशाला निर्माण यस क्षेत्रको समृद्धिका लागि भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी योजना कार्यान्वयन र जनसहभागितामूलक विकास नै मेरो मुख्य संकल्प हुनेछ’–मन्धराले भनिन–‘–विपन्न नागरिकको लागि स्वरोजगार कार्यक्रम राज्यबाट लागु गर्न पहल गर्छु ।’
झापाको दमकका १० वडा, गौरादहका ८ वडा र गौरीगञ्जका ४ वडा, कमलका ७ वडा पर्ने झापा क्षेत्र नं–५ का बेग्लाबेग्लै समस्या छन् । समस्याको पहिचान गरेर समाधानका लागि पहल गर्ने दृढतासहित निर्वाचनमा होमिएकी मन्धराले रेलमार्गले ओगेटेको जमिनको उचित मुआब्जा रोक्का जमिन पूर्णरुपमा फुकुवा गर्न, हात्ती प्रभावित क्षेत्रमा हात्ती रोकथाम, कमल, रतुवा, मावा, कृष्ने, गेउरिया खोलाको नदी कटान रोक्न तटबन्ध निर्माण, गौरादहमा आकर्षक र सुविधासम्पन्न पोखरी निर्माण गरी पर्यटन प्रवद्र्धन, गौरादहस्थित कृष्नेखोलामा पक्की पूल निर्माण, हुलाकी सडक अन्तरगत कनकाइको अधुरो पूल निर्माणमा समन्वयकारी भूमिका खेल्ने जनाएकी छन् ।
साविक महारानी झोडा लगायत क्षेत्रभित्रका अब्यवस्थित बसोबासी र सुकुम्बासीहरुको बसोबास ब्यवस्थापनका लागि धनीपूर्जा वितरणको ब्यवस्था मिलाउने, पाडाजुँगी–गौरीगञ्ज ४ लेन सडक निर्माणलाई द्रुत बनाउन पहल गर्ने, गौरीगञ्ज आधारभूत अस्पताल र गौरीगञ्ज छोटी भन्सारको स्तर उन्नति, गौरादहको हासखोरा–ठेकीटोला जोड्ने कालापत्रे सडक निर्माण, गौरीगञ्जमा पुनः शहरी विकास कार्यक्रम सञ्चालनमा पहल गर्ने मन्धराको प्रतिबद्धता छ ।
किसानहरुले बर्षेनी भोग्नुपर्ने रासायनिक मलको समस्या समाधान गर्दै अर्गानिक उत्पादनतर्फ उत्प्रेरित गर्न प्राङ्गारिक र जैविक मल कारखाना स्थापना, सामुदायिक, संस्थागत विद्यालयको शैक्षिक गुणस्तर बृद्धिसँगै शिक्षकलाई पनि प्रविधिसँग जोड्न, विपन्न वर्गका छात्राहरुलाई उच्च शिक्षाका लागि प्राविधिक शिक्षामा प्राथमिकता, युवा, महिला र विपन्न वर्गको रोजगारी सुनिििश्चत गर्न सीपमूलक तालिम र यसका लागि सहुलियतपूर्ण ऋण ब्यवस्थापन उनका योजना छन् । स्वास्थ्य सेवामा पहुँच विस्तार, पाठेघर–स्तन क्याक्सरजस्ता रोगको पहिचान र नियन्त्रणका लागि निःशुल्क शिविर, सुत्केरी पोषणभत्ता, हिंसा पीडित महिलाका लागि सुरक्षित ‘सेफ हाउस’ महिला उद्यमीले उत्पादन गरेको वस्तुको बजारीकरणमा सहजीकरण, डिजिटल साक्षरता अभियान, स्थानीय विकास निर्माणमा महिलाको अर्थपूर्ण सहभागिता, युवालाई खेलकुदमा जोड्दै स्वावलम्बी र उद्यमशील बनाउन पहल गर्ने लगायतका प्रतिबद्धता मन्धराले जनाएकी छन् ।
क्षेत्र नम्बर–५ भित्रका मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिद, चर्च, माङ्हिम, ग्रामथान आदिको संरक्षण र प्रवद्र्धनका साथै सबै धर्म र संस्कृतिप्रति सम्मान र समान दृष्टिकोण रहने उनको प्रतिबद्धता छ ।
अनाथकी आमा मन्धरा



















