झापा फागुन । बिगतका संसदीय निर्वाचनमा एक अर्काका बैशाखी बनेर राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका दुई नेताले यो पटक बैशाखी छोडेका छन् ।
राष्ट्रिय राजनीति बद्लिएको परिस्थितिलाई अंगाल्दै आफ्नो पक्षमा मत कसरी पार्ने भन्ने चिन्तामा प्राय सबै दलहरू छन् ।
त्यहीँ चिन्ताको घेराबाट छुट्टाछुट्टै निर्वाचनमा होमिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यो समाचार तयार पार्दासम्म एक्लाएक्लै चुनावी मैदानमा छन् । २०७४ र ०७९ मा भोटको बैशाखी बनेका यी दुई नेता ०८२ मा भने अहिलेसम्म छुट्टाछुट्टै प्रचार प्रसारमा जुटेका छन् । यद्यपि दुवैलाई खतरा महशुस भयो भने अझैपनि बैशाखी नबन्लान भन्न सकिन्न ।
यसअघिका निर्वाचनसम्म टाउको गनेर मेरा यति भोटर्स छन् भन्दै नेताले कार्यकर्ताको टाउको देखाउथे यो पटकको निर्वाचनमा त्यो अवस्था नदेखिएका कारण पनि यी दुई नेताले एक्लाएक्लै प्रतिष्पर्धा गर्ने आँट देखाएको अनुमान गर्न सकिन्छ । यसले झापाको क्षेत्र नं ३ का एमाले नेतादेखि कार्यकर्तासम्म खुशी छाएको स्पष्ट सन्देश प्रवाह भएको छ ।
क्षेत्र नं. ३ मा आदिवासी समुदायबाट एमाले नेता हरि राजवंशीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि टिकट पाएपछि एमालेका युवा नेता बसन्त बानियाँले खुशी व्यक्त गरे । उनको यो खुशी आफ्नै चुनाव चिन्ह्रमा भोट हाल्न पाएकोमा थियो । टिकटका लागि क्षेत्रबाट नाम सिफारिसमा परेका बानियाँले आफूले नपाउनुमा दुःख व्यक्त गरेनन् १२ वर्षपछि आफू आवद्ध पार्टीको चुनाव चिन्ह्रमा भोट हाल्न पाएको खुशी सामाजिक सञ्जाल फेसबुकमार्फत यसरी सार्वजनिक गरे–, ‘अत्यन्तै खुशी लागेको छ, आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि १२ बर्षपछि झापा क्षेत्र नं ३ मा हामीले सूर्य चिन्ह बाहक उम्मेद्वार प्राप्त गरेका छौं । १२ बर्षको कठोर बनबासपछि रामले राज्यभिशेक गरेको रामायण राम कथामा पढेको थिए । १२ बर्ष पछि हामीले एक इमानदार, शालिन अनि योग्य, सादा जिवनशैलीमा रमाउने, पूर्व संविधानसभा सदस्य तथा नेकपा एमाले पूर्व केन्द्रीय सदस्य, यहाँका धर्ती पुत्र, आदारणीय हरिबहादुर राजवंशीलाई यस क्षेत्रको उम्मेदवार पाएकोमा गौरबकासाथ उहाँलाई हार्दिक बधाई अनि, बिजयको अग्रिम शुभकामना ब्यक्त गर्दछु ।’

ओली र लिङ्देनले आफ्नो स्थान सुरक्षित गर्नका लागि झापाका कति ठाउँमा स्थानीय तह, तिनका वडा तथा वडा सदस्यमा निर्वाचित गराउन समेत आकस्मिक रुपमा चुनावी तालमेल गर्दै आएका छन् । उदाहरणका रुपमा ०७९ मा क्षेत्र नं. ३ अन्तरगत बिर्तामोड नगरपालिका वडा नं. १० मा वडा सदस्य निर्वाचनमा गरिएको चुनावी तालमेललाई लिन सकिन्छ । वडा नंं १०मा एकैजना पनि एमाले र राप्रपाको प्रतिनिधित्व नहुने भएपछि वडा सदस्यमा एमालेले राप्रपालाई अन्तिम अवस्थामा सघाएको थियो ।
ओली र लिङ्देनले अझै पनि सहकार्य नगर्लान् भन्न सकिदैन । किन कि चुनावको मुख्य चलखेल मौन अवधिमा हुन्छ । प्रचार प्रसारको अवधीभर कार्यकर्ता उफारेका नेताले आफ्नो अवस्था हेरी अन्तिममा अस्त्र फ्याक्ने समय अझै पनि प्रशस्तै छन् ।
तसर्थ बानियाँले व्यक्त गरेको खुशीमा स्वस्तिक छाप लगाउने दिन आउन अझै १५ दिन बाँकी नै रहेकाले यसै भन्न सक्ने अवस्था छैन ।
२०७९ को निर्वाचनमा ओलीको साथ पाएका लिङ्देनले ४०६६२ मत प्राप्त गर्दै सो क्षेत्रबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ऊबेला लिङ्देनको निकटतम प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला थिए भने ओलीले पनि कांग्रेसका उम्मेद्वार खगेन्द्र अधिकारी (पाण्डव) लाई झण्डै दोब्बर मतान्तरले पछि पार्दै क्षेत्र नं. ५ बाट निर्वाचित भए । त्यो बेला ओलीले ५२३१९ मत प्राप्त गरेका थिए ।
भदौ २३÷२४ को आन्दोलनले ल्याएको परिवर्तनलाई आत्मसाथ गर्दै परिवर्तित भएका दलका पक्षमा मत जाने हो कि भन्ने आशंका एकातिर छ । नयाँ मतदाता पनि थपिएका छन् ।
पटक पटक भोट हालेका नेता, नेतृत्वको ब्यवहारका कारण पनि कतिपय कार्यकर्ता निराश छन् । यसले राजनीतिक दललाई आफ्ना मतदाताको मत जोगाउने चुनौति छ ।



















