बिर्तामोड ५ माघ । बिर्तामोड–५ स्थित पाथीभरा टोल सुधार संस्थाको १८ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यता तथा पाथीभरा टोल सुधार संस्थाका अध्यक्ष नारायण चिमरियाको अध्यक्षतामा साधारणसभा तथा ज्येष्ठ नागरिकको पहिलो अधिवेशन सम्पन्न भएको हो ।
२०६५ सालमा स्थापित पाथीभरा टोल सुधार संस्थाले १८ औं बर्ष पार गर्दा ज्येष्ठ नागरिक भवन समेत निर्माण गर्न सफल भएको छ।
संस्थालाई स्थानीय गिरीराजकुमारी प्रसाईले स्व. सिके प्रसाईका नाममा ज्येष्ठ नागरिक भवन निर्माणका लागि प्रदान गरेको १३ धुर बढी जमिनमा आन्तरिक तथा बाह्रय स्रोत जुटाएर भवन निर्माण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष प्रसाईले समय समयमा कल्पनै गर्न नसकिने प्रकृतिको परिस्थिति आउँदा छाउने अन्योलताबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनु भयो ।
विशिष्ट अतिथि तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवस्थित शहर निर्माणका लागि प्रारम्भदेखि नै ध्यान दिनुपर्ने बताउनु भयो । बिर्तामोड नगरपालिका बन्नु अघि नै अव्यवस्थित शहर बनिसकेको उल्लेख गर्दै घिमिरेले व्यवस्थित शहर निर्माणका लागि व्यक्तिको विचार पनि व्यवस्थित हुन जरुरी रहेको उल्लेख गर्नुभयो । टोल सुधार संस्थाले शिक्षा, संस्कार, सुरक्षा जस्ता कुरामा ध्यान दिएर नैतिकवान समाज निर्माणमा योगदान गर्न सक्नेमा उहाँको जोड थियो ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउँदै त्यसको व्यवस्था राज्यले गर्नुपर्नेमा धारणा राख्नुभयो ।
कार्यक्रममा अध्यक्ष चिमरियाले संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन सचिव छविकृष्ण बरालले गर्नुभएको थियो ।
कार्यक्रममा स्व. सुमन पोखरेलको स्मृतिमा उहाँका आमा–बुबा देवी–मुक्तिनाथ पोखरेलले कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने एकजनालाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापनार्थ एकलाखको चेक अध्यक्ष चिमरियाले हस्तान्तरण गरेका थिए ।
सो अवसरमा संस्थालाई भवन निर्माणका लागि जग्गा प्रदान गर्ने स्व. गिरीराजकुमारी प्रसाईँलाई मरणोपरान्त दाता सम्मान गरिएको थियो । बिशिष्ठ अतिथिबाट प्रदान गरिएको उक्त दातासम्मान स्व. प्रसाईँका छोराबुहारी बिबेक केशरी र संगीताबाबा प्रसार्इँले ग्रहण गरेका थिए भने ज्येष्ठ नागरिक सम्मानबाट महेश्वरा बास्कोटालाई सम्मान गरिएको थियो ।
त्यसैगरी घर आँगन तथा टोल सफा राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पाथीभरा टोल रोड नं. ७ की कमला कार्कीलाई सरसफाई सम्मान गरिएको कार्यक्रममा स्मृति भट्टराई निरौलालाई उत्कृष्ठ बुहारी सम्मान गरिएको थियो भने गत बैशाख यता टोलमा जन्मिएका शिशु मध्ये ज्येष्ठ शिशु अनमोल अधिकारीलाई नगद प्रदान गरिएको कार्यक्रममा चर्तुभुज–भद्रशिला कार्की स्मृति पुरस्कारबाट २०८१ को एसइइमा उत्कृष्ठ आज्ञा चापागाँई र आदित्य साहलाई तीलरुपा स्मृति तथा सिके प्रसाईँ स्मृति पुरस्कार सम्मान पत्रसहित नगद राशी प्रदान गरिएको थियो ।
संस्थाका पूर्व अध्यक्ष मोहन ओलीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा ध्रुवकुमार शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिएभने सञ्चालन छविकृष्ण बरालले गर्नुभएको थियो ।
सोही कार्यक्रममा सम्पन्न ज्येष्ठ नागरिक समाजको प्रथम अधिवेशनले मोहन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा हिमादेवी ढुङ्गेल, सचिवमा अग्नीबहादुर दाहाल, कोषाध्यक्षमा नन्दीकिशोर निरौला चयन भएका छन् ।
समितिको सदस्यहरुमा पुन्यप्रसाद दंगाल, बुद्धिप्रसाद चापागाँई, चन्द्रमाया कडरिया लगायत रहेका छन् । कार्यक्रममा घिमिरेको सहयोगमा २० जना बढी ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको थियो ।
पाथीभरा टोल सुधार संस्थाको १८ औं बार्षिक साधारणसभा दातासम्मान र पुरस्कार वितरण



















