Homeसमाचारविवादमा वीरता लेडी जेसीज

विवादमा वीरता लेडी जेसीज

झापा ३ माघ । समाजमा राम्रो प्रतिष्ठा कमाएको वीरता लेडी जेसीजमा देखिएको आन्तरिक कलहले विवादमा फसेको छ । २२ बर्षअघि विर्तामोडका महिलाहरु मिलेर गठन गरेको संस्थाले हालसम्म थुप्रै सामाजिक कामको प्रभावका कारण राम्रै छवी बनाएको थियो । ब्यक्तित्व, नेतृत्व विकास एवं सामाजिक कामका कारण वीरता लेडी जेसीजले थुप्रै महिला नेतृ जन्माएको छ । उनीहरुले अन्य विभिन्न संस्थाको नेतृत्व गर्दै उदाहरणीय कार्यसमेत गर्दै आएका छन् ।
‘शासन ब्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने जेसीज आस्थालाई आत्मसात गर्ने नारा बोकेको संस्थामै विधान विपरीत गतिविधि भएको भन्दै अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा पाएको छ । बिर्तामोडस्थित वीरता लेडी जेसीजको शाखा अधिवेशन, नेतृत्व चयन र पद हस्तान्तरणमा संस्थाका पूर्व अध्यक्षहरुले नै गम्भीर प्रश्न उठाएका छन् । वीरता लेडी जेसीजमा विधान विपरीत कार्य भएको भन्दै चौतर्फी आलोचना भएको छ ।
संस्थाकी निवर्तमान अध्यक्ष एवम् निर्वाचन अधिकृत मेनुका ओलीले विधिको धज्जी उडाउँदै विधानको गम्भीर उल्लंघन गरेको बताइएको छ । ओलीले विधानमा व्यवस्था विपरित सन् २०२६ को लागि अध्यक्षमा मुना ढुङ्गेल निर्विरोध निर्वाचित भएको एकलौटी घोषणा गरेसंगै वीरता लेडी जेसीज भित्रको विवाद सतहमा आएको छ भने नेपाल जेसीजमा उजुरी परेको बताइएको छ ।
नेपाल जेसीजमा उजुरी परेपछि जिम्मेवार पदाधिकारीले फोनमार्फत तत्काल पदहस्तान्तरण लगायतका कुनै पनि कार्य अघि नबढाउनु भने पनि निर्वाचन अधिकृत ओलीले अटेर र जवरजस्ती गरी विधि प्रक्रिया विपरीत कार्य गरेर संस्थालाई नै विवादमा फसाएको जानकारहरु बताउँछन् । उनी नेपाल जेसीज २०२६ को राष्ट्रिय उपाध्यक्ष समेत हुन् ।
स्रोतका अनुसार नेपाल जेसीजमा उजुरी परिसकेपछि हतारमा माघ १ गते विहान १५÷२० जनाको उपस्थितिमा सचिवालयमै वीरता लेडी जेसीजको पद हस्तान्तरण गरिएको थियो । आफूहरुलाई थाहै नदिइ सुटुक्कैे पद हस्तान्तरण भएको भन्दै पूर्व अध्यक्षहरुले नै आपत्ति जनाएका छन् । जेसीजको अभ्यास अनुसार पद हस्तान्तरणमा निवर्तमान अध्यक्षको गलाको चेन पूर्व अध्यक्षहरुले निवनिर्वाचित अध्यक्षलाई पहिर्याउने गरिंदै आएको छ ।
अधिवेशनका लागि स्थानीय सञ्चारमाध्यममा १५ दिन अघि सूचना प्रकाशित गरी सदस्यहरुलाई जानकारी गराउनु पर्ने व्यवस्था भएपनि पुस २२ गते संस्थाको आफ्नै फेसबुकमा पेजमा सूचना पोष्ट गरेर पुस २६ गते अधिवेशन आह्वान गरिएको बताइन्छ । जनवरी ७ अर्थात पुस २२ गते संस्थाको फेसबुक पेजमा प्रकाशित सूचनामा अधिवेशन गर्ने निर्णय भने पुस १२ गते भएको उल्लेख गरिएको छ । निर्वाचन अधिकृत ओलीले मनोमानी ढंगले विधि विपरित अधिवेशन गराएको पनि स्रोतको दावी छ ।
नेपाल जेसीजको निर्देशनको अवज्ञा, निर्देशन विपरीत पदहस्तान्तरणः
नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराईले वीरता लेडी जेसीजको पद हस्तान्तरण रोक्न दिएको आदेशलाई उल्लंघन गर्दै पदहस्तान्तरण भएको बताएका छन् । उनले वीरता लेडी जेसीजको पदाधिकारी चयन प्रक्रिया र विधान मिचेको विषयमा छानबिन भइरहेकाले राष्ट्रिय अध्यक्ष तथा बोर्डमा बैठक बसेर छिनोफानो गर्ने बताए । सञ्चारमाध्यमसंग कुरा गर्दै उनले भने–नेपाल जेसीजकी उपाध्यक्ष तथा वीरता लेडी जेसीजका निवर्तमान अध्यक्ष मेनुका (मीनु) ओलीलाई पटक–पटक फोन गरेर गरेर विधान विपरीतका काम नगर्न आग्रह गरे पनि अवज्ञा भयो । उनले वीरता लेडी जेसीजको अधिवेशन विधान विपरीत भएको भन्दै नेपाल जेसीजमा उजुरी परेकाले त्यस विषयमा सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जानकारी दिए । वीरता लेडी जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष रहेका भट्टराईले विधान विपरीत काम गरेर जेसीजको गरिमा बिगार्ने छुट कसैलाई नभएको स्पष्ट पारे । उनले विधान विपरीत कार्य गर्ने जो कोही पनि कारवाहीमा पर्ने भएकाले सबै उजुरीको छानबिन हुने बताए । केन्द्रको निर्देशन नमान्ने शाखाहरुलाई कारवाही गर्नका लागि बोर्ड बैठकले निर्णय गर्ने उल्लेख गरे ।
वीरता लेडी जेसीजमा मनपरी भइरहेको भन्दै जेसीजले विधि सिकाउने भए पनि विधिकै धज्जी उडाउने छुट कसैलाई नभएको नेपाल जेसीजका एक नेताले बताए । उनले यस्ता विकृतिविरुद्ध जेसीजका सबै शाखा तथा सदस्यहरुले आवाज उठाउनुपर्ने बताए । उनले भने–वीरता लेडी जेसीजमा निर्वाचन संयोजकले मनपरी गरेको देखियो, यसले समग्र जेसीजकै बदनाम हुने काम हुँदैछ । उनले विधान विपरीत काम गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
विधानमा के छ ?
नेपाल जेसीजको विधानमा स्पष्टसंग अध्यक्ष हुनका लागि नेपाल जेसीजको कम्तिमा चारवटा क्षेत्रीय सम्मेलन र तीनवटा राष्ट्रिय महाधिवेशनमा सहभागी भएको तथा जेसीज सम्बन्धी तालिम लिएको एक वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । यस विषयमा देशभरका शाखाहरुलाई सन् २०२४ मा नै परिपत्र गरिएको बताइएको छ । वीरता लेडी जेसीजको निर्वाचन अधिकृत रहेकी ओली त्यसबेला शाखा अध्यक्ष थिइन् । त्यसवेलाको उक्त परिपत्रलाई गुपचुप राखिएको र विधि विपरीत काम गरेको बताइन्छ । ओलीले मनपरी गर्दा समेत नेपाल जेसीजले कुनै चासो नदिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना शुरु भएको छ ।
वीरता लेडी जेसीजको संशोधित विधान २०१८ को धारा–१७ को १ मा भनिएको छ– संस्थाका सबै पदाधिकारीको कार्यकाल आफू चुनिएको सालको अंग्रेजी क्यालेण्डर बमोजिम पहिलो १७ जनवरीदेखि सो सालको ३१ डिसेम्बरसम्म रहनेछ भनिएको छ । तर, यस्ता विषयलाई ख्याल नगरी उमेरलाई मात्रै आधार मान्दै वीरता लेडी जेसीजको अध्यक्षमा प्रोटेक्स हाल्ने गरिन्छ । विधिको उल्लंघन गरेपछि ओलीको कार्यशैलीको शाखाका पूर्वअध्यक्षहरुले चर्को आलोचना गरेका छन् ।
उजुरी कसरी पर्यो ?
वीरता लेडी जेसीजकी नवनिर्वाचित अध्यक्ष मुना ढुंगेलविरुद्ध उजुरी परेको छ । वीरता लेडी जेसीजका बर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष ढुङ्गेलको विधान अनुसार अध्यक्ष हुने योग्यता नपुगेको भन्दै संस्थाकै सदस्य झुमा भट्टराई चुडालले नेपाल जेसीजमा छानविनका लागि उजुरी दिएकी छन् । अधिवेशनको प्रक्रिया र अध्यक्षको योग्यताका बारेमा छानविन गर्न २०८२ पुस ३० गते चुडालले नेपाल जेसीजमा लिखित उजुरी दिएको जानकारी दिइन् ।
शाखाको अध्यक्ष हुनका लागि नेपाल जेसीजको विधानमा न्यूनतम योग्यता उल्लेख छ । विधान अनुसार कम्तिमा तीनवटा राष्ट्रिय महाधिवेशन, चारवटा क्षेत्रीय सम्मेलनमा सहभागिता भएको हुनुपर्ने, टट, एम टट र जेसीआइ एकाडेमी तालिममध्ये एउटा अनिवार्य लिएको हुनुपर्ने व्यवस्था छ । तर, वीरता लेडीमा निर्वाचित अध्यक्ष ढुङ्गेलले उक्त योग्यता पूरा नगरेको कारण अध्यक्ष हुन अयोग्य भएकाले विधान अनुसार छानविनका लागि नेपाल जेसीजमा उजुरी दिएको चुडालले बताइन् ।
विधान उल्लंघन गरेपछि कस्ले के भने ?
निर्वाचन अधिकृत मेनुका ओलीले विधान विपरीत गरेको कार्यको चौतर्फी आलोचना भएको छ । पूर्व अध्यक्षहरुले नै प्रश्न उठाएका छन् । संस्था स्थापना यता सन् २०२४ सम्म स्थानीय संघसंस्थाका प्रतिनिधिहरुलाई पनि निम्तो दिएर पार्टी प्यालेसमा भव्य कार्यक्रमका वीच वीरता लेडीको पद हस्तान्तरण हुँदै आएको थियो । तर, यो वर्ष सदस्य र पूर्व अध्यक्षहरुलोई समेत जानकारी नदिई सुटुक्क कार्यक्रम गर्नुले नयाँ नेतृत्व चयनमा शंका गर्ने थप आधार मिलेको छ ।
पूर्व अध्यक्ष र सदस्यहरु नै बेखबर
पूर्व अध्यक्ष राधा सुब्बाले सामाजिक सञ्जालमा लेखेकी छिन्– वीरता लेडीलाई बधाई, २०२५ ले २०२६ लाई चेन हस्तान्तरण गरेछ । पूर्व अध्यक्षले गर्नुपर्ने चेन हस्तान्तरण कार्यक्रममा निर्वाचन मण्डली मात्र देख्छु । आजसम्म यस्तो भएको थिएन । खुसुक्कै थाहा नपाउने नयाँ कुरा भयो । यो नेपाल जेसीजमै पहिलो रेकर्ड हो । अर्की पूर्व अध्यक्ष रजनी बजगाँई भन्छिन्– ‘अति दुःखद् परिस्थिति । यसरी रातारात पद हस्तान्तरणको ब्यानर बनाई अविर फुलमाला तयारीका साथ कार्यक्रम हुँदा पनि हामी पूर्व अध्यक्षहरूलाई किन सही ढङ्गले खबर गरिएन ? यसरी चुपचाप सचिवालयको सानो कोठामा सदस्यहरूलाई पनि नबोलाईकन पदमा बस्ने जति मात्र भेला भएर पद हस्तान्तरण कार्यक्रम गर्नुपर्ने अवस्था किन भयो ? यो कुराको जानकारी छलफल संस्थापक ज्यूसहित हामी पूर्व अध्यक्षहरूले बसेर गर्ने पर्ने हुन्छ है ।’
त्यसैगरी सन् २०११ की अध्यक्ष सोमा शिवाकोटीले – सन् २००४ सालमा स्थापित संस्था २०२५ सम्म आउँदै गर्दा कति पूर्व अध्यक्ष हुनुहुन्थ्यो होला ? जम्मा ४ जनाले गएर चेन लगाइदिनु भएछ, यस्तै दिन देख्नुपर्यो’ भन्दै आक्रोस पोख्छिन् ।
त्यस्तै पूर्व अध्यक्ष मिरा भट्टराई बजगाँईले सिल्भर जुब्ली वर्ष २०२५ को पद हस्तान्तरण किन त्यस्तो भयो ? भनी प्रश्न गरेकी छिन् । त्यस्तै पूर्व अध्यक्ष शुष्मा पौडेलले संस्थाभित्रको विवाद देखेर भन्ने केही भेटिएन भनी दुःख व्यक्त गरेकी छिन् ।
जेसीज अभियानकर्मी तथा सदस्य रोजिना पाण्डे लेख्छिन्–‘के हो आज भोलि संस्थाका सदस्यलाई थाहै नदिई पद हस्तान्तरण हुन थालेछ । धन्न कुनै व्यक्तिको घरमा पछिल्लो बर्षको अध्यक्षको पद अघिल्लो बर्ष नै बेचे जस्तै ठेकेदारहरूले आफ्नो कोठामा लगेर माला लगाएनछन् ।’
सन् २०२५ को नेतृत्व चयन गर्दैदेखि विवाद देखिएको बीरता लेडी जेसीजको उक्त वर्ष पनि गुपचुपमै पदहस्तान्तरण गरिएको थियो । सन् २०२५ का लागि नेतृत्व चयन गर्दा संस्थाकी सदस्य पाण्डेले जिल्ला प्रशासन कार्यालय झापामा निर्वाचन रोकी पाउँ भनि निवेदन दिएकी थिइन् । तर जिल्ला प्रशासनले नेपाल जेसीज अन्तरगतको मामला भएको भन्दै पन्छिएको स्रोतको भनाई छ ।
वीरता लेडीकी सदस्य तथा पूर्व कार्यकारिणी उपाध्यक्ष दीपा शिवाकोटी लुईंटेलले लेखेकी छिन्– ‘झुमा चुडाललाई गरेको अन्यायको पहिलो सजाय हो यो । यसरी लुकिछिपी ,रातारात, सदस्यहरुलाई पनि थाहै नदिई पद हस्तानतरण गर्नु कति लज्जास्पद ,हास्यास्पद छ ? जीवनमा एकपटक हुन पाउने जेसीज अध्यक्ष त्यो पनि यसरी पदभार ग्रहण गर्नु ,वीरता लेडी जेसीजको इतिहासमै सवैभन्दा दुः खद् पद हस्तान्तरण ।’
वीरता लेडीकै सदस्य कामना उप्रेतीले लेखेकि छिन्– के हो यस्तो ? कस्तो पद हस्तान्तरण हो यो ? हाम्रै वीरता लेडी जेसीज को हो र ? अनि हामी चाहिँ को हौं ? हामीलाई जानकारी हुँदैन यसरी गुपचुप गर्नुपर्ने के जरुरत थियो ? तपाईँहरू विधि विधानमा जानुभएको थियो भने लुकाएर गर्नुपर्ने जरुरी थियो ? कसैको मुहार हँसिलो छैन । कहाँ पुग्न, के गर्न, के पाउन यति हतार, यति होडबाजी आफ्ना सदस्यलाई खबरै नगरिकन पनि हुन्छ पद हस्तान्तरण ? पदको लोभ र अहंकारले भरिएका केही व्यक्तिले मेरो यति राम्रो संस्थालाई आज आठदश जनाको घेराबन्दी भित्र पारे । आज मेरो मन साह्रै रोएको छ । मेरो गर्व गर्ने मेरो संस्था मेरो वीरता लेडिज जेसिज थियो । तर एक्कासी एउटा कोठाभित्र केही सीमित मान्छे मात्रै बोलाएर पद हस्तान्तरण गर्ने अवस्थामा पुग्यो ।’
विधि विपरित कार्य गरी संस्थालाई विवादमा फसाएकी निर्वाचन अधिकृत मेनुका ओलीले भने विधान बमोजिम नै कार्य गरेको दाबी गरेकी छिन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविवादमा वीरता लेडी जेसीज
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img