Homeसमाचार‘जसले जापानमा देखेर बिर्तामोडमा प्रविधिको पढाई शुरु गरे’

‘जसले जापानमा देखेर बिर्तामोडमा प्रविधिको पढाई शुरु गरे’

बिर्तामोडलाई शिक्षा र स्वास्थ्यको हब मानिन्छ । त्यसका अतिरिक्त व्यापार, व्यवसाय, तेस्रो मुलुकसंगको सहज आवत जावत लगायत विभिन्न कारणले बिर्तामोड सुविधायुक्त बनेको हो । बिर्तामोडलाई सुविधायुक्त बनाउने कार्यमा धेरैको योगदान छ । इतिहास र वर्तमान छ । भविष्यसम्म रहन्छ रहन्न भन्न कठिन छ । किनकी पछिल्लो समय यस्तो सोच विकसित हुँदै गएको छ, ‘भूतो न भविष्य’ खालि वर्तमान मात्र ।
यो चेत भएकाहरुले वर्तमानमा विगतलाई दस्तावेजीकरण गर्न सकेन भने साँच्चिकै भावी पुस्ताका लागि ‘भूतो न भविष्य’ अवश्य हुनेछ । स्वास्थ्यको हब हुनु पूर्व बिर्तामोड शिक्षाको हब थियो । यो हब बनाउने कार्यमा थुप्रै अग्रजहरुको योगदान छ । भूमिका छ । तिनै भूमिका भएका एक अग्रज अब सम्झनामा मात्र हुनुहुन्छ । जसले शैक्षिक क्षेत्रमा भित्रिएका नयाँ विषयलाई टपक्कै टिप्नु हुन्थ्यो र अध्यापन शुरु गर्नुहुन्थ्यो । पाठ्यक्रममा समेटेर विद्यार्थीलाई समय अनुसारको एडभान्स शिक्षा दिनका लागि अग्रसर हुनुहुन्थ्यो । जतिबेला उहाँ सशक्त हुनुहुन्थ्यो त्यो बेला नजिकबाट चिन्ने र बुझ्ने अवसर मिलेन । तथापि समयले संयोग जुरायो उहाँसंग शिक्षा क्षेत्रका केही कुरा गर्ने अवसर मिल्यो । त्यही र्नै अन्तिम पनि भयो ।
यतिबेला उहाँको दशगात्र कर्म चलिरहेको छ । बुबाको विरासत थामेका पुत्रहरु पिता बियोगको शोकमा हुनुहुन्छ । संगसंगै श्रीमती बुध खनाल र बुहारीहरु पनि । बिर्तामोडमा शिक्षाको उज्यालो छर्ने मध्येका एक नक्षत्र गणेशप्रसाद खनाल अनन्त यात्रामा निस्किसक्नु भएको छ । यो अनन्त यात्रा प्रारम्भ गर्नुपूर्वका केही कुरा स्मरण गरौं ।
बुबा इन्द्रलाल र आमा गोमादेवी खनालका ज्येष्ठ पुत्ररत्नका रुपमा जन्मनु भएका गणेशप्रसाद खनाल सरकारी जागिरे हुनुभयो । लामो समयसम्म नेपाल सरकारको प्रशासनिक अधिकृतका रूपमा काम गर्नुभएका खनालले सेवा निवृत्त जीवन शिक्षामा समर्पण गर्नुभयो ।
२०५३ सालमा गोमेन्द्र महाविद्यालयको स्थापना गर्नुभयो । त्यो बेलासम्म पूर्वमा राम्रो शिक्षा आर्जनका लागि पर्याप्त शैक्षिक संस्थाहरुको समेत अभाव थियो । सरकारी कार्यालयको प्रशासनिक जिम्मेवारी सम्हाल्ने क्रममा शिक्षाको कमीका कारण हुने समस्या बुझेका खनाललाई देशको विकास र समृद्धिका लागि शिक्षा त्यसमा पनि गुणस्तरिय शिक्षा त्यसमाथि समय सापेक्ष शिक्षा हुनुपर्छ भन्ने आत्म बुझाईकै कारण संभवतः गोमेन्द्र जन्मिएको हुनुपर्छ ।
गोमेन्द्र नामलाई नियाल्दा खनालले आफ्ना जन्मदाताको संयुक्त नामबाट नामाकरण गरिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । गोमांइन्द्रबाट गोमेन्द्र नामाकरण गरी जन्मदाताप्रति सम्मान व्यक्त गर्नुभएको हो भन्दा अत्युक्ति नहोला ।
मध्यमवर्गीय परिवारमा हुर्कनुभएका खनालको बाल्यकाल संघर्षशील रहेको बताइन्छ । उहाँमा समयले “शिक्षा नै समाज परिवर्तनको मुख्य साधन हो’ भन्ने कुरामा दृढ रहेको स्पष्ट हुन्छ ।
समय सापेक्ष शिक्षा हुनुपर्छ भन्ने कुरामा बढि महत्व राख्ने खनाल जापान पुगेको बेला जुन दृष्य देख्नुभयो त्यसले अझ उर्जा थप्यो । जापान गएका बेला त्यहाँ कम्प्युटरमा पढेको देख्दा यस्तै गर्न पाए हुन्थ्यो भन्ने लाग्यो रे । र काठमाडौं फर्केपछि त्यसैको खोजीमा लाग्नु भयो । खोज्दै जाँदा पाठ्यक्रमकै रुपमा नभएपनि छोटो रुपमा आइटीलाई समेटिएको पाएपछि पूर्वाञ्चल विश्व विद्यालयमा कुरा राख्दा कसैले पनि नपत्याएको अनुभव सुनाउनु हुन्थ्यो । कम्प्युटर पढाउने ! कहाँबाट ल्याउछस् शिक्षक भन्ने प्रश्नको सामना गर्नुपर्दा उहाँको मन चसक्क भयो रे । तर, प्रश्नले जवाफ खोज्न बाध्य हुनुभएका गणेश खनालले हिम्मत हार्नु भएन । शिक्षकको खोजीमा सिलीगुढीतर्फ लाग्नुभयो ।
‘जहाँ इच्छा, त्यहाँ उपाय’ समयको पदचापलाई चिन्नु भएका उहाँको दृढ इच्छाकै कारण झापामा पहिलो पटक कम्प्युटर शिक्षा पढाउने शिक्षक भित्र्याउन सफल हुनुभयो । त्यसका लागि धेरै पटक बंगालमा आइटी पढाई हुने निड (स्कूल) मा धाउनु भयो ।’ शुरु शुरुमा बंगालीले उहाँलाई मतलब नै गरेनन् रे । तर, पनि हार खानु भएन । उहाँ भन्नुहुन्थ्यो, ‘यी नेपालीहरु भात खान आएका जस्तो ठान्थ्यो, कहाँ देखेजस्तै गर्दैनथे, तर, धेरै पटक गएपछि मात्र सोध्यो, कम्प्युटर शिक्षा पढाउने शिक्षक खोज्न आएको भनेपछि जलपाईगुढीमा एउटा केटो छ भनेर देखाइदियो । त्यहाँबाट जलपाईगुढी गएर खोजेर शिक्षक ल्याएर पढाई शुरु गरे ।’
बित्तीय अनुशासन र इमान्दारिताका प्रतिमुर्ति खनाल बिद्यालयमा सूचना प्रविधिको पढाई भित्र्याउने पूर्वाञ्चलमै पहिलो हुनुहुन्थ्यो ।
सन्ततीले आफ्नो मेसो समाइदेओस्–यो प्रायः सबै अभिभावकको चाहना हुन्छ । तर, धेरै अभिभावकको चाहना चाहनामै सिमित हुन्छ । त्यसका धेरै कारण अवश्य हुन्छन् नै । तर, दूरदृष्टि भयो भने अभिभावकको चाहना अनुसारका उत्तराधिकारी हुन्छन् भन्ने कुराको सबुद प्रमाण खनालका सन्ततीले प्रस्तुत गरेका छन् । पिताजीको शिक्षाप्रतिको मोह र दुरदृष्टिकै कारण उहाँका तीनैभाई छोरा र बुहारीहरु समेत शिक्षण पेशामा संलग्न मात्र होइन, पिताजीले स्थापना गर्नुभएको विरासतबाटै शिक्षाको माध्यमबाट समाज रुपान्तरणमा संलग्न हुनुहुन्छ ।
जेठा छोरा दीपक अष्ट्रेलियामा कलेज सञ्चालन गर्नुहुन्छ भने माइला छोरा–बुहारी डा. रुपक र सरस्वती (सरु) ले गोमेन्द्र बहुमुखी कलेज र कान्छा छोरा–बुहारी उत्तम र गीता बिर्तामोडमै गोमेन्द्र बिर्तामोडल सञ्चालन गर्दै आउनु भएको छ ।
सन्तानले आफ्नो पदचाप पछ्याएकोमा खुशी खनाल एउटा उत्कट चाहना भने पूरा हुन नसक्ने बाटोतर्फ मोडिएको प्रसंङ्गबस जोडिएको सन्दर्भमा चुहाउँदै असन्तुष्ट हुनुहुन्थ्यो ।
खनालको जीवन कथाले मानिसको पहिचान पदले होइन, समाजमा छोडेका पदचापले निर्धारण गर्छ भन्ने स्पष्ट हुन्छ । अनन्त यात्रामा निस्कनु भएका उहाँ झापाको शैक्षिक इतिहासमा सदा स्मरणीय रहनुहुनेछ । हार्दिंक श्रद्धासुमन गणेशप्रसाद खनालप्रति साथै शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना
जनआन्दोलन साप्ताहिक परिवार

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘जसले जापानमा देखेर बिर्तामोडमा प्रविधिको पढाई शुरु गरे’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img