बिर्तामोड २४ मंसीर । ७७ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा अन्तरक्रिया तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकार सञ्जाल झापाको आयोजनामा गोमेन्द्र बहुमुखी कलेजमा आयोजित अन्तरक्रियामा झापामा भएका मानव अधिकार हनन्का विषयवस्तु, खुल्ला सिमानाकाका कारण अन्य मुलुकका नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने संभावना, चुनौति र व्यवस्थापन तथा जेनजी आन्दोलनका क्रममा अराजक गतिवित्रिमा संलग्नताले पक्राउपछिको समस्याबारे छलफल भएको थियो ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनालको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गेलालले विभिन्न कारणले जिल्लामा हुन सक्ने सुरक्षा चुनौतिको आंकलन गरी सोही अनुसारको सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको बताउनु भयो ।
समाजमा शान्ति सुरक्षा कायम गर्न बिना बर्दिका प्रहरी रहेका नागरिकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले शान्ति सुब्यवस्था कायम गर्न नागरिक पनि त्यत्तिकै सजक हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय भारतको बाटो हुँदै बंगलादेशी नागरिक रोहिङ्गा नेपाल प्रवेश गर्न सक्ने खतरातर्फ संकेत गर्दै प्रमुख जिल्ला अधिकारीले गाउँ समाजमा नयाँ मान्छे आएमा उनीहरुको गतिविधि नियाल्न र सुरक्षा संयन्त्रलाई खबर गर्न नागरिक समक्ष आग्रह गर्नुभयो ।
पछिल्लो समय बंगलादेशी रोहिङ्गा विभिन्न बाटो हुँदै नेपाल प्रवेश गर्न सक्ने संभावना, चुनौति र व्यवस्थापनबारे सञ्जालका अध्यक्ष रुपक खनालले ध्यानाकर्षण गराउनु भएको थियो ।
अन्तरक्रियामा मानव अधिकार परिषद कोशीका अध्यक्ष विष्णुप्रसाद खरेल, परिषदका महासचिव कमल कोइराला लगायतले मानव अधिकारका सवाल उठाउने मानव अधिकारकर्मीको मानव अधिकारको अवस्थाबारे जानकारी गएका थिए ।
सो अवसरमा इन्सेक वर्ष पुस्तकका लागि गत एक वर्षमा झापामा भएका अधिकार हनन्का घटना विवरण समेटिएका प्रतिवेदन इन्सेकका झापा प्रतिनिधि नरेस खातीले प्रस्तुत गर्नुभएको थियो ।
इन्सेक वर्ष पुस्तकका लागि प्रस्तुत प्रतिवेदनमा भाषागत केही कुरा सच्याउनुपर्ने सुझाव दिइएको बताइएको छ । अन्तरक्रियामा प्रशासनतर्फ लक्षित जिज्ञासाको झापाका प्रहरी प्रमुख राजन लिम्बुले स्पष्ट पार्नुभएको भने नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसअघि हनुमान सेन्ट्रल अगाडिबाट निस्किएको प्रभातफेरीले मुक्तिचोक पूर्व–पश्चिम परिक्रममा गरेको थियो । मानव अधिकारसंग सम्बन्धित विभिन्न नारासहित प्लेकार्ड बोकेर निस्किएको प्रभातफेरी पछि सुरेस अग्रवाल भद्रपुरे, तोया काफ्ले, रेजिना गौतम, कञ्चना ढकाल लगायतले सम्बोधन गर्दै कुनै पनि व्यक्तिले मानवअधिकारका न्यूनतम अधिकारको उपभोग गर्न पाउनुपर्नेमा जोड दिए । कार्यक्रमको दिपक दासले सञ्चालन गरेका थिए ।
प्रभातफेरीमा मानव अधिकार सञ्जाल झापा, नारी सञ्चार गृह, एविसी नेपाल, महिला सुरक्षा दवाव समूह, एमनेष्टी इन्टर नेशनल, गोमेन्द्र बहुमुखी कलेज लगायतका विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसमा अन्तरक्रिया र प्रभातफेरी



















