भद्रपुर २४ मंसीर । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्तिमदिन मानव अधिकारका लागि महिला एकल महिलासहित सहयात्री संस्थाहरुको सामुहिक आयोजनामा सम्मान तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
भद्रपुरस्थित एकल महिलाको सभाहलमा आयोजित कार्यक्रममा झापामा भएका लैंङ्गिक हिंसाको अवस्था बारेमा भद्रपुर नगरपालिकाकी महिला विकाश शाखा प्रमुख जीवनकला राउतले संक्षिप्त प्रस्तुती गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले प्रविधिको दुरुपयोग गरेमा मानव जीवन र परिवारमा हुनसक्ने संभावित दुर्घटनाबारे जानकारी गराउँदै सचेत रहने उपायबारे छोटकरीमा सचेत गराउनु भएको थियो ।
आयोजक संस्थाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हिंसामा परेका महिलाहरुको न्यायका लागि सञ्चारको माध्यमबाट योगदान पुर्याएको भन्दै पत्रकार रेजिना गौतम र ज्येष्ठ नागरिक सोभा राजवंशीलाई सम्मान गरिएको थियो । सम्मानित दुवैजनालाई नगरप्रमुख पोखरेल, उपप्रमुख राधा कार्की लगायतले दोसल्ला र माला लगाएर सम्मान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि पोखरेल, विशेष अतिथिहरु भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महिला सुरक्षा दबाब समूह झापाकी अध्यक्ष शारदा रिजाल, सम्मानितका तर्फबाट रेजिना गौतम लगायतले मन्तव्य राख्दै लैंङ्गिक हिंसा अन्त्यका लागि आफैंबाट शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन साना हातहरु भद्रपुरका विक्रम वाग्लेले गर्नुभएको थियो ।
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः सम्मानसहित समापन



















