अर्जुनधारा १८ मंसीर । कालिकापीठ कालीस्थानको २२ औं बार्षिक अनुष्ठान आज (बिहीबार) देखि शुरु भएको छ ।
बार्षिक अनुष्ठानको अवसर बारेर आयोजित सप्ताहब्यापी श्रीमद्गरुड महापुराण, दैनिक रुद्राभिषेक एवं हवन, धनधान्याञ्चल महायज्ञको समेत आज प्रारम्भ गरिएको हो । सप्ताहब्यापी अनुष्ठानको शंकराचार्यपीठ साधुटारका संस्थापक अध्यक्ष एवं प्रमुख अतिथि पं. केदानाथ खतिवडाले गर्नुभयो । यज्ञ अनुष्ठानको समुद्घाटन गर्दै प्रमुख अतिथि खतिवडाले गरुड महापुराणमा जन्म, मृत्यु एवं जीवन र जगतको ब्याख्या रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन, अर्जुनधारा वडा नं.–९ का वडाध्यक्ष भिष्म मिश्र, वडा नं. १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, व्यवसायी महाविर अग्रवाल, भगवतभक्ति आश्रमका अध्यक्ष तुलसीराम आचार्य लगायतले शुभकामना राख्नुभयो ।
सो क्रममा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अर्जुनधारा–९ निवासी एलबि सुब्बासहित दाताहरु स्व. दलमान तामाङ (चैनपुरे बा) का छोरा ज्ञानबहादुर तामाङलाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुको जीवनीबारे प्रकाश पार्दै पीठका आचार्य रघुनाथ रिजालले सम्मान पत्र वाचन गर्नुभएको थियो ।

कार्यक्रममा आफ्ना दिवंगत माता–पिताको स्मृतिमा झापा धुलावारीका व्यवसायी महाविर अग्रवाल र उहाँको परिवारले २० जना बढी माताहरुलाई बस्त्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।
कालिकापीठ कालीस्थानका अध्यक्ष ज्योतिषाचार्य पं. लक्ष्मीप्रसाद पोखरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले कालिकापीठको इतिहास र विकासक्रमबारे चर्चा गर्नुभयो । पीठका उपाध्यक्ष डिल्लीराम दाहालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको थियो ।
मंसीर २५ गतेसम्म सञ्चालन हुने महायज्ञको औपचारिक समुद्घाटन अघि निकालिएको शोभायात्राले कालीस्थान परिषर परिक्रमा गरेको थियो ।
संगीतमय श्रीमद्गरुड पुराण पीठका पूर्व विद्यार्थीहरु सिताराम तिम्सिना प्रमुख वाचक तथा पाठपारायण सिताराम खनाल रहनु भएको पीठका सचिव भोलानाथ पोखरेलले बताउनु दिनुभयो ।
पीठसंग सम्बन्धित रहेर योगदान गर्नुहुने दिवंगत आजीवन सदस्य तथा पदाधिकारीको दिब्य भगवतगतिको कामना एवं अक्षयकोष बृद्धिको लक्ष्य राखेर महायज्ञ आयोजना गरिएको पीठका उपाध्यक्ष कर्णबहादुर तामाङले जानकारी दिनुभयो ।



















