बिर्तामोड १५ कात्तिक । शिवसताक्षी नगरपालिकाका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईधार निवासी २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
सरोज शर्माको शव झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाको सिमाना भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको छ । केही दिन अघिदेखि बेपत्ता रहेका उनको कार चारआली–चन्द्रगढी सडकखण्डको जङ्गलमा जलेको अवस्थामा फेला परेको थियो।
शर्मा बेपत्ता बनेदेखि नै खोजीकार्य तीव्र बनाएको प्रहरीले उनको कार जल्दै गरेको अवस्थामा फेला पारेको थियो भने शर्माको शव खोला किनारमा गाडिएको र दुर्गन्ध फैलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यता शर्माको हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आक्रोशित भीडले आज सुनिल साहको घरमा तोडफोड गरेको छ ।
हुलाकी मार्गअन्तर्गत बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भीडले साहको घरमा तोडफोड गरेका हो । भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ । शर्माको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । सो घटनामा ४–५ जनाको संलग्नता रहेको अनुमान गरिएको छ।
शनिबार बिहान घटनास्थलमा दुर्गन्ध फैलिन थालेपछि स्थानीयको सूचना आधारमा खाल्टो खनेर हेर्दा शव फेला परेको हो। सड्न लागेको शवका साथमा रहेको नागरिकताका आधारमा परिवारले शवको सनाखत गरेका छन् ।
प्रारम्भिक अनुमान अनुसार सरोजको हत्या गरी घटना लुकाउनका लागि शव पुलमुनि गाडिएको हुनसक्ने बताइएको छ। यसअघि सरोजले प्रयोग गर्दै आएको बा १३ च ३८६४ नम्बरको कार झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो। आगलागीपछि कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको थियो।
वेपत्ता शिवसताक्षीका शर्माको शव गाडिएको अवस्थामा फेला, हत्यामा संलग्न आरोपमा २ पक्राउ



















