धुलावारी १३ कात्तिक । झापाको मेचीनगर– १३ स्थित हातेमालो सामुदायिक वनभित्र कार लगेर चालक आफैंले आगजनी गरेको पाइएको छ। आज विहान १० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत गोरखकाली सिमेन्ट फ्याक्ट्रीदेखि पश्चिमपट्टि जंगलभित्र लगेर कारमा आगजनी गरिएको भेटिएको थियो। आगजनीबाट कार जलेर पूर्ण क्षति भएकोछ । चारआली–चन्द्रगढी सडकदेखि लगभग २ सय मिटर पश्चिम जंगलमा कार लगेर आगो लगाएर चालक भागेको हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्र सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार कारलाई जंगलमा जबरजस्ती लैजाँदै गरेको स्थानीयले देखेका थिए ।
जलेर क्षतिग्रस्त भएको कार झापा शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्माको भएको बताइएको छ । बाग्मती प्रदेश ०१–०३च७१९४ नं कारसहित शर्मा चार दिन अघिदेखि वेपत्ता भएका थिए । कात्तिक ९ गते दिउँसो सरोज शर्मा घरबाट कार लिएर सम्पर्कबिहीन बनेका थिए । कारलाई चालकले जंगलमा आगो लगाइदिएर भागेको अनुमान गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
जंगलमा चालकले कारमा आगजनी गरेको खुलासा



















