Homeसमाचारसिंहदरबार जल्दा दुखेको मन र दरवारका विशेषता

सिंहदरबार जल्दा दुखेको मन र दरवारका विशेषता

झापा २७ भदौं । ११७ वर्ष अघि तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले निर्माण गर्न लगाएको एसियाकै भब्य सिंहदरवार मंगलबारको आन्दोलनमा जल्यो । सम्पूर्ण देश अटाएको सिंहदरवारभित्र संघीय मन्त्रालयहरु त्यही थिए भने महत्वपूर्ण दस्तावेज रहेको सिंहदरबारमा जेन जेडको नाममा भएको आन्दोलनमा आगो लगाइयो । सिंहदरबार जलेको देखेर धेरैका आँखा रसाए । आगो लगाउनेबाहेक शायद सबैले उक्त भवन जलेको प्रति चिन्ता गरे । ऐतिहासिक र महत्वपूर्ण दस्तावेज अटाएको सिंहदरबार मंगलबार जेनजेडको मनभित्र अट्न सकेन । फलस्वरुप आगोको लप्कासंग पौठेजोरी खेलिरह्यो । त्यतिको महत्वपूर्ण ठाउँमा आगो लाग्दा निभाउनका लागि न त दमकल गयो, न त अन्य स्थानीयले नै निभाउने प्रयास गरे । बरु निरिह बनेर हेरिरहे । सिहंदरबारबारे केही तथ्यहरु :
१. आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सिंहदरबारको निर्माण सुरु गरेका थिए ।
२. लगभग एकवर्ष भित्रमा नै निर्माण सम्पन्न भएको बताइने यो दरबार सुरुमा चन्द्र शमशेरले आफ्नो निजी घरका रूपमा बनाएका थिए । २९ वर्षे शासनकालमा उनी २८ वर्षसम्म त्यहीँ बसेका थिए ।
३. वि.सं. १९८२ वैशाख १ मा प्रधानमन्त्री चन्द्र शमशेरले यही दरबारबाट दासप्रथा उन्मूलनका लागि ऐतिहासिक घोषणा गरेका थिए ।
४. युरोपेली शैलीमा बनाइएको यस दरबारको प्रवेशद्वारमा रहेका सिंहका दुई मूर्तिहरू छन् । यसै कारण यसको नाम सिंहदरबार रहन गएको हो ।
५. सिंहदरबारको डिजाइन कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले गरेका थिए । यसको वास्तुकलालाई आजको दिनसम्म पनि निकै रोचक मान्ने गरिन्छ ।
६. डिजाइनहरूले सिहंदरबारको डिजाइन गर्न पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक जस्ता यूरोपेली वास्तुकलाका विभिन्न शैलीहरूबाट ‘रिफ्रेन्स’ लिएका थिए।
७. दरबारको निर्माण पूरा भएपछि चन्द्र शमशेरले यो भवन प्रधानमन्त्रीको सरकारी आवासको रूपमा २ करोड नेपाली रुपैयाँमा नेपाल सरकारलाई बेचेका थिए ।
८. वि.सं.१९८६ मङ्सिरमा उनको मृत्युपछि पद्म शमशेर बाहेक (जो आफ्नै ठूलो दरबारमा बस्थें) अन्य राणा प्रधानमन्त्रीहरूको सरकारी आवासको रूपमा यसलाई प्रयोग गरिएको थियो ।
९. सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर थिए । २००७ सालमा राणा शासनको अन्त्य भएपछि पनि उनी यहीँ बस्थे । २००९ सालमा उनलाई दरबार छोड्न आदेश दिइएपछि यसलाई राष्ट्रिय सम्पत्ति बनाइएको थियो ।
१०. २०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १७०० कोठाहरू थिए, जसमा सिङ्गमरमरको भुइँ, चित्र कोरिएका छत, चाँदीका फर्निचर र क्रिस्टलका बत्तीहरू थिए ।
११. दरबारको सबैभन्दा ठूलो र भव्य रूपमा सजाइएको कोठाको नाम ‘द स्टेट हल’ राखिएको थियो । त्यो हलमा विदेशी आयातित कलाका सामग्रीहरूले सजाइएको थियो । जसमा काँचका क्रिस्टलको झूमर, बेल्जियमका ऐना, इङ्गल्यान्डका रंगीन काँचका ढोका र इटालियन सिङ्गमरमर जस्ता सामग्री थिए ।
१२. निर्माणको अलि पछि जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्नका लागि ग्यालरी बैठक बनाएका थिए । त्यो समयमा मित्र राष्ट्रका राजदूतहरूले हनुमान ढोकामा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्ने गर्थे । पछि त्यही ग्यालरी बैठकलाई संसद भवनको रूपमा प्रयोग गरिएको थियो ।
१३. २५ असार २०३० मा सिंहदरबारमा ‘विद्युत् सर्ट’ भएर आगलागी भयो । त्यस घटनाका कारण मानवीय क्षति भएन । तर परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको थियो । अनि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले ‘आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको’ भनेर राजीनामा दिएका थिए ।
१४. आगलागीपछि सिंहदरबारको बाँकी रहेका भागहरूको पुनर्निर्माण र ध्वस्त भएका भागहरूको पुनःनिर्माण गरिएको थियो । त्यसबेला पहिलेका मूल वास्तुकलालाई सकेसम्म बिउताने प्रयास गरिएको थियो । तर, केही मौलिक संरचना र सजावटहरू भने गुमेका थिए ।
१५. राणा शासन विरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यसै दरबारबाट सुनाएका थिए । त्यसका लागि त्यहाँ विशेष अदालत गठन गरी उनीहरूको मृत्युदण्डको फैसला गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिंहदरबार जल्दा दुखेको मन र दरवारका विशेषता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img